सुरु भो नरैनापुरमा विद्युत् विस्तारको काम



केही महिनादेखि रोकिएको विद्युतिकरणको काम बिहीबारबाट पुनः सुचारु भएको हो । लक्ष्य अनुसार काम अगाडि बढेका बढीमा १५ दिनसम्म लक्ष्मणपुर स्वास्थ्य चौकीसम्म बिजुली पुग्नेछ । कुनै पनि बहानामा काममा ढिलाई नगर्न सांसद नमुना र प्रमुख जिल्ला अधिकारी लगायतले निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।
……………………………………………
नरैनापुर (बाँके) ।

बाँकेको नरैनापुर गाउँपालिकामा विद्युत् विस्तारको काम पुनः सुरु भएको छ । लकडाउनका कारण रोकिएको काम बिहीबारबाट पुनः सुचारु भएको सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ले जानकारी दिए । केही दिन पहिले मात्र सांसद नमुनाको पहलमा लकडाउनको अवधिमा काम थाल्न र मजदुर ल्याउनको लागि रेनु कन्ट्रक्सनलाई जिल्ला प्रशासनले स्विकृती दिएको थियो । अहिले नरैनापुरको मटेहियासम्म विद्युत् विस्तारको काम सम्पन्न भइसकेको छ । लकडाउनका कारण दुई महिनादेखि रोकिएको विद्युतिकरणको काम बिहीबारदेखि सुरु भएको हो ।

स्थानीय प्रशासनले काम गर्ने अनुमती दिएसँगै मजदुरहरुको व्यवस्थापन गरेर कामको सुरुवात गरिएको रेनु कन्ट्रक्सनका प्रतिनिधि त्रिलोक धितालले जानकारी दिए । ‘हामीले केही महिनादेखि रोकिएको काम बिहीबारबाट सुरु गरेका छौं’ उनले भने, ‘काम गर्ने क्रममा कुनै अवरोध नआएमा १५ दिनभित्र आइसोलेसन बनाउने भनेको स्थानसम्म लाइन पुग्छ ।’ बिहीबारबाट सुरुको चरणमा १२ जना मजदुर ल्याएर कामको सुरुवात गरिएको धितालले बताए । ‘यहाँ काम गर्नको लागि मजदुर पाउन गाह्रो भइरहेको छ’ उनले भने, ‘आवश्यकता अनुसार मजदुरको व्यवस्था हुन सके १५ दिन भन्दा पहिले नै बिजुली पुग्छ ।’ अहिले पोल गाडेका साढे दुई किलोमिटर क्षेत्रमा तीन दिनभित्र तार तानेर सकिने उनले जानकारी दिए ।

‘पोल गाडेका साढे दुई किलोमिटर क्षेत्रमा तार तान्न कुनै समस्या छैन’ प्रतिनिधी धितालले भने, ‘बाँकी पाँच किलोमिटर क्षेत्रमा पोल गाड्न बाँकी छ । त्यहाँ पोल गाडेर तार तान्नुपर्छ ।’ पोल गाड्नका लागि मेसिन अहिले उपलब्ध हुन नसकेकाले कारणले समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ । बुधबार तत्काल नरैनापुरमा विद्युतिकरणको काम अगाडी बढ्न नसक्ने भनेर आएको समाचारबारे आफुहरुलाई कुनै सरोकार नभएको धितालले बताए । ‘समाचार के आयो कसरी आयो हामीलाई केही थाहा भएन’ उनले भने, ‘हामीले जसरी पनि यहाँ विद्युतीकरणको काम १५ दिनभित्र नै सक्छौं ।’ बिहीबार नरैनापुरमा विद्युत् विस्तारको अनुगमन गर्न पुगेका प्रदेश सांसद नमुना र प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ समक्ष कम्पनीका प्रतिनिधीले यस्तो समस्या दर्साएका थिए । निर्माण कम्पनिले देखाएको समस्याको हल भइसकेको सांसद नमुनाले जानकारी दिइन् ।

‘हामी फिल्डमा जाँदा निर्माण कम्पनीका प्रतिनिधीहरुले पोल गाड्ने मेसिनको समस्या रहेको बताउनुभयो’ उनले भनिन्, ‘हामीले विद्युत्को क्षेत्रीय कार्यालयसँग समन्वय गरेर मेसिनको समेत व्यवस्थापन गरिदिएका छौं ।’ अनेक बहानामा विद्युत् विस्तारको काम रोक्न नपाइने उनले बताइन् । ‘कोरोनाको हटस्पट बनेको नरैनापुरमा जती सक्यो चाँडो बिजुली बत्ति पु¥याउनुपर्ने हाम्रो बाध्यता छ’ सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले भनिन्, ‘अब भेटिएका संक्रमितहरुलाई बाहिर होइन यहाँ नै आइसोलेसन बनाएर राख्नुपर्छ । त्यसरी लागि जसरी पनि विद्युत् जतिसक्यो चाँडो बन्नुपर्छ ।’ यसका लागि आफु यहाँको निर्वाचित जनप्रतिनिधी भएकाले जुनसुकै पहलकदमी लिन तयार रहेको प्रतिबद्धता जनाइन् ।

‘शुक्रबार बिहानै गोल गाड्ने मेसिन नरैनापुर जान्छ’ समस्या परेका ठाउँमा सहजिकरण गरिदिन म तयार छु उनले भनिन्, ‘अब कुनै पनि हालतमा काम रोकिदैन ।’ गाउँपालिकामा कोरोना संक्रमितका विरामीहरु धेरै भेटिन थालेपछि लक्ष्मणपुरमा रहेको स्वास्थ्य केन्द्रमा आइसोलेसन बनाउने निर्णय गरिएको थियो । बिजुली वत्ति नभएका कारण निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले पनि रोकिएको विद्युतिकरणको काम सुचारु भइसकेको बताए ।

‘केही महिनादेखि रोकिएको नरैनापुरको काम बिहीबारबाट सुचारु भएको छ’ उनले भने, ‘कार्यालयले आवश्यक ठाउँमा त्यसको लागि समन्वय गरिरहेको छ ।’ निर्माण कम्पनिलाई काम गरे अनुसारको भुक्तानि दिने प्रक्रिया समेत अगाडि बढाइएको प्रमुख ठाकुरले बताए । अहिले विद्युत्को मेन लाइन तान्ने काम भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधी धितालले सकेसम्म अब मजदुर थपेर कामलाई अझै तिव्रता दिइने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार