नेपालगन्ज ।
बाँकेको राप्तीसोनारी गाउँँपालिकाको केन्द्र अगैयामा एक प्रहरी चौकी छ । जहाँ ६ जना सुरक्षाकर्मी छन् । चारकोठे टिनले छाएको छानोको एक कोठामा कार्यालय छ । अरु कोठाहरु आवासका लागि प्रयोग भइरहेको छ । सिक्टा सिचाई आयोजनाको सुरुवातकालमा मजदुरहरु बस्नका लागि बनाइएको उक्त घर अहिले निकुन्ज क्षेत्रमा पर्छ ।
कोठाभित्रै बेला–बेला सर्पहरु फेला पर्छन् । हावाहुरीले टिनको छानो उडाइरहन्छ । यस्तो अवस्थामा बसेका प्रहरीहरुको जिम्मा गाउँपालिकाको केन्द्र, कार्यालय, अगैया बजार र राजमार्गको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने जिम्मेवारी छ । राप्तीसोनारीकै नदीजन्य पदार्थको अवैद्य उत्खनन् बढी भएको क्षेत्र कचनापुरमा त झन् ४ जना मात्रै प्रहरी छन् । एकातिर संख्या कम छ ।
अर्काेतिर समग्र सुरक्षाको लागि तिनै प्रहरीहलाई जिम्मा छोडिएको छ । त्यसैमाथि उनीहरुलाई अर्को जिम्मेवारी पनि छ, नदीजन्य पदार्थको तस्करी रोक्नुपर्ने । असईको नेतृत्वमा रहेका दुवै प्रहरी चौकीमा सवारी साधनका रुपमा एउटा–एउटा मोटरसाइकल छन् । ती मोटरलाइकल पनि खोलामा बालुवा ढुंगामाथि चलाउनुपर्दा राम्रो कण्डिसनमा छैनन् ।
अन्य क्षेत्रको सुरक्षाको व्यवस्था गरेर नदीजन्य पदार्थको तस्करी र अवैद्य उत्खनन् रोक्न जानुपरे त्यही मोटरसाइकलमा जानुपर्छ । मोटरसाइकलका लागि गाउँपालिकाले मासिक १५ लिटर मात्रै पेट्रोलको व्यवस्था गरिदिएको छ । त्यही पनि अनेक तरिकाले जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीलाई फकाएपछि प्राप्त हुन्छ । ‘उक्त तेलले खोलाहरुको भित्र पसेर कहाँ उत्खनन् भइरहेको छ भनेर जाने हो भने कति दिन जान सकिएला?,’ एक प्रहरीले प्रश्न गरे ।
अर्काेतिर तस्करी रोक्न खटिएका प्रहरीहलाई व्यक्तिगत सुरक्षाका हिसाबले पनि चुनौती छ । मिसन टुडेकर्मीहरु समाचार संकलनका क्रममा राप्तीसोनारीका विभिन्न खोलाहरुमा पुग्दा त्यहाँ सुरक्षाको बस्दोबस्त पर्याप्त हुनुपर्ने आवश्यकताको महसुस गराएको थियो । हामीसँगै खोलाको भित्री क्षेत्रमा घाटगद्धी गरिएको ठाउँसम्म पुगेका एक प्रहरीले भने, ‘एउटा गाडीमा दुईजनाभन्दा बढी आउने कुरा भएन ।
यस्तो ठाउँमा दुई जनाले आधा घण्टाभन्दा बढी बस्नसक्ने अवस्था पनि रहँदैन । कहाँबाट आक्रमण गर्ने हुन् । यस्तो जंगलमा त्यसको पनि त ख्याल गर्नुप¥यो ।’ तस्कर र अवैद्य उत्खनन् कर्ताहरुले प्रहरीको यो बाध्यता र सुरक्षाको कमजोर व्यवस्था बुझेकैले पनि राप्तीसोनारीका नदी तथा खोलामा अवैद्य उत्खनन् भएको भन्न सकिने आधारहरु प्रशस्त छन् ।
राप्तीसोनारीको कुसुमदेखि शमशेरगन्जसम्म राजमार्ग क्षेत्रका रहेका प्रहरी चौकीमा २० देखि ३० जनासम्म प्रहरीहरु खटिने गरेका इलाका प्रशासन कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए । उनले प्रहरीलाई धेरै क्षेत्रको सुरक्षाको जिम्मा रहेकोले नदीजन्य पदार्थको उत्खनन् र तस्करी रोक्नमै पूरै ध्यान लगाउन नसकिने अवस्था रहेको बताउँछन् ।
अर्काेतिर इलाका प्रहरी कार्यालय कोहलपुर अन्तर्गत प्रहरीको संख्या पनि पर्याप्त नभएकोले पनि चुनौती रहेको उनको भनाइ छ । तस्करी रोक्न ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकिङ हुने गरेपनि नदी तथा खोलाभित्र हुने गरेको अवैद्य उत्खनन् रोक्न सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए । यसका साथै गाउँपालिकाले पनि सहकार्य र सहजीकरण थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।
अर्काेतिर प्रहरीलाई आउने राजनीतिक दवाब पनि तस्करी र अवैद्य उत्खनन् रोक्नमा बाधक बनिरहेको प्रहरीहरु बताउँछन् । ‘हामीले समात्छौँ । एकछिनमा कुनै नेताको उसलाई छाडिदिनुप¥यो भन्ने दबाब आउँछ । नभएर मुद्धालाई कमजोर बनाउने प्रयास हुन्छ । अवैद्य कामहरु रोक्न नसकेको भनेर आलोचनाको पहिलो निशानामा प्रहरीहरु पर्छन् ।
उनीहरुको जिम्मेवारी नै त्यही भएकोले पनि आलोचना हुनु स्वभाविक हो । कतिपय अवस्थामा प्रहरीले लापरबाही गर्दा पनि नदीजन्य पदार्थको अवैद्य उत्खनन् र ओसार पसारले प्रश्रय पाइरहेको छ । तर प्रहरीलाई काम गर्न नै अप्ठ्यारो हुनेगरी व्यवस्थाहरु मिलाइने गरेको र त्यसले पनि अवैद्य उत्खनन् र ओसार–पसार रोक्न नसकिने गरेको राप्तीसोनारीको अवस्था हेर्दा थाहा हुन्छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल पनि सुरक्षाकर्मीको न्यून संख्याका कारण पनि नदीजन्य पदार्थको अवैद्य उत्खनन् र तस्करी रोक्न नसकिएको महसुस गरिएको बताउछन् । केही दिन पहिले एक छलफलमा पनि यस विषयले प्रवेश पाएको बताउँदै उनले राप्तीसोनारीमा सुरक्षाकर्मीहरुको संख्या थप्नुपर्ने विषयमा गाउँपालिकाले सम्बन्धित निकायमा पहल थाल्ने उनले बताए ।
‘प्रहरीको अवस्था के हो भनेर बुझ्दा कहीँ तीन जना, कहीँ चार जना मात्रै छन् । यस हिसाबले यति ठूलो क्षेत्र भएको रोप्तीसोनारीमा प्रहरीको संख्या बढाउनुपर्ने आवश्यकता महसुस गरेका छौँ । यसबारेमा हामी पहल गर्नेछौँ,’ उनले भने । गाउँपालिकाले पनि संस्थागत विकास र सेवा सुविधामा पनि सहयोग गर्दै आएको र त्यसलाई बढाउँदै लैजाने पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्