अभिनेता अजय देवगनले लिए १९ करोड ऋण



एजेन्सी ।

बलिउड अभिनेता अजय देवगनले हालै मुम्बईस्थित जुहु क्षेत्रमा नयाँ घर किनेका छन्। अजयले ४७ करोड भारु (७५ करोड नेपाली रुपैयाँ) मा सो घर किनेका हुन्। यही घर किन्न उनले झन्डै १९ करोड भारु ऋण लिएको बलिउड हंगामाले लेखेको छ।

अजयको पुरानो घर ‘शिवशक्ति’ नजिकै भएको नयाँ घर करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ। अजय र उनकी श्रीमती काजोलले गत वर्षदेखि नै नयाँ घर किन्न खोजिरहेका थिए। ‘कपोल कर्पोरेटिभ हाउजिङ सोसाइटी’मा आफूले खोजेजस्तो घर पाएपछि उनीहरुले किन्ने निर्णय लिएका हुन्।

यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा छ। पहिले यो घर भावेश बालकृष्ण वालियाको नाममा थियो। अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताका घरहरु पनि छन्। अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चन उनका छिमेकी भएका छन्।

अभिताभ बच्चनले गत अप्रिलमा जुहु क्षेत्रमा नयाँ फ्ल्याट किनेका हुन्। उनकाे नयाँ फ्ल्याटको मूल्य ३१ करोड भारु परेको थियो।

अजय निर्मातासमेत रहेको पछिल्लो फिल्म ‘तान्हाजी’ ले तीन सय ५० करोडभन्दा बढी कमाइ गरेको थियो।

हाल उनी ‘मेडे’, ‘थ्यांक गड’ र ‘रुद्र’लगायत फिल्ममा व्यस्त रहेको बलिउड हंगामाले बताएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार