वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘मेयर‘साब नमस्ते ! म हिँड्ने बाटो खै ? सुर्खेत रोडमा । म कताबाट हिँड्ने हो ? चार लेनको सडकको बीचबाट या फुटपाथबाट ? हुन त फुटपाथ पनि बनाइएको हो जस्तो लाग्छ । छ भने त्यो मैले प्रयोग गर्न पाएको छु कि नाई वा तपाईं पनि मेयर हुनुभन्दा पहिला हिँड्न पाउनु भयो कि नाई ? वा अहिले मेयर भएपछि कतिको हिँड्नुभएको छ कि नाई ?
मैले कारकाँदो चोकबाट नर्सिङ होम वीपी चोकसम्म पुग्दा एउटै पनि ठाउँमा फुटपाथ प्रयोग गर्न पाइनँ । बीच सडकबाट हिँड्नुप¥यो । अनि ती फुटपाथमा ठेला व्यापारी राख्नु भएको रहेछ । उपमहानगरपालिकाले मासिक पैसा उठाउने गरी । अब यसमा सडक दुर्घटना भए सबै तपाईंकै जिम्मेवारी त होला नि होइन ? की बाटो दिनुहोस् कि जिम्मेवारी लिनुहोस् ।’
राजेन्द्र कँडेलले शनिबार फेसबुकमा मेयरलाई सम्बोधन गर्दै लेखेको स्टाटस हो यो । नेपालगन्जमा अस्तव्यस्त ट्राफिक व्यवस्थानको एउटा मुख्य कारण सडकपेटिअर्थात् फुटपाथ अतिक्रमण पनि हो । सडक चौडा र फराकिला बनाइएका भए पनि सवारीको सहज आवागमनको वातावरण अझै हुन सकेको छैन ।
पैदल हिँड्नेहरुलाई त झन कुनै सडकमा पनि निश्चित भएर हिँड्न मिल्ने वातावरण छैन । यस विषयमा समयसमयमा पत्रपत्रिकामा समाचार प्रकाशित भए । सामाजिक सञ्जालमा पनि यस विषयमा चर्चा भयो । तर नेपालगन्ज उपमहानगरपालिकाले यस विषयमा चासो लिएन नै, व्यापारीहरुले पनि पैदल यात्रुको अधिकारलाई अवमूल्यन गर्दै आएका छन् ।
यसैबीच उपमहानरपालिकाको नगर प्रहरी, ट्राफिक प्रहरी, वडा प्रहरीलगायतले संयुक्तरुपमा फुटपाथ हटाउन भन्दै सकमा उत्रिए । त्यसक्रममा पैदल यात्रुहरुले कुनै ठाउँमा पनि ढुक्कले हिँड्नसक्ने अवस्था भेटिएन ।
मोटरसाइकल मर्मत पसलहरुले फुटपाथमै मोटरसाइकल धोइपखाली गरिरहेका भेटिए । प्रहरीको संयुक्त टोलीले फुटपाथ अतिक्रमण गरी राखिएका चार स्कुटी, ६ मोटरसाइकल नियन्त्रणमै लिएको छ भने ट्राफिक प्रहरीले विभिन्न व्यक्तिहरुबाट तत्काल पाँच हजार रुपैयाँ जरिवाना पनि असुल गरेको छ । अधिकांशलाई सम्झाइबुझाई गरिएको र आफैँ सामान हटाउन लगाइएको नगर प्रहरी इञ्चार्ज सूर्य बोगटीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाह फुटपाथमा पैदल यात्रु हिँड्न नपाउँदा त्यसले सडक दुर्घटनाको जोखिम बढाएको बताउँछन् । ‘पैदलयात्रु फुटपाथबट हिँड्न पाएभने सडमा आउँदै आउँदैनन् नि ।
पैदल, यात्रु, साइकल, अटा रिक्सा, मोटरसाइकल र ठूला गाडीहरु एउटै सडमा हिँड्दा त्यसले पनि नेपालगन्जको ट्राफिक जोखिमपूर्ण बनेको हो,’ उनले भने । नगर प्रहरीले यसअघि पनि सडक पेटी खाली गराउने काम गर्दै आएको थियो । तर त्यसको केही समयपछि फेरि व्यापारीहरु फुटपाथ अतिmत्रण थालिहाल्छन् ।
