स्वास्थ्यकर्मी फिर्ता पठाउने कोहलपुर नगरपालिकाको निर्णयमा मन्त्रालयको अंकुश



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाले स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फिर्ता पठाउने निर्णय कार्यान्वयनमा अंकुश लगाएको छ ।

मन्त्रालयलाई पठाएको पत्रमा समेत नगरपालिकाले तलबभत्ता खुवाउन नसकिने र फिर्ता पठाउने भनी निर्णय भएका निजहरुलाई आआफ्नो दरबन्दीमा सरुवा/पदस्थापन हुने गरी फिर्ता पठाइएको भनि अंकुश लगाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उक्त निर्णयले नगरको निर्णय कार्यान्वयनमा जटिलता उत्पन्न गरेको हो । साउन ११ गते बसेको कोहलपुर नगर कार्यपालिका बैठकले १७ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो ।

कार्यपालिकाको छैठौँ बैठकको निर्णय नम्बर १० विविधको बुँदा नम्बर ‘ङ’ मा ‘नगरपालिकामा कार्यरत फाजिल (आवश्यकताभन्दा धेरै) कर्मचारी व्यवस्थापनका लागि नेपाल सरकारबाट स्वीकृत दरबन्दीभन्दा बढी रहेका स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीलाई यस नगरपालिकाबाट तलब भत्ता उपलब्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीहरुलाई अन्यत्र व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने’ उल्लेख गरिएको छ ।

नगरपालिकाले तीनजना सिनियर अहेब, अनमी आठजना, चारजना अहेब, एक/एक जना स्टाफ नर्स, हेअ र एकजना सिअनमी निरीक्षकलाई फिर्ता पठाइएको उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले मन्त्रालयले नगरपालिकालाई पत्र पठाएको बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कार्यपालिका र मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने हो ।

‘यो राष्ट्रिय विषय हो । कोहलपुरको मात्रै समस्या होइन । दरबन्दीबाहेकको लागि त्यही राखेर तलब खुवाउ भन्ने अनि यिनहरुको पोष्ट रिक्त भएको ठाउँमा कसले काम गरिरहेको त्यो पनि हेर्नुप¥यो नी,’ उनले भने । मन्त्रीस्तरको बैठकले गरेको उक्त निर्णयले स्थानीय तहले फिर्ता पठाएका स्वास्थ्यकर्मीहरुलाई व्यवस्थापन गर्न समस्या देखाएको छ ।

देशभरिका पालिका झै कोहलपुर नगरपालिकामा पनि कार्यपालिकाको निर्णय कार्यान्वयनको विषय पेचिलो बनेको छ ।
कर्मचारी व्यवस्थापनका लागि देशभरिका सबै स्थानीय तहलाई पत्र लेख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित पालिकामै व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले कर्मचारी समायोजना मिलान मापदण्डबमोजिम स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन भइ दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुलाई कतिपय पालिकाले हाल आएर फिर्ता पठाउने निर्णय गरेको भनी लिखित वा मौखिक गुनासो भएकाले साउन ३० गतेको मन्त्रीस्तरको निर्णय कार्यान्वयन गर्न भनेको छ ।

स्थानीय तहहरुलाई पठाइएको पत्रमा समायोजन भइ हाल विभिन्न पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई सम्बन्धित पालिकाहरुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलबभत्ताको व्यवस्था पालिकाबाटै गर्न निर्देशन दिएको छ ।

यस्तै समायोजन मिलान भइ स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित पालिकाहरु नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीको लागि थप तलबभत्ताबापतको रकम मन्त्रालयबाट निकासा नहुने जनाइएको छ ।
मन्त्रालयको पत्रको सम्बन्धमा कार्यपालिकामा छलफल हुने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

ढकालले मन्त्रालयको पत्रको अध्ययन हुने र के गर्ने नगर्ने भन्ने कुरा कार्यपालिका नै निर्णय गर्ने जनाए । पत्रको कानुनी आधारका विषयमा कार्यपालिकाले नै व्याख्या गर्ने उनको भनाइ छ । फिर्ता पठाइएका स्वास्थ्यकर्मीहरुले अहिले पनि नगरपालिकामा काम गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार