नेपाली सेनाको उद्धार टोली ककनी प्रस्थान गरेको छ। नुवाकोटको ककनी गाउँपालिका-७ स्थित त्रिशुली ‘थ्री ए’मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको हो।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर अपराह्न ६:३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।
‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय भइरहेको छ,’ उनले भने,‘विपद व्यवस्थापनसहितको टोली गएको हो।’
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नुवाकोटको ककनीस्थित प्रशारन लाइनमा झुन्डिएर बसेका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकको उद्धार गर्न नेपाली सेनासँग सहयोग माग गरेकी थिइन्।
माइला बिहान १० बजेदेखि सोही प्रशारण लाइनमा झुन्डिएका छन्। उनी तल झर्न मानिरहेका छैनन्।
प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ। जसकारण पनि उनको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
बिहान स्थानीयले उनलाई पोलमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। करेन्ट लाग्न सक्ने डरले विद्युत प्राधिकरणलाई पनि खबर गरिएको थियो।









प्रतिक्रिया दिनुहोस्