फुटपाथमा वर्कशप, रिकन्डिसन हाउस, सेकुवा कर्नर, माछा पसले, कपडा पसलेदे ठेला व्यापारीहरु फुटपाथ पैदल यात्रुका लागि हो भन्ने कुरा मनन गरिरहेका छैनन् । यसमा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु पनि भोटको राजनीति गरिरहेका स्थानीयहरु बताउँछन् ।
‘यो एक दिनको नाटक मात्रै हो । जनप्रनिधिहरु यसलाई भोटको नजरबाट हेर्छन् । समान उठाइदियो भने उ रिसाउला कि, यो रिसाउला कि भन्ने चिन्ता उहाँहरुमा छ,’ एक स्थानीयले भने । स्थानीयको यस भनाइमा प्रहरी अधिकारीहरु पनि सहमत छन् ।
एक प्रहरी अधिकारीले भने, ‘यदि जनप्रतिनिधिहरुमा ईच्छाशक्ति भइदिने हो भने यो समस्या त्यति ठूलो हुँदै होइन नि । उहाँहरुले सार्वजनिकरुपमा अपिल गरेर फुटपाथ खाली गर्नु नभए सामान जफत हुन्छ भनिदिनुभयो र जफत भइसकेपछि हाम्रो काममा हस्तक्षेप गर्नुभएन भने त हामी खाली गराइहाल्छौँ नि ।’
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट भने आफूहरुले भोटको चिन्ता गरेको भए यस विषयमा चर्चा नै नगर्ने बताउँछन् । उनले यस अभियानलाई अब निरन्तरता दिइने पनि बताए । ‘हामीले फुटपाथ खाली गर्ने अभियान सुरु गरेका र्छौँ ।
अब यसलाई निरन्तरता दिन्छौँ । तर कुरा के पनि छ भने स्थानीय र व्यापारी वर्गले पनि यो कुरा बुझिदिनुप¥यो । डण्डा लगाएर मात्रै नियम मान्ने प्रचलनलाई हटाउनुप¥यो ।’ हुन पनि नेपालगन्जको घरबारी टोलका अधिकांश अगुवा भनिने व्यापारीहरुले नै फुटपाथ कब्जा गरेर सामान राखेका हुन्छन् ।
नगर प्रहरी इञ्चार्ज बोगटी व्यापारीका नेता हुँ भन्नेहरुले नै सबैभन्दा बढी बखेडा झिक्ने गरेको बताउँछन् । ‘फुटपाथमा सामान नराख्नुहोस् भन्यो भने लड्न आउनुहुन्छ । समातेर लग्यो भने रडाको मच्चाउनुहुन्छ । हामी अगाडि खाली गर्दै जान्छौँ, पछाडिबाट फेरि फुटपाथ कब्जा हुन थालिहाल्छ ।’
फुटपाथमा छैनन् ढक्कन
पैदल यात्रुका लागि फुटपाथमा हिँड्न व्यापारीले गर्ने अतिक्रमण मात्रै बाधक छैनन् । उपमहानगरपालिकाका संरचनाहरु पनि दोषी छन् । कही नालीमाथि ढकन छैन त कही नमिलेका ढक्कनहरु राखिएका छन् ।
नेपालगन्जको धम्बोझी चोक नजिकै फुटपाथमा ढक्कनका बीचमा खाल्डो छ । झुक्किएर पैदलयात्रुको खुट्टा त्यसमा पसेर दुर्घटना हुने जोखिम छ । यस्ता लापरबाहीहरु अनेक ठाउँमा देख्न सकिन्छ ।
फुटपाथ कब्जामा सरकार पनि पछि परेको छैन । वीपी चोक, धम्बोझी चोक, भेरी अस्पताल चोकलगायतका ठाउँमा प्रहरीले नै फुटपाथमा आफ्नो बिट ठड्याएको छ ।









प्रतिक्रिया दिनुहोस्