निर्माण व्यवसायलाई देशको मेरुदण्डका रुपमा लिने गरिएको छ । तर अहिले पछिल्लो समय विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण जारी गरिएको लकडाउनले प्रायःनिर्माण कार्यहरु ठप्प जस्तै बनेका छन् । भइरहेका कामहरु पनि आवश्यक निर्माण सामग्री र काम गर्ने मजदुरको अभावका कारण सुस्त गतिमा अगाडी बढेको अवस्था छ । यसै सन्दर्भमा लकडाउनका कारण निर्माण व्यवसाय क्षेत्रमा परेको असर, व्यवसायीहरुको पछिल्लो अवस्था र समस्याहरुका बारेमा निर्माण व्यवसायी महासंघ प्रदेश नं.५ का महासचिव प्रकाश शाह सँग यानबी साहु ले गरेको कुराकानी :
१. कोरोना कहरपछि निर्माण व्यवसायीहरुको पछिल्लो अवस्था के छ ?
विश्व महामारीका रुपमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला देशका सबैजसो क्षेत्रमा असर परेको अवस्था छ । अहिलेको कोरोना कहरपछिको लकडाउनका कारण सृजित यो विषम परिस्थितिमा निर्माण व्यवसाय क्षेत्रमा त झनै असर नपर्ने कुरै भएन । साँच्चै भन्ने हो भने यतिबेलाा निर्माण व्यवसायीहरु एकदमै अप्ठेरोमा परेका छन् । एकातिर राज्यले निर्माणका कामहरु छिटो निर्माण गर्नुहोस् तपाईहरुलाई कुनै रोकटोक छैन् भनेर सूचना जारी गरेको छ । निर्माण सामग्रीहरु पाउने पालिकाहरुमा लकडाउन भइरहेको अवस्था हुन्छ । निर्माण सामग्रीहरु एकै ठाउँमा नपाउने हुन्छ । सिमेन्ट एक ठाउँमा पाइन्छ भने सरिया लिन अर्को ठाउँ लिन जानुपर्ने हुन्छ । ती सामग्रीहरुलाई निर्माण स्थलसम्म पु¥याउनु पर्ने हुन्छ । यस्तो अवस्थामा पालिका स्तरीय लकडाउन हुने भएकाले निर्माण स्थलसम्म निर्माण सामग्रीहरु पु¥याउन साह्रै गाह्रो हुने गरेको छ । एउटा पालिकामा लकडाउन खुल्ला भएपनि अर्को पालिकामा बन्द हुन्छ । यसले गर्दा समयमा मालसामान पु¥याउन नसकिरहेको अवस्था छ । अर्कोतर्फ अहिले निर्माणका क्षेत्रमा काम गर्ने मजदुरहरु पाउन समस्या रहेको छ । नेपालमा पुल निर्माण लगायतका ठूला क्षेत्रमा काम गर्ने अधिकांश मजदुरहरु भारतबाट आउने भएकाले लकडाउनले गर्दा आउन नसकेको अवस्था छ । यसले गर्दा निर्माण क्षेत्रमा समस्या हुने गरेको छ ।
२. सरकारले निर्माण व्यवसायीहरुलाई समयमै सम्पन्न गर्न भनिरहेको
छ । त्यसको लागि कतिको सहज वातावरण बनाईदिएको छ ?
निर्माण व्यवसायीहरुप्रति राज्यले अहिले कस्तो रणनीति अपनाई रहेको छ भने दुबै हात बाँधेर तपाईहरु दौडनुहोस् भन्ने जस्तो कुरा गरिरहेको
छ । किनभने एकातिर काम गर । निर्माणका कामहरु समयमा निर्माण सम्पन्न गर भनिरहेको छ । भने अर्कोतर्फ त्यसको लागि सहज वातावरण बनाई दिएको छैन । सहज रुपमा आवतजावत गर्न सक्ने अवस्था छैन । पास लिएर मात्र हिड्न भनेको छ । ठाउँठाउँमा चेक
हुन्छ । पास लिनलाई पनि वातावरण सहज छैन । जिल्ला प्रशासन कार्यालयले नै बन्द गरेको छ । यस्तो अप्ठेरो परिस्थितिमा व्यवसायीहरुले सरकारसँग कामको म्याद थप्न आग्रह गर्दा निर्माण व्यवसायीहरुलाई काम गर्न कुनै रोक छैन । किन समयमा काम भएन भनेर उल्टै दोष दिने गरेको छ । सरकारले स्थलगत अनुगमन नगरेरै निर्णय गर्छ । व्यवसायीहरुका समस्या के छन् बुझ्दैन । यसरी एकातिर काम गर्न दिएकै हौँ भन्ने अर्कोतिर सहज वातावरण नबनाई दिने, म्याद थप्नुपर्छ भन्दा आलटाल गर्ने गरिरहेको अवस्था छ । यसले गर्दा व्यवसायीहरुको सरकारले काम गर्ने सहज वातावरण बनाउन नसकिरहेको अवस्था छ ।
३. अहिलेको यो विषम परिस्थितिमा समयमा निर्माणका कामहरुलाई कसरी अगाडि बढाइरहेका छन् ?
