नेपालगन्ज ।
मञ्चमा एक दर्जन व्यक्तिहरु लहरै कुर्सीमा बसेका । एकजना व्यक्ति माइकमा उद्घोषण गरिरहेका । मञ्चको दायाँतर्फको कुनमा तीनवटा प्लास्टिकका कुर्सीमा बसेका तीनजना व्यक्तिहरु । त्यसमध्येका एक थिए, रवी लामिछाने ।
बिहीबार नेपालगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टीको बाँके जिल्ला भेला उद्घाटन कार्यक्रममको दृष्य थियो यो । समान्यतया राजनीतिक दलको कार्यक्रममा मञ्चमा नेताहरु भुइँमा जनता बसाउने प्रचलन छ । नेपालगन्ज रंगशालामा भएको कार्यक्रममा भुइँमा पार्टीका सभापति लामिछाने थिए । दर्शक प्याराफिटमा र वक्ताहरु मञ्चमा । सिमसिम पानी पर्दा पनि उनले आफ्नो ठाउँ बदलेनन् ।
रवीले कार्यक्रमको ढाँचामा पनि परिवर्तन गर्दै देशका विभिन्न ठाउँबाट आएका केही आम मानिसलाई मञ्चमा राखे र उनीहरुलाई तीनतीन मिनेटमा ‘मेरो सपनाको देश’ शीर्षकमा बोल्न दिए । उनीहरुका कुरा ध्यान दिएर सुने । बीचबीचमा ताली बजाए । केही व्यक्तिहरु बोल्दाबोल्दै भावकु बने । उनीहरुलाई मञ्चमै गएर अंगालो हाले ।
कार्यक्रममा बोल्ने आममानिसका धारणामा व्यवस्था वा दर्शनका ठूला कुरा सुनिएनन् । उनीहरुले समस्याहरु समाधान भएको देश देख्न चाहेको बताए । प्रहरीले माग्ने घुसदेखि किसानको नामको अनुदान अर्कैले लगिदिने समस्या समाधान होस् भन्ने उनीहरुले चाहना व्यक्त गरे । एकजना व्यक्ति त बोल्न नसकेर भक्कानिए । संगठन नै नभएको एक दलको कार्यक्रममा भएको उपस्थिति सन्तोषजनक रहेको सहभागीहरु बताउँदै थिए । सहभागीहरुमा अधिकांश युवा उमेरका थिए ।
जब आफ्नो बोल्ने पालो आयो रवीले मानिसहरुले आफूलाई तेरो योगदान के छ र भोट मागिरहेको भन्दै प्रश्न पनि गरिरहेको भन्दै उनले एकजना विदेशबाट उद्दार भएर आएका युवालाई मञ्चमा बोलाए । रवीले ती युवालाई देखाउँदै भने मैले गरेको योगदान यस्तै हो । उनलाई आफूले बोलिरहेको माइक ती युवालाई दिए । राजापुरका ती युवाले विदेशका समस्यामा परेका बेला रवीले टेलिभिजन कार्यक्रममा आफूहरुको समस्या देखाएर उद्दार गरेको बताए ।
मलाई भिडदेखि डर लाग्छ: रवी
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूलाई भिडदेखि डर लागिरहेको बताएका छन् । बिहीबार नेपालगन्जको रंगशालामा आयोजित बाँके जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले अहिले देखिने भिड सेल्फी खिच्न र फेसबुक र टिकटकमा राख्नका लागि मात्रै हो कि भन्ने चिन्ता आफूलाई रहेको बताए ।
साथै उनले अहिलेको युवाले परिवर्तन खोजेको र त्यसका लागि अहिलेको भिड भोटमा बदलिन जरुरी रहेको पनि बताए । उनले भने, ‘आजभोलि मलाई भिडदेखि डर लाग्छ । यस्ता कार्यक्रममा मानिसहरुको भिड हुन्छ । धेरैको कार्यक्रममा देखेको पनि छु । तर कार्यक्रममा सहभागिताका लागि मात्रै नभइ साँच्चिकै देश परिवर्तन गर्न चाहानुभएको छ भने हाम्रो अभियानमा साथ दिनूस् ।’
रवीले आफ्नो सिद्धान्त र दर्शनका विषयमा पनि प्रश्न सोधिने गरेको भन्दै आफ्नो सिद्धान्त जनताका समस्याको समाधान र जनताले चाहेको जस्तो विकास रहेको बताए ।
उनले अहिले युवाहरु राजनीतिको कोर्ष फेर्न तयार भएका र त्यसको संवाहक राष्ट्रिय स्वतन्त्र पार्टी हुने पनि बताए । उनले नेपालगन्ज राजनीतिक दृष्टिकोणले महŒवपूर्ण स्थान भएको बताउँदै त्यसको महŒव बुझेर निर्वाचनमा निर्णय गर्न आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्