सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका बाँके जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथी आक्रमण गर्ने एक युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार राती एक युवालाई पक्राउ गरेको हो ।
कोहलपुर प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले चौराहा नजिक विद्यार्थी नेतालाई आक्रमण गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा कोहलपुर नगरपालिका २ का विवेक सापकोटा रहेको उनले बताए ।
‘बुधबार राती विद्यार्थी नेतामाथि आक्रमण गरेको आरोपमा एक युवालाई पक्राउ गरेका छौं’ उनले भने, ‘उनको घर घटनास्थल नजिकै रहेको अनुसन्धानबाट खुलेको छ ।’
पक्राउ परेका सापकोटाले विद्यार्थी नेतामाथि आक्रमण गरेको बयान दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विद्यार्थी नेता मानवमाथि बुधबार राती करिब १० बजेतिर चौराहा नजिकै रहेको कोहलपुर नगरपालिकाको कार्यालय नजिक आक्रमण भएको थियो । घटना लगत्तै कोहलपुर प्रहरी अनुसन्धानमा खटिएको थियो ।
शुक्रबार राती मात्र प्रहरी जवान जितेन्द्रजंग केसीले आक्रमणकारी सापकोटालाई पक्राउ गरेका हुन् । पक्राउ परेका सापकोटा अन्य घटनाहरुमा समेत संग्लन भए नभएको बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पिडित मानवले पनि आक्रमणकारी पक्राउ परेको भन्दै बाँकी कानुनी पक्रिया भोली शनिबार मात्रै थाल्ने मिसन टुडेलाई जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्