शुभाकर विश्वकर्मा । कोहलपुर ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले सूचना प्रविधिलाई व्यवस्थित गर्न इ–लाईबे्ररी स्थापना गर्ने योजना अगाडि सारेको छ । शनिबार पुस्तकालय स्थापनाको अवसरमा साधारण सभा सम्पन्न गरेको स्रोत केन्द्रले पुस्तकालयलाई आगामी आर्थिक वर्षमा थप व्यवस्थित बनाउने उद्देश्यसहित १० बुँदे प्रस्तावित कार्यक्रमहरु अघि सारेको हो ।
२१औँ साधारण सभाको अवसरमा केन्द्रका सह–सचिव निर्मल आचार्यद्धारा प्रस्तुत प्रतिवेदनमा पठनयोग्य पाठ्यपुस्तकको समुचित व्यवस्थापनका साथै पुस्तकहरु थप गर्दै जाने, सूचना प्रविधिलाई व्यवस्थित गर्न इ–लाईब्रेरी स्थापना गर्ने, पुस्तकालय सेवालाई फराकिलो र स्तरीय बनाउन व्यवस्थित पठन कक्ष, उचित सभा हल, पार्किङ र अन्य आवश्यक भौतिक सामग्री तथा पूर्वाधारको व्यवस्थापन गर्ने उल्लेख छ ।
उक्त प्रतिवेदनमा परिमार्जित कार्यक्रम निरन्तरता दिने, महिला, किशोरी तथा कृषक समूहमार्फत समस्या समाधानका लागि योजना बनाउने पाठक समूह निर्माण गरी कम्प्युटर निःशुल्क सिकाउने, पुस्तकालय पछाडिको जग्गामा अण्डर ग्राउण्ड पार्किङसहितको अपांगता मैत्री भवन निर्माण गर्ने उल्लेख गरिएको छ ।
यस्तै कोहलपुर न्युरोड चोक, संस्थाको आफ्नै भवन अगाडिको क्षेत्रको सम्पूर्ण जानकारी दिन एससीडी बोर्ड राख्ने, पुस्तकालय प्रयोगकर्ताको संख्या वृद्धि तथा आजिवन सदस्यहरुको संख्या बढाउँदै लैजाने लगायतका योजना रहेको आचार्यले जानकारी दिए । हाल पुस्तकालयमा १२ हजार पुस्तक रहेका छन् । पुस्तकालयले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको सह–सचिव आचार्यको प्रतिवेदनमा उल्लेख छ । रिड नेपालको सहयोगमा शम्शेरगन्ज स्वास्थ्य चौकीमा वासिङ्ग मेसिनसहित ७ लाख बराबरको स्वास्थ्य सामग्री वितरण, किशोरीहरुलाई सेनेटरी प्याड वितरणका साथै राष्ट्रिय स्तरको ज्ञानोदय राष्ट्रिय पुरस्कार स्थापना गरिएको छ ।
उनले मानव बेचविखन तथा दासत्व सम्बन्धि कार्यक्रम, लागुऔषध, प्रजनन् स्वास्थ्य तथा निःशुल्क सूचना प्रवाह सम्बन्धि गतिविधि सञ्चालन गरिएको बताए । साधारण सभा उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेशका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले पुस्तकालयको स्तरोन्नतीका लागि प्रदेश सरकारबाट १० लाख बजेट विनियोजन गरेको जानकारी दिए । पुस्तकालयको वृद्धि विकासको लागि आगामी दिनमा व्यक्तिगत रुपमा पनि सहयोग गर्न आफू तयार रहेको उनले बताए ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरतालिकाका कार्यतालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले पुस्तकालयले समावेशी हुनुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयलाई थप परिष्कृत बनाउदैँ लैजान सबैको भूमिका महत्वपूर्ण रहेको बताए । साधारण सभाको अवसरमा विभिन्न तालिकामा निर्वाचित भएका आजिवन सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
निर्वाचन कार्यतालिका घोषणा
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व चयन गर्नको लागि गठन गरिएको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
समितिका सदस्य बद्रिनाथ सापकोटाका अनुसार १९ गते (आज) १ बजेसम्म मतदातामाथि दाबी विरोध र साँझ ५ बजेसम्म मतदाताहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । शनिबार साँझ मतदाताको नामावली प्रकाशन गरिएको थियो ।
यस्तै २० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता, बेलुका ४ बजेसम्म उम्मेदवार माथिको दाबी विरोध, साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
असार २२ गते बिहान १० बजेसम्म उम्मेदवारी फिर्ता गर्ने, त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा २३ गते बिहान ८ बजे चिन्ह प्रदान गर्ने र २५ गते बिहानदेखि ८ देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्