नेपालगन्ज ।
सरकारले पुनः सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि लामो दुरीका सार्वजनिक यातायातका साधनमा मूल्य वृद्धि गरिएको हो ।
यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको विभागले जनाएको छ । यही जेठ २० गतेदेखि लागू हुने गरी सरकारले सार्वजनिक सवारी साधनमा भाडादर बढाएको थियो । साता दिनमै पुनः भाडादर वृद्धि गर्दा जनता महँगीमा परेका छन् ।
लगातार सार्वजनिक सवारी साधनमा भाडा वृद्धि भएपछि सर्वसाधारणहरु मारमा परेका छन् । सरकारले यातायात व्यवसायीलाई सम्बोधन गर्ने नाममा नागरिकको ढाड सेखेको कोहलपुरमा राजन केसीले बताए । ‘साविकको भाडा वृद्धि गरेको धेरै दिन भएको छैन,’ उनले भने, ‘फेरि पुनः भाडादर बढ्यो ।’ सरकारले नागरिकस्तरबाट निर्णय गर्न नसकेको उनको भनाइ छ ।
यता भाडा वृद्धि भएपछि यातायात व्यवसायी भने खुसी भएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई यस निर्णय सहयोग पु¥याएको यातायात व्यवसायीको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएको भए यातायात व्यवसायीलाई भाड बढाउन रहर नभएको उनीहरु बताउँछन् ।
नेपालगन्ज–काठमाडौंका लागि एक हजार पाँच सय दुई रुपैयाँ भाडा निर्धारण गरिएको छ । यसभन्दा पहिला एक हजार चार सय ६५ रुपैयाँ भाडादर तोकिएको थियो । नेपालगन्जबाट काठमाडौं पाँच सय ३१ किलोमिटर छ । नेपालगन्ज–जलेश्वरको भाडा एक हजार सात सय ५१ रुपैयाँ पुगेको छ । ६ सय ४० किलोमिटर भएको जलेश्वरका लागि यसभन्दा पहिला सात सय नौ रुपैयाँ भाडा तोकिएको थियो ।
पाँच सय ६६ रुपैयाँ भाडादर तोकिएको धनगढी–नेपालगन्जका लागि पाँच सय ८० रुपैयाँ निर्धारण गरिएको । नेपालगन्जबाट एक सय ९९ किलोमिटर दुरीमा धनगढी अवस्थित छ । नेपालगन्ज–नारायणगढ–मुग्लिङ हुँदै पोखराका लागि एक हजार चार सय ४९, नेपालगन्ज–पोखरा एक हजार तीन सय १५, नेपालगन्ज–विराटनगर दुई हजार एक सय ५९, नेपालगन्ज–वीरगञ्ज एक हजार तीन सय ९२ रुपैयाँ भाडादर कायम गरिएको छ ।
त्यस्तै नेपालगन्ज–मलगंवा एक हजार चार सय ७१, नेपालगन्ज–राजविराज एक हजार आठ सय ९५ र नेपालगन्ज–सिलगढी एक हजार एक सय ६५ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्