जिल्लाका आठवटै पालिकामा चार सय २१ जनप्रतिनिधि छनोटका लागि वैशाख ३० गते चुनाव हुँदैछ ।
निर्वाचनबाट आठजना पालिका प्रमुख, आठजना पालिका उपप्रमुख, ८१ जना वडाध्यक्ष, खुला सदस्य एक सय ६२ जना, महिला सदस्य ८१ जना र ८१ जना दलित महिला सदस्य निर्वाचित हुने छन् ।
कृष्ण ओली । बाँके ।
स्थानीय तहमा चार सय २१ पदका लागि दुई हजार तीन सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई हजार तीन सय २९ जनाको उम्मेदवारी परेको हो । दलगत र स्वतन्त्ररुपमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लामा रहेका आठ स्थानीय तहमा प्रमुखका लागि ७३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । पालिका उपप्रमुखका लागि भने ५६ जनाले मात्र उम्मेदवारी दिएका छन् ।
सबै पालिकामा रहेका ८१ वडाका लागि वडाध्यक्ष पदमा पाँच सय १२ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा आठ सय ७२ जना, महिला सदस्यमा चार सय २४ जना र दलित महिला सदस्यमा तीन सय ९२ जनाले जिल्लाभरि उम्मेदवार दिएका छन् ।
सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका लागि १८ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपालगन्जमा सबै पदमा गरेर सात सय ७९ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जनाएको छ ।
यहाँ नगर उपप्रमुखमा १० जना, वडाध्यक्षमा एक सय ६६ जना, खुला सदस्यमा तीन सय दुई जना, महिला सदस्यमा एक सय ४९ जना र दलित महिला सदस्यमा एक सय ३४ जनाले उम्मेदवारी दिएका छन् । नेपालगन्जपछि धेरै कोहलपुर नगरपालिकामा उम्मेदवारी परेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कोहलपुरमा मेयरमा १५ जना र उपमेयरमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कोहलपुरका निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार वडाध्यक्षमा ९१ जना, खुला सदस्यमा एक सय ४८ जना, महिला सदस्यमा ७६ जना र दलित महिला सदस्यमा ६९ जनाले उम्मेदवारी हुन् । सबै पदमा गरेर कोहलपुरमा चार सय नौजनाले उम्मेदवारी दिएको उनले बताए । यस्तै राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा पाँचजना र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले राप्तीसोनारीमा एक सय ९९ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार वडाध्यक्षमा ३९ जना, खुला सदस्यमा ७९ जना, महिला सदस्यमा ३७ जना र दलित महिला सदस्यमा ३३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यालय बाँकेले दिएको जानकारीअनुसार खजुरामा एक सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षमा आठजना, उपाध्यक्षमा ६ जना, वडाध्यक्षमा ४१ जना, खुला सदस्यमा ७५ जना, महिला सदस्यमा ३५ जना र दलित महिला सदस्यमा ३४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले बताए ।
बैजनाथमा एक सय ९१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । पालिका अध्यक्षमा नौजना, उपाध्यक्षमा पाँचजना, वडाध्यक्षमा ४६ जना, खुला सदस्यमा ६९, महिला सदस्यमा ३२ जना र दलित महिला सदस्यमा ३० जनाले उम्मेदवारी दिएका हुन् । जानकीका निर्वाचन अधिकृत बासुदेव शर्माका अनुसार यहाँ एक सय ८९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पालिका अध्यक्षमा सातजना, उपाध्यक्षमा आठजना, वडाध्यक्षमा ४५ जना, खुला सदस्यमा ६८ जना, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएको उनले बताए । नरैनापुर गाउँपालिकामा अध्यक्षमा चारजना, उपाध्यक्षमा पाँचजना, वडाध्यक्षमा ४१ जना, खुला सदस्यमा ६९ जना, महिला सदस्यमा ३६ जना र दलित महिला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएका छन् ।
पालिकामा सबै पदमा गरेर एक सय ८६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय नरैनापुरले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार डुडुवामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यालयले दिएको जानकारीनुसार पालिका अध्यक्षमा सातजना, उपाध्यक्षमा ६ जना, वडाध्यक्षमा ४३ जना, खुला सदस्यमा ६२ जना, महिला सदस्यमा २९ जना र दलित महिला सदस्यमा ३० जनाले उम्मेदवारी दिएका हुन् । जिल्लाका आठवटै पालिकामा चार सय २१ जनप्रतिनिधि छनोटको लागि वैशाख ३० गते चुनाव हुँदैछ । निर्वाचनबाट आठजना पालिका प्रमुख, आठजना पालिका उपप्रमुख, ८१ जना वडाध्यक्ष, खुला सदस्य एक सय ६२ जना, महिला सदस्य ८१ जना र ८१ जना दलित महिला सदस्य निर्वाचित हुने छन् ।
सूचना पाउनै मुस्किल
वैशाख ३० गते हुने स्थानीय तहको गतिविधिमा नागरिकको चासो बढ्दो छ । अहिले मनोनय दर्तादेखि सूची प्रकाशनसम्मका काम सम्पन्न भएका छन् । जतिजति निर्वाचनको मिति नजिकिँदैछ त्यतिधेरै नागरिकमा चासो बढ्दै छ । तर नागरिकले निर्वाचनसम्बन्धी जानकारी पाउन सकस भएको छ ।
जनतालाई सूचना प्रवाह गर्ने माध्यममै जिल्लाका सबै पालिकामा स्थापना भएका निर्वाचिन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न नसक्दा नागरिकलाई सूचना पाउन सकस भएको हो ।
आफ्ना जनप्रतिनिधि छनोट गर्ने महŒवपूर्ण कार्यमा समेत नागरिकलाई सूचनाबाट वञ्चित गरिनु सूचना पाउने हक कुन्ठित गर्नु भएको सर्वसाधारणहरुले जनाएका छन् । ‘निर्वाचनसम्बन्धी गतिविधि सार्वजनिक गर्न छुट्टै कुनै माध्यम छैन,’ जिल्ला निर्वाचन अधिकारी रमा पन्तले भनिन्, ‘अबदेखि माथिल्लो निकायमा यो गुनासो गर्छुँ । सम्बोधन भयो भने सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गर्छाैं ।’
निर्वाचन कार्यालय र पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयले गरेका गतिविधिनै पाउन कठिन भएको छ । उम्मेदवार मनोनयनदेखि सूची प्रकाशनसम्मको सूचना नागरिकलाई पाउन हम्मेहम्मे भएको छ । निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न एउटा छुट्टै संयन्त्रण हुनुपर्ने स्थानीयहरुको भनाइ छ ।
नेपालगन्जको मेयरमा १८, उपमेयरमा १० जना उम्मेदवार
नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि १८ जना मेयर र १० जना उपमेयरसहित सात सय ७९ जनाले उम्मेवारी दर्ता गराएका छन् ।
आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको मनोनयन दर्तामा सोमबार राति अबेरसम्म पनि मनोनयन दर्ताको काम गरिएको थियो । कार्यालयका एक कर्मचारीका अनुसार बिहान ५ बजेतिर मात्रै उम्मेदवारको सूची तयार भएको हो ।
बिहान ६ बजे प्रकाशित उम्मेदवारहरुको सूचीअनुसार नेपालगन्जको मेयरमा पाँचजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपमेयरमा स्वतन्त्रबाट माओवादी पार्टीकी ताराकुमारी खत्रीको एकल उम्मेदवारी परेको छ ।
विभिन्न वडाध्यक्षमा मात्रै एक सय ६४ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा सबैभन्दा बढी वडा नम्बर ५ बाट ११ जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ बाट पाँच÷पाँचजनाले उम्मेदवारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्