सरकारी निती मान्दैनन्,सवारी चालक ‘लमहीमा अव्यवस्थित पार्किङ’



शिवु खनाल । दाङ ।

जिल्लाको लमही बजार क्षेत्रका भित्री सडकको दायाँ र बायाँ तर्फ अव्यवस्थित पाकिङ हुने गरेको छ । बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण पैदल यात्रुहरुलाई आवतजावतमा समस्या पर्ने गरेको छ । लमहीका भित्री बैंक रोड, मालपोत रोड, नापी रोड, पि.सि.ओ.रोड कान्छी रोड र बगैँचा रोडहरुमा दिनहुँ मालबहाक ट्रक, जिप, कार, मोटरसाइकल लगाएत यातायातका अन्य सवारी साधनहरु अव्यवस्थित रुपमा पाकिङ गरिएका हुन्छन् । जसले गर्दा सवारी दुर्घटनाको दिनप्रतिदिन जोखिम बढ्दै गएको स्थानिय शशिराम नेपालीले बताए ।

बजार भित्रका साँघुरो रोडमा बढ्दै गएको अव्यवस्थित पार्किङले सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको उनी बताउँछन् । ‘यत्रतत्र छरिएका यातायातका विभिन्न सवारी साधनहरु तत्काल व्यवस्थापन गर्न सम्बन्धीत निकायको ध्यान जान जरुरी छ’ उनले भने । अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सम्बन्धीत निकायले तत्कालै सरोकारवालाहरुसँग छलफल गरि लमही बजारलाई व्यवस्थित गर्न आवश्यक रहेको स्थानिय शेरसिंह खड्काले बताए । यता बैंकको पछाडि पार्किङ्को व्यवस्था रहेको कस्टोमरलाई थाहा हुदाहुदै बैंक अगाडि पार्किङ गरेको राष्ट्रिय बाणिज्य बैंकका निमित्त प्रबन्धक संगिता पौडेले जानकारी दिइन् ।

‘राष्ट्रिय बाणिज्य बैंकको पछाडि आफ्नै पार्किङ स्थल छ । तर पनि एकैछिनमा गएर आइहाल्छौँ भनेर जानी जानी बैंक अगाडि नै पार्किङ गर्दिनुहुन्छ’ उनले भनिन्, ‘बैंक अगाडि जानकारीमुलक (पार्किङको व्यवस्था) पछाडि गरिएको छ, लेखेको होर्डिङ बोर्ड राख्ने अब तयारी गरेका छौं ।’ सामान्य जाने आउने बाटोमा यसरी यातायातका विभिन्न सवारी साधनहरु अव्यवस्थित रुपले पार्किङ गरेपछि दुर्घटनाको जोखिम बढ्न थालेको अस्थाई ट्राफिक पोष्ट प्रहरी लमहीका प्रमुख सुदिप हमालले जानकारी दिए ।

‘पहिलो चालकलाई कहाँ पार्किङ गर्ने भन्ने नै थाहा छैन । बजार क्षेत्रमा पार्किङ र नो पार्किङको बोर्ड भएको भए अव्यवस्थित पार्किङ गर्ने जो कोहीलाई पनि कार्बाही गर्न सकिन्थ्यो । पार्किङ र नो पार्किङको बोर्ड नभएकै कारण लमही बजार अव्यवस्थित हुन पुगेको हो ।’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार