बाँकेका शिक्षकहरुका सात दिने अनलाइन तालिम शुरु



कोहलपुर/  बाँकेमा अंग्रेजी भाषा शिक्षण गराई रहेका शिक्षकहरुका लागि सात दिने प्राविधिक क्षमता विकास तालिम सुरु गरिएको छ । नेपाल अंगेजी भाषा शिक्षक संघ (नेल्टा) को आयोजनामा आइतबारदेखि तालिम सुरु भएको हो । लकडाउनका कारण विद्यालयको पठनपाठन बन्द रहेको अवस्थामा अनलाइनका माध्यमबाट शिक्षण सिकाइ कार्य सञ्चालन गर्न शिक्षकहरुको प्राविधिक ज्ञान सिप तथा क्षमता अभिवृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको नेल्टा बाँकेका उपाध्यक्ष टर्क बहादुर खत्रीले जानकारी दिए ।‘कोरोनाका कारण अहिले सबै विद्यालयको पठनपाठन बन्द छ ।’ उनले भने, ‘यो समयमा अनलाइनका माध्यमबाट कसरी शिक्षण गराउने भन्नका लागि शिक्षकहरुको प्राविधिक क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो ।’ जुम एप्सका माध्यमबाट सञ्चालन गरिएको तालिम अंगेजी मात्र नभई सबै विषयका शिक्षकहरुको लागि प्रभावकारी हुने उनले बताए ।

नेल्टाका राष्ट्रिय अध्यक्ष मोतिकला सुब्बा देवानले नेल्टा बाँकेले देशकै नमुना शाखाको रुपमा काम गरिरहेकाले भन्दै विषेश धन्यबाद दिइन् । कर्यक्रममा कोहलपुर नगरशिक्षा प्रमुख अनन्त कुमार पौड्यालले नेल्टाले गरेका कार्यक्रमले सरकारलाई नै सहयोग पुग्ने गतिविधिहरु गरेकाले नगर शिक्षाको पनि सहयोग प्रतिबद्धता जनाए । यस्तै नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख गोरख बहादुर थापाले स्थानीय तहमा अनलाइन शिक्षा सञ्चालन गर्न आफूहरुले नेल्टासंग सहकार्य गर्ने बताए ।

त्यसैगरी, सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बाँकेका अध्यक्ष बाबुराम अधिकारीले नेल्टाले सञ्चालन गरेको तालिम अहिलेको विषम परिस्थितिमा शिक्षकहरुका लागि अतिउपयोगी हुने विचार व्यक्त गरे । आइतबार पहिलो दिन तालिमको उद्घाटन सत्रपछि मध्यपश्चिम विश्वविधालयका उप–प्राध्यामपक यदु प्रसाद ज्ञवाली र नेल्टा कपिलबस्तुका गोबिन्द राज पोख्रेलले दुई वटा सेसन सञ्चालन गरेका थिए । जुम एप्सबाट प्रमोद सुवेदीले स्वागत मन्तव्य राखेर सञ्चालन गरिएको तालिम थियो । नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमा करिब एक सय जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम सात दिनसम्म दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुने छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार