बर्दियामा बाघको आक्रमणबाट भेना, सालाको मृत्यु



बर्दिया ।

पाटे बाघको आक्रमणबाट नेपाल भारत सिमा क्षेत्रसंग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाको ज्यान गएको छ ।

नेपाल भारत सिमा नजिक मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो ।

मंगलबार विहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी दिउँसोसम्म नआएपछि आफन्तहरु खोजी गर्न जाने क्रममा २६ वर्षीय रमेश थारुलाई पनि बाघले आक्रमण गरेको डिभिजन वन प्रमुख वाग्लेले बताउनुभयो ।

प्रहरी र स्थानियले खोजी गर्ने क्रममा दुई जनाको शव जंगलभित्र फेला पारेको डिभिजन वन प्रमुख वाग्लेले बताउनुभयो । सामुदायिक जंगलमा विहानै गएका दिनेश थारु दिउँसोसम्म पनि नआएपछि गाउँका दुई जना स्थानिय युवा खोजी गर्न गएका थिए ।

जंगलमा विहान हराएका दिनेशलाई खोजी गर्न गएका मध्ये रमेश थारुलाई बाघले आक्रमण गरेपछि प्रहरी सहितको टोली खोजी गर्न जाँदा दुबै जना मृत अवस्थामा शव फेला परेको मधुवन नगरपालिका ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो ।

बाघको आक्रमणमा परि ज्यान गुमाएका दुबै जना नातामा भिना साला पर्छन् । ‘मान्छे मार्ने बाघ तत्काल मार्नुपर्ने माग गर्दैछन्, शव नबुझ्ने आफन्तहरु माग गर्दैछन्’ मधुवन ३ का वडाध्यक्ष नारायण मल्लले भन्नुभयो ।

एक सातामै आफ्नो वडाका ४ जनालाई मार्ने बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने वडा अध्यक्ष मल्लले माग गर्नुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ११ गते मंगलबार