प्रतिनिधिसभा बैठकः जेनजी शहीदकी आमाको आँसुदेखि सांसदहरुबीच चर्काचर्कीसम्म



कोहलपुर (बाँके) ।

संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता अनुमोदन भएको छ । मंगलबारको प्रनितिधिसभाबाट सम्झौता सर्वसम्मतिमा अनुमोदन भएको हो । सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा कानुन न्याय तथा सांसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता’माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

लगत्तै समामुख अर्यालले सम्झौता निर्णायार्थ प्रस्तुत गरेका थिए । जसलाई सांसदहरुले सर्वसम्मतिमा प्रस्ताव स्वीकृत गरेको घोषणा सभामुखले गरे । लगत्तै सम्झौतामाथि दफाबार छलफल प्रारम्भ भयो । छलफलमा उठेका प्रश्नहरुको मन्त्री गौतमले जवाफसमेत दिएकी थिइन् । त्यसपछि सम्झौता अनुमोदनका लागि पेस गरेको प्रस्तावसमेत सर्वसम्मतिमा स्वीकृत भएको सभामुख अर्यालले जानकारी दिएका थिए । बैठकमा सभामुख अर्यालले भनेका थिए, ‘हरेक दिनको सभालाई मर्यादित र उत्कृष्ट बनाउने हामीको दायित्व हो ।

प्रतिनिधिसभा नियमावली लागू छ । सोहीअनुसार सभा सञ्चालन भइरहेको छ । सबैलाई नियमावलीको नियम २० र २१ मध्येको पनि २० को खण्ड (ट)सम्बन्धी ध्यानाकर्षण गराउँदछु ।’ प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले संक्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले भावुक सम्बोधन गर्दै आफू प्रतिनिधिसभामा आउनुको पीडा र उद्देश्यबारे प्रष्ट पारेकी छन् । बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा कुनै राजनीतिक रहर वा पदको लालचले नभई न्याय र खोजको यात्रा भएको बताइन् ।

उनले आफ्नो पीडा र संसद् यात्रालाई लिएर गरिएका कतिपय अपमानजनक टिप्पणीप्रति आपत्ति जनाइन् । उनले भनिन्, ‘कसैले मेरो छोराको लासमाथि राजनीति गरेर पद साटेको भन्दै टिप्पणी गर्दा म स्तब्ध छु । मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस् । मेरो छोरा र म त शहीद भयौँ, कमसेकम अब मेरा छोराजस्ता अरू छोराहरूले मर्न नपरोस् ।’ सांसद खतिवडाले सरकारसँग आफ्नो छोराको न्यायको माग गर्दै अब उप्रान्त कुनै पनि आमाले आफ्नो सन्तान गुमाउन नपरोस् भनी सुनिश्चित गर्न ध्यानाकर्षण गराइन् । सम्बोधनको क्रममा सांसद खतिवाडा भक्कानिएकी थिइन् ।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सरकारलाई जेनजी शहीदकी आमाको आँसु पुछ्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार चलाएको ६ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही गर्न नसकेको आरोप लगाए । उनले जेनजी आन्दोलनको दोषीलाई कारबाही गर्न नसके कुर्सीमा बस्ने छुट सरकारको नेतृत्व गर्नेहरूलाई नभएको बताए ।
यस्तै, प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् यज्ञमणि न्यौपाने र नेकपा एमालेका सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतको विषयलाई लिएर दुई सांसदबीच सवाल–जवाफ भएको हो । रास्वपाका सांसद न्यौपानेले सर्वोच्च अदालत परिवर्तनको पक्षमा नदेखिएको भन्दै विगतमा पनि यस्तो देखिएको भनेर प्रश्न उठाएका थिए । न्यौपानेले अदालतप्रतिको गरेको यस्तो टिप्पणीमा एमाले सांसद बरालले नियमापत्ति गर्दै प्रतिवाद गरेका हुन् । जेनजी आन्दोलनका क्रममा अदालतसमेत जलेको स्मरण गर्दै उनले फेरि अदालतबाट अनावश्यक टिप्पणी सैह्य नहुने बरालले बताए । नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँग व्याख्या गरेको भन्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आ–आफ्ना भूमिकामा राखेको बताए ।

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद जगतप्रसाद जोशीले सभामुखमार्फत भजनी, कैलारीलगायत गाउँपालिकामा जनशक्ति र स्वास्थ्य उपकरणको अभाव रहेको भन्दै स्वास्थ्यमा समान पहुँचको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद झबिलाल डुम्रेले स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा अस्पताल निर्माणका लागि आवश्यक समन्वयसहित जग्गा तथा बजेटको व्यवस्था गर्न अनुरोध गरे । सांसद टुकाभद्रा हमालले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै स्वास्थ्य बीमा सबैको पहुँचमा ल्याउन माग गरे । सांसद टीका संग्रौलाले बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणको गति सुस्त रहेको गुनासो गर्दै तीव्र रुपमा काम अघि बढाउन अनुरोध गरिन् । सांसद ठाकुरसिंह थारुले बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण तथा जलवायु परिवर्तनको असरबारे सरकारको ध्यानाकर्षण गराए । सांसद तारा विश्वकर्माले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न माग गरिन् ।

सांसद ताहिर अलि भाटले अतिरिक्त हुलाक प्रतिनिधि तथा पत्र वितरक लगायतको पारिश्रमिक अत्यन्त न्यून रहेको भन्दै सेवा सुविधा वृद्धि गर्न माग गरेका थिए । सांसद दीपकराज बोहराले कञ्चनपुर जिल्लाअन्तर्गत कृष्णपुर नगरपालिकाका विद्यार्थीले अहिले पनि शिक्षा र स्वास्थ्यका लागि जोखिम मोलेर असुरक्षित यात्रा गर्नुपरेको भनी सरकारको ध्यानाकर्षण गराए । सांसद धनेन्द्र कार्कीले काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालक अर्जुन दोङ तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै यातायात क्षेत्रमा भएका विकृति र विसङ्गतिको नियन्त्रण, कडा अनुगमन तथा लापरबाही गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।

सांसद धर्मराज केसीले मस्र्याङ्दी तटमा सम्भावित जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेका हुन् । सांसद पूर्णप्रसाद लिम्बुले बाढी प्रभावित क्षेत्रमा झोलुङ्गे पुल तथा वैकल्पिक सडक निर्माणमा जोड दिए । सांसद प्रकाश गौतमले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रको स्पष्ट सीमा नहुँदा वन्यजन्तु र मानव बस्तीबीच द्वन्द्व कायम रहेकातर्फ ध्यानार्कषण गराए । सांसद प्रकाशचन्द्र परियारले आसन्न चाडपर्वलाई मध्यनजर गर्दै राजमार्गका खाल्डाखुल्डी तत्काल पुर्न, सुरक्षित यात्रा सुनिश्चित गर्न तथा टिकट वितरणलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए भने सांसद प्रदीप विष्टले सुशासन कायम गर्ने सरकारको कदमलाई साथ दिन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सम्बद्ध पक्षसँग अनुरोध गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार