धान खेतीको उर्वर भूमि मानिने बाँके बर्दियामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ ।
गतवर्षभन्दा बाँकेमा २६.५ र बर्दियामा ७.३८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले यसवर्ष बाँकेमा अघिल्ला वर्षहरुभन्दा धान उत्पादन बढेको जानकारी दिए ।
‘यसवर्ष समयमा नै पानी पर्दा समयमा नै रोपाई भएको थियो’ उनले भने, ‘त्यो लगायतका अन्य कारणले पनि यसवर्ष धान उत्पादन बढेको हो ।’ बाँकेमा यसवर्ष ३६ हजार ५ सय हेक्टर जमिनमा धान रोपाई भएको थियो । प्रति हेक्टर ४.३ मेट्रिक टनका दरले १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले बताए ।
यो उत्पादन गतवर्षको भन्दा २६.५ प्रतिशतले बढी हो । गतवर्ष १ लाख २४ हजार १ सय मेट्रिक टन मात्र धान उत्पादन भएको थियो ।
‘गतवर्ष फौजी किराको क्षती, बिउमा समस्या आउँदा उत्पादन घटेको देखिन्छ । सोही कारणले अहिले राम्रो उत्पादन हुँदा पोहोरभन्दा धेरै उत्पादन देखिएको हो । यती धेरै उत्पादन बढ्ने अन्य कुनै कारण छैन’ उनले भने ।
त्यसभन्दा अघि १ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । त्यतीबेलाको तुलनामा अहिले ७.५ प्रतिशतले मात्र वृद्धि भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
बाँकेमा रहेको ५२ हजार ८ हजार ३८ हेक्टर खेतीयोग्य जमिनमध्ये १४ हजार ५ सय ७३ हेक्टर जमिनमा मात्र सिंचाई सुविधा रहेको छ ।
बर्दियामा ७.३८ प्रतिशत वृद्धि
धान खेतीको उर्वर भूमि मानिने बर्दियामा जिल्लामा पनि यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । प्रचुर सिँचाईको व्यवस्थापनलगायत धानखेतीमा रोग किरा नलागेपछि धानको उत्पादनमा उल्लेख्य वृद्धि भएको हो ।
यसवर्ष जिल्लामा अधिक मात्रामा धान उत्पादन भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले जानकारी दिए । ‘नसोँचेको मात्रामा धान उत्पादन भएको छ ।
रसायनिक मलको अभावका बीच यति धेरै परिमाणमा धान उत्पादन हुनु खुशीको कुरा हो’, उनले भने, ‘अघिल्ला वर्षहरूको तुलनामा ७ दशमलव ३८ प्रतिशत धान उत्पादन वृद्धि भएको छ ।’
बर्दियामा गतवर्ष ५० हजार ९ सय हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीमा ४ दशमलव २ प्रतिशत उत्पादकत्वका दरले २ लाख १४ हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष ५० हजार २५० हेक्टर क्षेत्रफलमा ४ दशमलव ५ प्रतिशत उत्पादकत्वका दरले २ लाख २६ हजार ६२८ मेट्रिक टन धान उत्पादन भएको छ ।
धान उत्पादन हुनुको मुख्य कारण खेतीमैत्री वर्षा, सिँचाईको पहुँचलगायत गुणस्तरीय बीउ नै हो । ‘यसवर्ष मौसम अनुकुल थियो’, घिमिरेले भने, ‘यदि रसायनिक मलको समयमै व्यवस्थापन भएको भए धानको उत्पादन अझै बढ्न सक्ने सम्भावना थियो ।’
बर्दियामा कुल ७५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमा ६० हजार एकसय हेक्टर खेती गरिने कार्यालयले जनाएको छ । खेती गरिएको जमिनमध्ये ४२ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्र सिँचाईको पहुँच रहेको छ ।
पाएनन् किसानले उचित मूल्य
बाँके बर्दियामा यसपाली धानको उत्पादन वृद्धि भएपनि किसानले भने धानको उचित मूल्य नपाएको बताएका छन् ।
सरकारी संयन्त्र मार्फत धान खरिद ढिलोगरी भएकाले किसानका उत्पादनले मूल्य नपाएको बाँके डुडुवा गाउँपालिका वडा नम्बर ४ का रामसुरेश यादवले बताए । खाद्य कम्पनीले समयमा नै धान खरिद नगर्दा सस्तोमा नै धान बिक्री गर्र्नुपरेको उनले गुनासो गरे ।
‘सरकारी निकायले समयमा नै धान खरिद सुरु नगर्दा किसानहरु मर्कामा परे’ उनले भने, ‘गहुँ बाली लगाउने अधिकांश किसानहरुले पैसाको अभावमा न्यून मूल्यमा धान बिक्री वितरण गर्न बाध्य भए ।
बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ८ का कृषक राधेलाल लोधले समेत व्यापारीहरूले आफूखुशी मूल्य निर्धारण गरी किसानको धान खरिदको उनले बताए ।
‘व्यापारीले सरकारले निर्धारण गरेको मूल्यसमेत दिएनन्’, उनले भने, ‘दुःख गरी गरी धान उत्पादन ग¥यौँ आखिर सस्तोमा धान बेच्नु प¥यो ।’ धनको उचित मूल्य नपाउँदा लगानी उठाउन मुस्किल भएको कृषकहरूको दुखेसो छ ।
बाँके बर्दियामा धान उत्पादनमा वृद्धि भएपनि सरकारी निकाय बाहेक निजी क्षेत्रका व्यवसायीले सरकारले तोकेको मूल्य नदिदा किसानहरु मर्कामा परेका हुन् ।










प्रतिक्रिया दिनुहोस्