विद्यालयभन्दा पनि अझ बढी भीडभाड हुने मेलालाई भने गाउँपालिकाले छुटकारा दिएको छ । माघे संक्रान्तिका अवसरमा लाग्दै आएको भुवर भवानीको मेला गाउँपालिकाले स्थगित नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पनि गाउँपालिकाले विद्यालय बन्द गर्ने र मेलालाई छुटकारा दिने अभिव्यक्ति दिएको छ ।
राप्तीसोनारी गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै भनेको छ, ‘गाउँपालिकाभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालय माघ १५ गतेसम्म बन्द रहन अनुरोध गर्दछौं ।’ पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि गाउँपालिकाले जोखिम न्यूनीकरण गर्न यो सूचना जारी गरेको हो ।
तर, विद्यालयभन्दा पनि अझ बढी भीडभाड हुने मेलालाई भने गाउँपालिकाले छुटकारा दिएको छ । माघे संक्रान्तिका अवसरमा लाग्दै आएको भुवर भवानीको मेला गाउँपालिकाले स्थगित नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पनि गाउँपालिकाले विद्यालय बन्द गर्ने र मेलालाई छुटकारा दिने अभिव्यक्ति दिएको छ ।
सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सवहरु आयोजना नगर्न प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार नै आदेश जारी गरेका छन् । यो आदेशविपरीत मेला सञ्चालन गर्ने राप्तीसोनारीले संकेत गरेको छ । मेलाका लागि सूचना आह्वाण गरे पनि स्थगनको सूचना अहिलेसम्म निकालेको छैन ।
कोरोना भाइरस जोखिमकै बीच राप्तीसोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा चार दिन लाग्ने मेलाको तयारी तीव्र पारिएको छ । मेलास्थलको ठेक्का पाएका बालेन ओलीले प्रशासनले सूचना जारी गर्दैमा मेला नरोकिने बताए । ‘टेण्डर हालेर मेलाको ठेक्का पाएको छौं । अहिलेसम्म लाखौं रुपैयाँ लगानी भइसकेको छ,’ उनले भने, ‘पसलको लागि व्यवसायीले रकमसमेत बुझाइ सक्नुभएको छ । पहिले नै सम्झौता नभएकोले मेला रोकिँदैन ।’
मेला सञ्चालनका लागि ओलीले तीन लाख ५२ हजारमा टेण्डर पाएका थिए । मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोले नरोकिने उनले दाबी गरे । व्यवसायीहरुले मेलाको लागि भनेर सामानहरु किनिसकेको बताउँदै ओलीले मेला रोकिए लाखौं रुपैयाँ घाटा लाग्ने बताए । मेला सञ्चालन गर्न दिने निर्णय गरेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाको कारण देखाउँदै विद्यालय भने बन्द गर्ने निर्णय गरेको छ ।
‘मेला रोक्ने तयारी छैन’
राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले विद्यालय बन्दको निर्णय भए पनि मेला बन्द गर्नेबारे भने कुनै निर्णय नभएको बताए । ‘हामी काठमाडौंमा रहेकाबेला मेलाको ठेक्का भएको रहेछ,’ उनले भने, ‘पालिकाभित्रका स्कुल चाहिँ बन्द हुन्छन् । मेलाबारे भने निर्णय हुन सकेको छैन । अहिलेसम्म मेला सञ्चालन हुने कुरो नै छ ।’
यसबारे बाँकेका प्रमुख जिल्ला अधिकारीसँग समेत कुरो भइसकेको प्रमुख प्रशासकीय अधिकृत शाहीले दाबी गरे । ‘सिडिओ’साब दिउँसो फोन गर्नुभएको थियो, उहाँले मेला तुरुन्त रोक्नुहोस् भन्नुभयो । मैले यहाँको बारेमा जानकारी गराए,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने ।
भीडभाड गर्न रोक
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार जारी गरेको सूचनामा कोरोना संक्रमण दिनहुँ बढ्दै गएको भन्दै भीडभाड नगर्न र स्वास्थ्य मापदण्डपालना गर्न आदेश जारी गरेको थियो । उक्त आदेशअनुसार सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्न रोक लगाइएको उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्न प्रजिअ खत्रीले जारी गरेको आदेशमा भनिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन २०७८ पुस २६ गतेको मन्त्रीस्तरको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाभर लागू हुने गरी अर्को आदेश नभएसम्म आदेश जारी गरिएको प्रजिअ खत्रीले बताएका छन् । सिडिओले आदेश जारी गरे पनि भुवर भवानीको मेला पुस ३० गतेदेखि माघ ४ गते बिहानसम्म जारी रहनेछ ।
दाङमा सबै मेला बन्द
यस वर्ष जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नलाग्ने भएका छन् । माघे संक्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने जानकारी दिए । यो मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ । लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दथे ।
यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भइ माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो । यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको संख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो ।
दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ । महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिए ।
नेपालगन्ज र बाँसगढीमा पनि स्थगित
बर्दियाको बाँसगढीमा भोलिदेखि सुरु हुने भनिएको बर्दिया माघ महोत्सव स्थगित भएको छ । आयोजक बाँसगढी उद्योग वाणिज्य संघले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिएको हो ।
कोरोना तीव्ररुपमा फैलिरहेको र सरकारले समेत एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएकोले महोत्सव अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको संघका अध्यक्ष रामसिंह थारु र महासचिव युगपती पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि संघले भोलि उद्घाटन गरेर माघ ९ गतेसम्म महोत्सव सञ्चालन गर्ने तयारी गरेको थियो । यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघले समेत महोत्सव स्थगित गरेको जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गरेर संघले माघ १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्न थालिएको महोत्सव स्थगित गरिएको जानकारी दिएको हो । देशभर बढ्दै गएको कोरोनाको कारण देखाउँदै महोत्सव स्थगित गर्नुपरेको संघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्