अहिले यतिबेला सरकारले नयाँ नयाँ टेण्डरहरु आह्वान ग¥यो । कतिपय टेण्डरहरुमा हामी पनि सहभागी भयांै । एउटा टेण्डर बिट गर्दा नर्मल रुपमा पनि करिब ९० देखि १२५ दिनसम्म त्यसको टुङ्गो लागिसक्नु पर्ने प्रावधान हुन्छ । कोरोनाको कारण देखाउँदै म्याद थप गरेर बैंक ग्यारेन्टि मागेको माग्यै छ । बैंक ग्यारेन्टि लिँदा बैंकले छुट नदिने भएकाले व्यवसायीहरुलाई व्यय भार थपिँदै गएको अवस्था छ । अहिलेसम्म कुनै टुङ्गो लगाएको छैन । अर्कोतर्फ नयाँ टेण्डर सम्झौता गर्ने काम अहिले कोरोना संक्रमणका कारण केहि समय गर्न नसकिरहेको अवस्था छ । भएका कतिपय पुराना टेण्डरहरुमा काम गर्ने भनेर जुटौँ भन्दा पनि मजदुरहरु नपाइरहेको अवस्था छ । भएका मजदुरहरु पनि लकडाउनका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन । लकडाउनकै कारण निर्माण सामग्री पाउने कतिपय उद्योग, कलकारखानाहरु बन्द छन् । यस्तो परिस्थितिका कारण काम गर्न नसकिरहेको अवस्था छ । यो अवस्थामा पनि कर्मचारीहरुलाई तलब दिइरहनु पर्ने भएकाले व्यवसायीहरुलाई झनै व्यय भार थपिदै गएको छ ।
४. विशेष गरी अहिले निर्माण व्यवसायीलाई कस्ता खालका समस्याहरु बढी आइपर्ने गरेका छन् ?
विशेष गरी अहिलेको यो कोरोना महामारीको समयमा व्यवसायीहरुलाई परेको मुख्य समस्या भनेको दक्ष मजदुरहरु पाउन एकदमै गाह्रो भएको
छ भने अर्कोतर्फ निर्माण सामग्री पनि पाउन नसकिरहेको अवस्था छ । कतिपय सम्बन्धित कार्यालयहरुले निर्माणका लागि निश्चित मापदण्ड पूरा गरेका उद्योग, कम्पनीका डण्डी, सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गर्न अनुमति दिएका हुन्छन् । अनुमति दिएका कतिपय उद्योगहरु लकडाउनका कारण बन्द रहेकाले तोकिएको सामान नपाइरहेको अवस्था छ । अर्को कम्पनी वा उद्योगका सामग्रीहरु प्रयोग गर्दा गुणस्तर, मापदण्ड परीक्षण गराउनु पर्ने हुन्छ । त्यसको लागि ल्याव टेष्ट गर्दा झण्झटिलो छ । काठमाण्डौं नै जानुपर्ने हुन्छ । त्यहाँ पनि कोरोनाकै कारण कर्मचारीहरु नपाइने, प्राविधिकहरु पनि डराउनु पर्ने अवस्था छ । कार्यालयमा जाँदा भेट्न नसकिने, सहज तरिकाले नक्सा लिन नसकिने, कतिपय कम्पनीहरुमा सामान पनि बाहिरबाट आउने भएकाले सामान आउन नसकेर थन्किएको अवस्था छ । यसले गर्दा अहिले निर्माण कार्य लगभग ठप्प जस्तै छ ।
५. अहिले राज्यले निर्माण व्यवसायीहरुलाई के गरिदियो भने उनीहरुलाई काम गर्न सहज हुन्छ जस्तो लाग्छ ?
सर्वप्रथम त राज्यले विका निर्माणका कामलाई वाधा नपुग्ने गरी सहज रुपमा वातावरण मिलाउन जरुरी छ । त्यसैगरी निर्माणसँग सम्बन्धित व्यवसायी, कर्मचारी तथा मजदुरहरुलाई सहज रुपमा निर्माण स्थलसम्म पुग्ने वातावरण निर्माण बनाई दिएको खण्डमा काम गर्न सहज हुन्थ्यो । उनीहरुलाई सम्बन्धित निर्माण कम्पनीका परिचयपत्र, पास तथा कागजातका आधारमा निर्माण स्थलसम्म जाने सक्ने वातावरण मिलाई दिनुप¥यो । त्यसपछि बरु उनीहरुलाई निर्माण स्थलमा नै सम्भव भएसम्म क्वारेन्टिनको व्यवस्था गरेर राख्ने वातावरण मिलायो भने काम गर्न सहज हुने थियो । समग्रमा भन्नु पर्दा राज्यले विकास निर्माणका कामलाई प्रमुख प्राथामिकतामा राखेर निर्माण कार्य अगाडी बढाउन सहज बातावरण मिलाउन जरुरी छ । अहिलेसम्म यस्तो गरेको अवस्था छैन ।
६. विकास निर्माणका कामहरु भइरहेका ठाउँहरुमा स्वास्थ्य मापदण्डहरु पालना भएको छ कि छैन ?
अहिलेको अवस्था हर्ने हो भने धेरैजसो निर्माणका कामहरु बन्द नै
छन् । काम भइरहेका ठाउँहरुमा हामीले पूर्ण रुपमा भौतिक दूरी कायम गर्दै मास्क र ग्लोब्सको प्रयोग गरेर काम गराईरहेका छौँ । त्यस्तै बाहिरबाट आउने मजदुरहरुलाई अरु मजदुरहरुसँगै नराखेर छुट्टै क्याम्पमा राख्ने गरेका छौँ । उनीहरुलाई करिब १४ दिनसम्म छुट्टै राखेर खानपिनको व्यवस्था पनि छुट्टै गर्ने गरेका छौँ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएमा स्थानीय सरकार वा स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्ने गरेका छौँ तर अहिलेसम्म कुनै पनि व्यक्तिमा त्यस्तो कुनै लक्षण देखिएको छैन । मजदुरहरुका लागि निर्माण स्थलमा नै कम्पनीका गाडीहरुमार्फत खाद्य सामग्रीहरुको व्यवस्था मिलाई दिने गरेका छौँ । त्यसरी बाहिर डुल्ने, अरुसँग घुलमिल हुने वातावरण छैन । सबै जनाले आवश्यक सबै स्वास्थ्य मापदण्डहरु पालना गरिरहेको अवस्था छ ।
७. निर्माण व्यवसायीहरु तथा मजदुरहरुका हक हितका लागि संघ–संगठनहरुले के कस्ता कामहरु गरिरहेका छन् ?
निर्माण व्यवसायी तथा मजदुरहरुको क्षेत्रमा काम गर्ने जिल्ला, प्रदेश, केन्द्र महासंघ लगायत विभिन्न संघसंगठनहरु छन् । अहिले उनीहरुले कोरोना महामारीपछिको लकडाउनका कारण केहि पनि गर्न नसकिरहेको अवस्था छ । गर्न सक्ने अवस्था पनि छैन । सबै कार्यालयका कामकाजहरु पनि बन्द रहेका छन् । पछिल्लो समय औपचारीक रुपमा एकै ठाउँमा जम्मा भएर बैठक, भेला, सभा, समारोह गर्न सकिएको छैन । भिडियो कन्फ्ररेन्स जुम मार्फत व्यवसायी तथा मजदुरहरुका समस्या र गुनासाहरुका बारेमा छलफल हुने गरेको छ । ती समस्याहरु सम्बन्धित कार्यालयसम्म पु¥याउन सकिरहेको अवस्था छैन । कतिपय कार्यालयकहरु कोरोनाकै कारण बन्द रहेका छन् । सामान्य फोन, ईमेल, पत्रपत्रिका मार्फत हुने कामहरु भइरहेका छन् तर अन्य कामहरु गर्न सकिएको छैन । यसले गर्दा निर्माण व्यवसायीका क्षेत्रमा काम गर्ने महासंघ, विभिन्न संघ संगठन, पदाधिकारीहरु केहि गर्न नसकिरहेको अवस्था छ ।
८. देश विकास र अर्थतन्त्रमा निर्माण व्यवसायीहरुको योगदान र भुमिका कस्तो रहन्छ ?
देशको विकास र अर्थतन्त्रमा निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहन्छ । विकास र अर्थतन्त्रको मेरुदण्डका रुपमा नै निर्माण व्यवसायीहरुले काम गर्दै आइरहेका छन् । भोलि पनि गरिरहने छन् । किनभने राज्यले कुल अर्थतन्त्रको ६०÷७० प्रतिशत बजेट विकास निर्माणका काममा नै खर्चिएको हुन्छ । त्यो लगानीलाई सुरक्षित गर्दै राज्यको ढुकुटीसम्ममा पु¥याउने काम निर्माण व्यवसायीहरुले गरिरहेका छन् । भने अर्कोतर्फ नेपाल सरकारले निर्माण कार्यको टेण्डर आह्वान गर्छ । टेण्डर आह्वान गर्दा पनि एक करोडको टेण्डर आह्वान भयो भने अस्वस्थ प्रतिस्पर्धाकै कारण करिब २०÷३० प्रतिशत रकम घट्छ । व्यवसायीले त्यो रकम राज्यलाई नै फर्काई दिन्छ । त्यसबाट आएको रकम राज्यले अर्को शीर्षकमा खर्च गर्ने हुँदा राज्यलाई नै फाईदा छ । त्यसैगरी, व्यवसायीहरुले राज्यलाई १३ देखि साढे १४ प्रतिशतसम्म कर तिर्ने गरेका छन् । अर्कोतर्फ देशका धेरै व्यक्तिहरुलाई रोजगारी दिएका छौँ । राज्यलाई समृद्ध बनाउन ठूलो धनराशीको रुपमा कर तिर्ने निर्माण व्यवसायी नै हुन् । राज्ले दिएको जिम्मेवारी निर्माण व्यवसायीहरुले आफ्नो घरखेत बेचेरै भएपनि सम्पन्न गरेका छन् । नगरेको अवस्थामा पनि कालोसूची छ, कारवाही छ, धरौटी छ, यसले गर्दा राज्य बलियो भएर बसेको छ । आफ्नो सबै गुमाएर भएपनि निर्माण सम्पन्न गर्ने भएकाले तथा राज्यलाई ठूलो कर तिर्ने र धेरैलाई रोजगारी प्रदान गरेकोले देशको विकास र अर्थत्रन्त्रमा निर्माण व्यवसायीहरुको ठूलो भुमिका छ ।
९. अन्त्यमा के भन्न चाहनु हुन्छ ?
निर्माण व्यवसाय क्षेत्र अत्यन्तै ईज्जतदार पेशा हो । यो देशको विकासको मेरुदण्डको रुपमा काम गर्ने सौभाग्य निर्माण व्यवसायीले पाएको हुन्छ । राज्यका उच्च अहोदामा रहेका व्यक्तिहरु प्रयोग गर्ने संरचनाहरु पनि यिनै निर्माण व्यवसायीहरुले बनाएका हुन् । कतिपय नबुझेका व्यक्तिहरुले यो मर्यादित पेशालाई धमिलो पार्ने गरेको पाइन्छ । केहिनिर्माण व्यवसायीहरुले पनि गल्तीकमजोरीहरु गरेका होलान् । ति कमजोरीहरु उनीहरुले पनि सुधार गर्दै जानुपर्छ । कयौँ ठाउँहरुमा निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी नपाएर बदनामी हुनुपर्ने अवस्था पनि देखिएको छ । कुनै पनि भौतिक संरचनाको काम राम्रा भएन भने निर्माण कम्पनी अथवा ठेकेदारलाई नै बढी दोष आउने गरेको छ । त्यसमा ईन्जिनियर तथा प्राविधिकहरुले गरेका नापी नक्सा र गलत डिजाईनका कारण पनि संरचना छिटो बिग्रने भत्कने हुन्छ । त्यसैगरी, अर्को समस्या के हुन्छ भने कतिपय ठाउँमा सरकारले टेण्डर गर्दिन्छ, सडकमा बिजुलीको पोल हुन्छ । त्यसलाई हटाएको हुँदैन । अझ कतिपय ठाउँमा घरजग्गा परेर मुआब्जा मागेर बाटो अवरोध गरेको
हुन्छ । यस्ता विभिन्न कारणले निर्माण व्यवसायीहरुलाई लामो समयसम्म झमेलामा अल्झिनु पर्ने हुन्छ । यसले गर्दा म्याद ग्रुजिसकेपछि जरिवाना तिरेर निर्माण गर्नु पर्ने अवस्था हुन्छ । त्यसले गर्दा यस्ता यावत कुराहरुमा सहजीकरण गरेर निर्माण व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण सरकारले बनाई दियो भने व्यवसायीहरुले आफ्नो सिप र क्षमता प्रयोग गर्न सक्ने अवस्था रहन्छ ।









प्रतिक्रिया दिनुहोस्