कोहलपुर–नेपालगन्ज सडकखण्डमा वृक्षारोपण



कोहलपुर ।

कोहलपुर नगरपालिकाअन्तर्गत कोहलपुर–नेपालगन्ज सडकखण्डस्थित पिपिरीदेखि हवल्दारपुरसम्म वृक्षारोपण गरिएको छ ।

‘हरित सडक, लुम्बिनीको पहिचान’ भन्ने मूल नारासहित सुरु गरिएको सडक क्षेत्र वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त सडकखण्डमा वृक्षारोपण गरिएको हो ।

सोमबार एक अनौपचारिक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल र कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उक्त वृक्षारोपण कार्यक्रम कोहलपुर–८ पिपिरी चोकबाट सुरु भएर वडा नम्बर ८ हुँदै हवल्दारपुरसम्म गएर सकिएको थियो । सडक क्षेत्र वृक्षारोपण उपभोक्ता समिति कोहलपुर–८, ९ र १४ का अध्यक्ष इन्द्रप्रसाद गौतमले प्रादेशिक वन मन्त्रालयको आर्थिक सहयोगमा कोहलपुरका तीनवटा वडामा वृक्षारोपण गरिएको बताए ।

उनका अनुसार मन्त्रालयले कूल २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यसमा एक लाख कन्टलटेन्सी काटेर २४ लाख रुपैयाँमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

कूल आठ सय ५६ वटा बिरुवा रोप्ने कार्यक्रमअनुसार यसअघि समितिले असार ३ गतेदेखि काम सुरु गरी १८ गतेसम्म बिरुवा रोप्न लायक खाडल र त्यसमा प्रयोग हुने मल र माटोको मिश्रणसहितको भरेर कामलाई पूर्णता दिएको थियो । यहाँको माटोको प्रकृति र हावापानी अनुकूल छतिउनको बिरुवा रोपिएको उनले बताए । ‘योभन्दा अर्को विकल्प अरु कुनै देखिएन ।

वातवरणीय सुन्दरताका दृष्टिले यो बिरुवा प्रभावकारी छ । यसलाई वर्षको चारपटक कटिङ गर्नुपर्छ,’ अध्यक्ष गौतमले भने, ‘यो रुखो माटोमा पनि फुल्छ । रबर प्लान जस्तो हो । हुर्काउनसमेत सहज हुन्छ । माटोको क्वालिटीअनुसार नै यो बिरुवा हुर्कन्छ ।’

आगामी दिनमा बिरुवा जोगाउने र हरियाली निर्माण गर्ने जिम्मेवारी कोहलपुर नगरपालिकाको रहेको उनको भनाइ छ । विगतका दिनको जस्तो स्थानीय सरकारले बेवास्ता गर्न नहुनेमा उनले जोड दिएका छन् ।

उक्त अवसरमा बोल्दै वनमन्त्री हमालले लुम्बिनी प्रदेश सुन्दर र हरियालीयुक्त बनाउने अभियानअन्तर्गत कोहलपुर–नेपालगन्ज सडकखण्डमा वृक्षारोपण गरिएको बताए । यस्तै कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले प्रदेश सरकारजस्तै हरित सडक कोहलपुर बनाउने अभियानअनुसार नै बृहत् वृक्षारोपण गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २१ गते मंगलबार