वीरेन्द्र जैसी । नेपालगन्ज ।
शनिबार बेलुकी साढे ७ बजेतिर नापी कार्यालय बाँकेको माथिल्लो तलामा रहेका सबै डिजिटल डाटाहरु एकत्रित हुने कम्प्युटर अपरेटर र सर्भर कक्षमा आगलागी भयो । जग्गासम्बन्धी महŒवपूर्ण कागजात र प्रमाण रहने कार्यालयको महŒवपूर्ण कक्षमा आगलागी हुनुलाई सर्वसाधारणले आशंकाको दृष्टिले हेरेका छन् । कुनै प्रमाण नष्ट गर्न आगलागी गराइएको हुनसक्ने धेरैले आशंका गरेका छन् ।
आगलागीबाट सर्भर कक्षमा रहेको एउटा सर्भर र पाँचवटा कम्प्युटरसहित विभिन्न ६७ थान सामान जलेका छन् । करिब २० लाखको क्षति भएको छ । जलेका समानमा साविक गाउँ खर्क हाल सितापुर–राधापुरको एक थान फिल्डबुकको ठेली पनि जलेको छ । यसैगरी पाँच थान सक्कल नक्सा पनि जलेका कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ ।
नापी कार्यालय प्रमुख सहदेव सुवेदी भने कसैको पनि महŒवपूर्ण प्रमाणहरु नष्ट नभएको बताउँछन् । फिल्ड बुक प्रारम्भिक प्रमाण भएकोले आगोले छोए पनि सुरक्षित रहेको उनको दाबी छ । ‘कहिलेकाहिँ हेर्नलाई फिल्डबुक पनि उक्त कक्षमा लिइन्छ । तर फिल्डबुक पूरै जलेको होइन । एक छेउ जलेको छ । प्रमाण नष्ट हुन पाएको छैन,’ उनले मिसन टुडेलाई भने ।
तर करिब दुई महिनायताका सबै डिजिटल डाटा र कम्प्युटरहरुको नेटवर्क सर्भर जलेसँगै ध्वस्त भएका सुवेदीले बताए । ‘अहिलेको प्रक्रिया भनेको पहिला कागजमा काम हुन्छ । त्यसको आधारमा डिजिटल डाटा बनाएर केन्द्रीय सिस्टममा अपडेट गरिन्छ । त्यसरी अपडेट गर्न बाँकी करिब दुई महिनायताका डाटाहरु त्यही सर्भरमा थिए । ती सबै डाटाहरु अब फेरि तयार गरेर अपडेट गर्नुपर्ने भएको छ,’ उनले भने । सेवाग्राहीका कागजी प्रमाणहरु भने सबै सुरक्षित रहेको र कसैले पनि आफ्नो प्रमाणहरु नष्ट हुने चिन्ता गर्नु नपर्ने सुवेदीको दाबी छ ।
बिदाको दिन नभएको भए क्षतिलाई थप रोक्न सकिने सुवेदी बताउँछन् ।
शनिबारको दिन भए पनि कार्यालय परिसरमै बसिरहेका गार्डले एक्कासी केही पड्केको सुनेपछि के भएको हो भन्ने जायजा लिन थालेको र केहीबेरपछि माथिल्लो तलाबाट धुवाँ देखिएपछि प्रहरी र दमकललाई खबर गरेको पाइएको सुवेदीले बताए । खबर गरेको केही बेरमै दमकल र प्रहरी आएर आगलागी नियन्त्रणमा लिएको उनले बताए । ‘मेरो बस्ने ठाउँ पनि सर्भर कक्षकै छेउमा छ । त्यहीबेला म बाहिर निस्केकोले समस्यामा परिनँ । नभए धुवाँले निसास्सिने अवस्था आउँथ्यो,’ सुवेदीले भने ।
अर्काेतिर समयमै दमकल र प्रहरी पुगेर आगलागी नियन्त्रणमा लिइएकोले आगो सर्भर कक्षभन्दा बाहिर जान पाएन । सुवेदीले भने, ‘एकदुई मिनेट मात्रै ढिलो भएको भए कागजपत्रहरु राखिएको तल्लो तलामा पनि पुग्थ्यो र सबै प्रमाणहरु नष्ट हुने खतरा थियो ।’
आगलागीबाट ल्यापटप, प्रिन्टर, स्क्यानर, हार्डडिस्क, टेबल, कुर्सी, सिसी क्यामेरा, सिसी टिभी मनिटरलगायतका सधानहरु जलेको विवरण कार्यालयले संकलन गरेको छ । अहिले प्रारम्भिकरुपमा २० लाखको क्षति भएको अनुमान गरिए पनि विस्तृत क्षतिको विवरण पछि थाहा हुने सुवेदीले बताए ।
नापी अनिश्चितकालका लागि बन्द
नापी कार्यालय बाँकेको सर्भर कक्षमा आगलागी भएर सबै नेटवर्क ध्वस्त भएपछि कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । नापी कार्यालयका प्रमुख सहदेव सुवेदीले आइतबार एक सूचना जारी गर्दै डाटा, सर्भर र कार्यालयको नेटवर्किङ सिस्टम पुनः स्थापित गर्न केही समय लाग्ने जनाउँदै अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयका सबै काम बन्द हुने उल्लेख गरेका छन् । सुवेदीले सबै काम पुनः सुचारु हुन कम्तिमा एक हप्ता लाग्ने मिसन टुडेलाई बताए ।
नापीको काम बन्द भएपछि मालपोत कार्यालय बाँकेको काम पनि आंशिक प्रभावित हुने भएको छ । फिल्डबुक हेर्नुपर्ने र जग्गाको कित्ताकाँट गर्नुपर्नेलगायत नापीसँग जोडिएका मालपोतका कामहरु प्रभावित हुने सुवेदीले बताएका छन् ।
कमसल वाइरिङ र तारको प्रयोग
आगलागी विद्युत् शर्ट भएर भएको अनुमान गरिएको छ । नापी कार्यालयको भवन करिब १२ वर्षअघि बनेको हो । तर उक्त भवनमा वाइरिङ नै कमजोर गरिएको हुनसक्ने कार्यालय प्रमुख सहदेव सुवेदीले बताए ।
‘अहिले त सबै काम कम्प्युटरबाट हुन्छ । भविष्यमा झनै कम्प्युटरको चाप बढ्दै जान्छ । यस हिसाबले जुन खालको तार प्रयोग गर्नुपर्ने हो । त्यो प्रयोग नभएको देखिन्छ हेर्दाखेरी,’ उनले भने । अब वाईरिङ पनि राम्ररी चेकजाँच गर्नुपर्ने देखिएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्