कोहलपुर ।
नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक संस्था ई–सेवा र बाँकेको बैजनाथ गाउँपालिकामा रहेको सामुदायिक विद्युत सहकारी संस्था बिच अनलाइन भुक्तानी गर्ने सम्झौता भएको छ । विद्युत महशुल अनलाइन भुक्तानी गर्ने सम्बन्धमा ई–सेवा बाँकेका प्रमुख महेन्द्र राना र सहकारी संस्थाका अध्यक्ष शेर बहादुर बस्नेत बिच सम्झौता पत्रमा हस्ताक्षेर भएको हो । दुई संस्था विच अनलाइन भुक्तानी सम्झौता भएसँगै अब सहकारीले प्रदान गर्दै आइरहेका विभिन्न सेवाहरुमध्ये विद्युत महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।
कोरोना कहरका विच अहिलेको अप्ठेरो परिस्थितिमा घरमै बसी बसी सुरक्षित तवरले आफ्नो विद्युतको महशुल भुक्तानी गर्न सकिने संस्थाका अध्यक्ष बस्नेतले बताए । उपभोक्ताहरुले अनलाइनबाटै विद्युत महशुल भुक्तानी गर्न सक्ने भएपछि समय र पैसा दुबैको समेत बचत हुने उनको भनाई छ । यो सेवालाई अधिकतम सदुपयोग लाभ लिन अध्यक्ष बस्नेतले सबै उपभोक्ताहरूलाई अनुरोध समेत गरेका छन् ।
सहकारीले बैजनाथ गाउँपालिका–२ डिगिया क्षेत्रमा उपभोक्ताहरुको घरदैलोमा नै गएर विद्युत सेवा प्रवाह गर्दै आइरहेको छ । विद्युत महशुल भुक्तानी, मिटर जडान, मर्मत सम्भार लगायतका सेवाहरु प्रदान गरिरहेको छ । करिब एक हजार तीन सय शेयर सदस्य तथा २ हजार ५ सय उपभोक्ताहरु रहेको सहकारीले बचत तथा ऋणको कारोवार पनि गर्दै आएको छ । सहकारीमा आवद्ध शेयर सदस्य, उपभोक्तासँगै अन्य व्यक्तिहरुले पनि बत्तीको बिल अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
पहिले अफ लाइनबाट सेवा प्रदान गर्दै आइरहेको सहकारीले ई–सेवासँग अनलाइन सम्झौता गरेसँगै विद्युतको महशुल भुक्तानी सेवा कार्य अनलाई सुरु गरेको सहकारीले जनाएको छ । यसअघि बाँके जिल्लामा कोहलपुर खानेपानी, खजुरा खानेपानी लगायत ६० भन्दा बढि स्कुल तथा कलेजको फि ई–सेवाबाटै अनलाइन भुक्तानी ई–सेवा बाँकेका प्रमुख महेन्द्र रानाले जानकारी दिए ।
ई–सेवाका देशभर ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । अहिले ई–सेवाकै माध्यमबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्