बाँके ।
कोहलपुरमा निर्माण सम्पन्न भएको लामो दुरीको बसपार्क आज उद्घाटन हुँदैछ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त बसपार्क उद्घाटन गर्ने कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
‘निर्माण सम्पन्न भएसँगै आइतबार बिहान लामो दुरीको बसपार्कको मुख्यमन्त्रीज्यूबाट उद्घाटन हुँदैछ,’ उनले भने, ‘त्यसका लागि हामीले सबै तयारी पूरा गरिसकेका छौं ।’ कोहलपुर नगरपालिकाले बसपार्कको निर्माण सम्पन्न भएसँगै बसपार्क सञ्चालनका लागि ठेक्का सम्झौता गर्नुका साथैभित्र रहेका सटरहरू समेत भाडामा लगाइसकेको छ ।
बसपार्क उद्घाटन समारोहमा मुख्यमन्त्री चौधरीसँगै बाँकेका प्रतिनिधिसभा र लुम्बिनी प्रदेशसभा सांसदहरूको समेत उपस्थिति रहने नगर उपप्रमुख संगीता सुवेदीले जानकारी दिइन् । उनका अनुसार नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयलगायतको समेत उपस्थिति रहनेछ ।
अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’सहितको बसपार्क निर्माण भएको छ । नगर विकास कोषसँगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्कको निर्माण हो ।
बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगर विकास समिति आफैँले लगानी गरेको छ । बसपार्कमा कुल २८ करोडको लगानी छ । वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको छ ।
यसभन्दा अघि २०७९ जेठ ३ गते तत्कालीन कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । सोही बसपार्क आज उद्घाटन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्