कोहलपुर ।
बाँकेको कोहलपुरमा दश दिनदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो हुने भएको छ । बुधवार राती १२ बजेपछि दश दिनदेखि जारी निषेधाज्ञा हटेसँगै आजबाट कोहलपुर क्षेत्र खुलेको हो । बुधवार बसेको कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ नियन्त्रण व्यवस्थापन समिति बैठकले निषेधाज्ञाको समय थप नगर्ने निर्णय गरेको थियो । कोहलपुर क्षेत्रभित्र जारी निषेधाज्ञा हटेपछि संघिय सरकार र कोहलपुर नगरपालिकाले तोकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा लागु गर्नुपर्नेछ ।
समितिका संयोजक तथा नगर प्रमुख लुटबहादुर रावतले जारी निषेधाज्ञा हटेको जानकारी दिए । ‘समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञा हटेको छ’ उनले भने, ‘बिहीवारबाट स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग व्यवसाय र यातायातहरु खुल्नेछन् ।’ बैठकले कोहलपुर क्षेत्रका व्यवसाय र बैंकहरु समय तालिका अनुसार मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । बैठकले व्यवसाय र बैंकहरु खुल्ने बारहरु तोकिदिएको छ ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार आईतवार, बुधवार र शुक्रवार किराना पसल, मासु, भाडावर्तन, तरकारी, फलफुल, साईकल, शोरुम, ईलेक्ट्रोनिक्स, मोबाईल तथा कम्प्युटर र बिजुली पसल सञ्चालन गर्न पाईनेछ । सोमवार, मंगलवार, बिहिवार र शनिवार कपडा, फेन्सी, जुत्ता चप्पल, कस्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरीङ, सुन र गहनाका पसल खोल्न पाइने सूचनामा उल्लेख रहेको छ । त्यसैगरी आईतवार, मंगलवार र बिहिवार बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आउन पाउनेछन् । नगर प्रमुख रावतले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रेष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन विहान ७ बजेदेखी बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिए ।
‘व्यवसाय सञ्चालन गर्दा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नगरपालिकाले निर्धारण गरेको स्वास्थ्य सम्बन्धि मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’ उनले बैठकपछि मिसन टुडेसँग कुरा गर्दै भने, ‘अनुगमन समितिले बजार अनुगमन तथा मुल्याङ्कन गर्दा स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा नगरेको देखिएमा संक्रामण रोग निवारण सम्बन्धि ऐन, २०२० बमोजिम कारवाही गर्न सक्नेछ ।’ उनले सबैलाई तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरे । बैठकले आजदेखि कोहलपुर क्षेत्रभित्र चल्ने सबै सवारीमा जोड विजोड प्रणाली समेत लागु गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले आज बिहीवार विजोर नम्बर प्लेटका सवारी साधन मात्र चल्न पाउने बताए ।
‘यहाँ चल्ने सार्वजनिक तथा निजी सबै सवारी साधनले जोड विजोर प्रणाली पालना गर्नुपर्नेछ’ उनले भने, ‘नियम उल्लंघन गर्नेलाई नियम अनुसार कारवाही गरिनेछ ।’ यो नियम अनुसार जोड नम्बरका सवारी साधन जोड दिन र विजोर नम्बरका सवारी साधन विजोर दिन सञ्चालन गर्न पाउनेछन् । साथै व्यवसायी तथा ग्राहकहरुले अनिवार्य रुपमा मास्क, स्यानीटाईजर, सामाजिक दुरी लगायतका स्वास्थ्य सम्बन्धि मापदण्ड अनिवार्य रुपले पालना गर्नुपर्ने नगर उप–प्रमुख सञ्जु कुमारी चौधरीले जानकारी दिइन् ।
कसैले पालना नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने उनले बताइन् । कोहलपुरमा समुदाय स्तरमा नै कोरोना संक्रमितहरु भेटिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणको लागि भन्दै निषेधाज्ञा जारी गरिएको थियो । दश दिन लामो निषेधाज्ञाबाट आजित भएका व्यवसायी तथा स्थानीयहरुको चर्को विरोध गरेपछि नगरपालिका निषेधाज्ञा हटाउने निर्णयमा पुगेको हो । नगर क्षेत्रका सरकारी तथा गैर सरकारी कार्यालयहरु समेत आजैबाट सञ्चालन हुनेछन् । कार्यालयहरु पनि अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्