प्रेमीबाट दोस्रोपटक आमा बनिन् काइली



एजेन्सी ।

हलिउड अभिनेत्री काइली जेनर दोस्रो सन्तानको आमा बनेकी छिन्।

हालै २४ वर्षीया काइली र उनका र्यापर प्रेमी ट्रयाबिस स्कटले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफूहरू माता–पिता बनेको जानकारी दिएका हुन्। सन् २०१७ देखि ट्रयाबिससँग प्रेम सम्बन्धमा रहेकी काइलीले यसअघि २० वर्षको उमेरमै छोरीलाई जन्म दिएकी थिइन्।

सन् २०१९ मा प्रेमीका साथ छुट्टिएर आफ्नी ४ वर्षीया छोरी स्ट्रोमीका साथ बस्दै आएकी काइलीले गत सेप्टेम्बरमा आफू गर्भवती रहेको बताएकी थिइन्। यही कारण पनि काइलीको कसैसँग फेरि प्रेम सम्बन्ध शुरु भएको हो या विवाह गरेकी हुन् भन्ने कौतुहलता उनको फ्यानहरूमा जागेको थियो।

काइलीको पेटमा रहेको बच्चाको पिता को हुन सक्छ भन्ने समाचारले पनि सञ्चार माध्यममा स्थान पाएको थियो।

पहिलोपटक आमा बन्दा गर्भवती अवस्था लुकाएर आमा बनेपछि मात्र जानकारी दिएकी काइलीले यसपटक भने गर्भवती भएपछि मात्र ट्रयाविस र आफ्नो प्रेम सम्बन्ध फेरि शुरु भएको खुलासा गरेकी थिइन्।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २५ गते मंगलबार