कुलोको समिति गठन गर्ने भन्दै एमाले प्रवेश गराएपछि…



दाङ : दाङमा कुलोको समिति गठन गर्ने भनेर झुक्याइ एमालेमा प्रवेश गराएको घटना बाहिर आएको छ । माओवादीका सीताराम चौधरी, दशिराम चौधरी, निमबहादुर चौधरी र जीतराम चौधरीले आफूहरुलाई झुक्याइ एमालेमा प्रवेश गराएको बताएका छन् ।

बुधबार उनीहरुले संयुक्त विज्ञप्ति निकालेर आफूहरू एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्न भनेर हस्ताक्षर गराएर एमाले प्रवेश गराएको भन्दै उनीहरूले आपत्ति जनाउँदै आफूहरू माओवादी केन्द्रमै रहेको बताएका छन् ।

‘२६ फागुनमा तुलसीपुर उपमहानगरपालिका–१० राईखलियानमा कुलोको समिति गठन गर्ने भनि हामीहरुलाई बोलाइयो । त्यहाँ कुलोको समिति भनि सीताराम चौधरीको नेतृत्वमा एउटा समिति पनि निर्माण गरियो । तर, पछि सामाजिक सञ्जालमा एमालेको तुलसीबन्धना टोल कमिटी गठन गरिएको भनि प्रचार गरियो,’ जारी विज्ञप्तिमा उनीहरुले भनेका छन्, ‘विगतदेखि नै माओवादी केन्द्रमा सक्रिय भएर काम गरेको र अहिले पनि माओवादी केन्द्रमै रहेको कुरा जानकारी गराउँदै एमालेले गरेको यस्तो भ्रमित कार्यको कसैले पनि विश्वास नगर्न हुन् अनुरोध गर्दछु ।’

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार