नेपालगन्जमा विभेदविरुद्ध खबरदारी



कोहलपुर ।

१६औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शनिबार खबरदारीसभा गरिएको छ । बाँकेस्थित संयुक्त दलित नागरिक समाज र आधा दर्जन बढी दलित अधिकारवादी संस्थाहरुको आयोजनामा जातीय विभेदविरुद्ध नेपालगन्जमा खबरदारीसभा गरिएको हो ।

‘जातीय भेदभाव तथा छुवाछुुत अन्त्य गरौँ, पूर्ण समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरौँ’ भन्ने मूल नारासहित नेपालगन्जका विभिन्न चोकमा प्रभातफेरि आयोजना गरिएको थियो । सभाका सहभागीहरुले जातीय विभेद अन्त्य गरौँ, भेदभाव गर्नेहरुलाई कारबाही गर, दलित मार्न पाइँदैन, यस्तो शासन चाहिँदैन, यो देश दलितको पनि हो भन्ने नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

उक्त कार्यक्रम केही दिन अघि केही व्यक्तिले तोडफोड गरेको सहिद सेतु विक चोकमा गएर कोणसभामा परिणमत भएको थियो । दलित गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दिलबहादुर परियारले देशमा दैनिक बढिरहेका जातीय विभेद, सेतु विक र सुन्दर हरिजन प्रकरणका सन्दर्भमा नेपालगन्जमा खबरदारीसभामा आयोजना गरिएको बताए ।

उनका अनुसार कानुनीरुपमा जातीय विभेद उन्मुलन भइसकेको अवस्थामा दैनिक जातीय विभेदका घटना बढ्नु दुःखद् हो । उनले निर्दोष सहिद विक र हरिजन जस्ता घटना हुनु निन्दनीय भएको बताए । ‘दैनिक जातीय विभेदका घटना बढिरहेका छन् । यो राज्यको लाचारिपना हो । जातीय विभेदविरुद्ध हामी सबै एकजुट हुनुपर्छ,’ अध्यक्ष परियारलले भने ।

उक्त अवसरमा बोल्दै अभियान्ता सुरु सुनारले निर्दोष सहिद र गरिब हरिजनमाथि अन्याय हुँदा राज्य रमिता हेरेर बसिरहेको बताइन् । उनले यस विषयमा गम्भीर अनुसन्धान गरेर दोषिमाथि कडा कारबाही हुनुपर्ने बताइन् । उक्त अवसरमा दलित अधिकारकर्मीहरु मोहनलाल शंकर, रामकृष्ण विक र सुन्दर हरिजनका आमालगायतले बोलेका थिए ।

जेठ १९ गते केही व्यक्तिले जनआन्दोलनकी सहिद सेतु विकको शालिक तोडफोड गरेका थिए । यस्तै चोरी मुद्दामा पक्राउ परेका सुन्दर हरिजन जेठ ४ गते रोल्पा कारागारमा मृत भेटिएका थिए । यस विषयमा अहिले देशभर विरोध भइरहेको छ ।

सरकारी अनुसन्धान टोली र राष्ट्रिय मानव अधिकार आयोगले समेत अनुसन्धान गरिरहेको छ । शनिबार आयोजना गरिएको खबरदारीसभामा बाँके जिल्लाभरिका दलित अधिकारकर्मी तथा अभियान्ताहरुको सहभागिता थियो । सुन्दर हरिजनको मुद्दामा तथ्य छानबिन गरी दोषिमाथि कारबाहीको माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार