बाँके ।
नेपालगन्जमा एक सातायता गर्मी बढेसँगै ‘लू’ (तातो हावा) चल्न थालेको छ । यहाँ पछिल्ला तीन वर्षयताकै बढी गर्मी महसुस गरिएको छ ।
शुक्रबार नेपालगन्जको तापक्रम ४०.४ डिग्री सेल्सियस पुग्यो । यो तापक्रम देशका अन्य क्षेत्रभन्दा धेरै हो ।
सुदूरपश्चिमको दिपायलमा ४० डिग्री सेल्सियस पुगेको छ भने धनगढीमा ३९.६ डिग्री सेल्सियस पुगेको छ । पूर्वभन्दा तुलनात्मकरुपमाले पश्चिमका जिल्लामा गर्मी धेरै महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । एक सातायता यहाँको तापक्रम घट्न सकेको छैन ।
शुक्रबार नेपालगन्जमा देशका सबै क्षेत्रभन्दा बढी गर्मी महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म तातो हावा लाग्ने गरेको छ । तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ ।
‘तातो हावा सुरु भइसकेको छ,’ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले भने ।
उनका अनुसार दैनिक चार÷पाँच घण्टा तातो हावा चल्यो भने लु भन्न मिल्छ । गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनुपर्ने उनी बताउँछन्। ‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरू बेला घर बाहिर निस्किनु हुँदैन । निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ ।’ ‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ ।’
लु सुरु भएपछि बालबालिका, वृद्धवृद्धा, बिरामी, दैनिक ज्यालादारी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् । ‘दिउँसो लु लागेर काममा जानै सकिँदैन,’ राप्तीसोनारीका श्याम चौधरीले भने, ‘काम नगर्दा दैनिकी चलाउन समस्या हुन्छ ।
जाऔँ भने गर्मीले काम गर्न सकिँदैन ।’ गर्मीकै कारण केही मानिसहरु बिरामी हुन थालेका छन् । गर्मीका कारण बिरामीको संख्या बढ्न थाले पनि यहाँका अस्पतालहरुमा बिरामीको चाप पनि बढेको छ ।









प्रतिक्रिया दिनुहोस्