
बाँके ।
मिसन टुडे राष्ट्रिय दैनिक लगायतका व्यवसायीक फर्मका महत्वपूर्ण कागजात रहेको कार्यालयमा आगलागी भएको छ । कोहलपुर नगरपालिका– ११ हरियाली मार्गमा रहेको मिसन टुडे राष्ट्रिय दैनिकको कार्यालयसँगै रहेको कोठामा आगलागी भएको हो ।
आगलागीबाट मिसन टुडे राष्ट्रिय दैनिकसँगै मिसन अफसेट प्रेस, मिसन विज्ञापन सेवा, मिसन ढुवानी सेवा, माँ पद्मावती ग्रुप अफ कम्पनी प्रा.लि र क्षितिज ट्रेड एण्ड सप्लायर्सका महत्वपूर्ण कागजात नष्ट भएका छन् ।
मिसन टुडे दैनिकका प्रकाशक/सम्पादक विनोद पौडेलले आगलागीबाट भौतिक सामानसहित महत्वपूर्ण कागजातहरु समेत जलेर नष्ट भएको जानकारी दिए ।
‘आगलागीबाट दराजमा राखिएका विभिन्न फर्मका महत्वपूर्ण कागजात समेत जलेका छन्’ उनले भने, ‘आगो नियन्त्रण गर्ने क्रममा हालिएको पानीले समेत कागजातमा क्षती पु¥याएको छ ।’
प्रकाशक/सम्पादक पौडेलकाअनुसार विभिन्न व्यवसायीक फर्मका पूराना कागजात आगोले जलेर नष्ट भएका हुन् । आगलागीबाट महत्वपूर्ण कागजातसहित करिब ५ लाख रुपैयाँको क्षती भएको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कार्यालयमा रहेका एसी, दराज, सोफा, कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामानहरु जलेको बताइएको छ । बिहीबार राति ९ बजेतिर विद्युत् सर्ट भएर भएको आगलागी नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।









प्रतिक्रिया दिनुहोस्