– महानन्द ढकाल
मुलबाटोमा थियौं हामी । गुलरीया कोठिघाट रोड भनेर चिनिन्छ यो बाटोलाई । बाटो चौडा थियो । चौडा बाटोमा गडीको गति अति हुने गर्छ । हाम्रा गाडीहरुले पनि गति लिन थालिसकेका थिए । बाटोमा भिडभाड थिएन । खुल्ला बाटामा यात्रा गर्नुको मजा यात्रा गर्नेलाई मात्रै थाहा हुन्छ । बाटा वरिपरि पाकेका धान बाली अवलोकन गर्दै ओराली बजारको ओराले झर्दा आनान्दानुभूत भएको थियो ।
दश बज्न केही मिनेट बाँकी थियो । हामी नेपालको सबैभन्दा लामो पुल गेरुवा पुलमाथि थियौं । टापुको रुपमा छुट्टिएको राजापुरलाई यही पुलले जोडेको थियो । पुल बन्नु पूर्व हिउँदमा सञ्चालनमा रहने गरेका ड्रमका पुलहरु किनारामा थन्किएका थिए । पुल वारिबाट पारिसम्म राम्रोसँग देखिदैनथ्यो । करिव पौने दुई कि.मि. लामो पुलमा मानिसहरु रमाइरहेका थिए । हामीले पनि आ–आफ्नो इच्छा अनुसार फोटाहरु खिच्यौंं । भिडियो बनाउनेले भिडियो बनाउँदै हुनुहुन्थ्यो । तानी मेमले दुबै गर्न भ्याउनु भयो ।
गेरुवा पुलबाट उत्तरतिर ताना शर्माले वर्णन गरे भैंm कपास बिच्छ्याइएको जस्तै काँस सेतै फुलेको थियो । लाग्दै थियो तारानाथ शर्मा घुमेको समय र हाम्रो समय एउटै परेछ । कति मजाले हाँसेको किनारैभरि काँस ? ‘काँस होइन यो, हाँस हो हाँस । किनारमा बसेर आपूm पनि हाँसेको छ र हसाँएको छ दुनियालाई ।’ बद्री ढकालको कुरामा ‘लजिक’ थियो । हामी हाँस्यांै मात्रै । हामीले हाँस भन्दैमा अरुले हाँस भन्नेवाला पनि थिएनन् । त्यसैले हाँसेरै काँस हेर्नमा मजा लाग्यो हामीलाई ।
पुलमुनिबाट पानी एक तमासाले बगिरहेको थियो । कति हतारो है पानीलाई ? कसैले रोकेर पनि नरोकिने, कसैले छेकेर पनि नछेकिने । वर्षौदेखि किनारका साँक्षी बनेर हेरिरहेका थिए रुखहरुले पनि । हामीसँग वनपैदवार कति छ कति ? सदुपयोगको खाँचो टट्कारो छ । यो भएन र त्यो भएन भन्नेमा नै हाम्रो समय कटिरहेको थियो । नागरिक जिम्मेवारीको पाठ कम नेपालीले मात्रै सिकेका छन् जस्तो लाग्छ । ‘नपाउँदा आत्तिने र पाउने बित्तिकै मात्तिने’ नेपालीहरुको स्वभाव राजनैतिक परिवर्तन सङ्गै परिवर्तन हुनुपथ्र्यो तर भएन जसको कारण जुन सरकार आएपनि समस्याहरु बीसको उन्नाईस हुन सकेका छैनन् ।
हामी पुल तरेर राजापुर क्षेत्रमा प्रवेश गरेका थियांै । बाटो चौडा नै थियो । दुबैतिर नाला बनाउने र पिच गर्ने काम पनि धमाधम हुँदै रहेछ । मङ्सिरको महिना खेती थन्माउने महिना थियो । किसानहरु खेतमा रमाइरहेमा थिए । राजापुर क्षेत्र यस स्थानको असली परिचय थियो । गेरुवा नदी पारिको समग्र क्षेत्रलाई राजापुर भनेर चिनिए पनि यो क्षेत्र गेरुवा गाउँपालिका र राजापुर नगरपालिका मिलेर बनेको थियो । यो क्षेत्रमा पहिला एघार गा.वि.स. हरु थिए । कर्णाली नदी तराइको भूभागमा करिव ६ कि.मि. बगेपछि कर्णाली र गेरुवा दुई नदीमा विभाजन भएपछि बनेको टापु हो यो । कर्णाली नदी किन फुट्यो ? फुट्नुका कारणहरु के के हुन सक्छन् ? पुनः यो नदी एउटै बाटोमा हिड्ला कि नहिड्ला ? आदि विषयमा विभिन्न अनुसन्धानहरु हुने गरेका छन् । कर्णाली नदी विभाजन हुनुका कारणहरुमा केही किम्बदन्तीहरु पनि रहेछन् ।
जस अनुसार ‘ओखरियाबाँध (जसलाई दोमुख पनि भनिन्छ) मा एउटा ठूलो ढुङ्गा दबेको छ । यो ढुङ्गालाई भगवानको मच्छेरुप पनि मानिदो रहेछ । यही माछाले नदीलाई विभाजन गरेको हो । माछाले ढाड फर्काउँदा कहिले गेरुवामा त कहिले कर्णालीमा पानी बढी हुन्छ ।’ कसै कसैले ‘दोमुखमा दुई श्रीमान श्रीमती छन् । कहिलेकाही यिनीहरुका बीचमा झगडा पर्छ जसको फलस्वरुप पानी बाँडफाँडमा तलमाथि हुन्छ’ भन्ने पनि रहेछ ।
कर्णाला नदी फुट्नुको मुख्य कारण के हो जस्तो पनि लाग्छ भने पहाडबाट बगेको कर्णालीको वहावले कुनै बेला अति ठूलो ढुङ्गा बगाएर ल्यायो । समथरमा बग्दै केही तल आएपछि नदीको वाहव कम हुन पुग्यो र बग्दै आएको ठूलो ढुङ्गा बग्न छोड्यो । यही ढुङ्गाको यता र उताबाट पानी बग्ने क्रमसँगै राजापुर टापु बनेको हुनु पर्छ । पानीको मात्रा कहिले गेरुवामा बढी त कहिले कर्णालीमा बढी देखिनुका आफ्नै किसमका कारणहरु होलान् नै तर गेरुवा (केठीया) को पुल बनेपछि भने केरुवामा पानीको मात्रा कम आउने गरेको छ भन्ने सुनियो । वास्तवमा यो क्षेत्र घुम्ने बेला यही रहेछ । यो क्षेत्रलाई राजापुर नभनेर पहेंलपुर भन्न मन लाग्यो मलाई । जताततै पहेलैं ।
कतै ठाडो धान पहेलो, कतै ढालेको धान पहेंलो । राजापुर क्षेत्रलाई अन्नको भण्डार त्यसै भनिएको रहेनछ । मैले सुनेको धान मात्रै होइन यहाँ त गहुँ, मकै, तोरी लगाएत अन्य गेडागुडी पनि उत्तिकै उब्जनी हुन्छ रे । मिलेका फाँटहरु देख्दै लोभ लाग्ने । मलिलो वलौटे माटो कृषिका लागि वरदान नै सावित भएको थियो । कृषिमा प्रविधिलाई भित्राउन सक्ने हो भने राजापुर क्षेत्रले मात्रै पनि कयौ जिल्लाको खाद्यन्न समस्या सामाधान गर्न सक्ने देखिन्छ तर कृषिमा प्रविधि कहिले पो भित्रने हा ?
धानका फाँटहरु हेर्दै हामी राजापुर बजार पुग्यौं । गेरुवा पुलबाट राजापुर १२ कि.मि थियो । हामी राजापुर पुग्दा ११ः०५ भइसकेको थियो । हामी ११ः३० सम्म टिकापुर पुग्नै पर्ने थियो । टिकापुर पुग्न अभैm १७ कि.मि. बाँकि थियो । रापापुरको नामसङ्गै मेरो मनमा आउने मुख्य दुई ओटा नाम हुन् प्रकाश राजापुरी र जे.वि.अनुरागी । प्रकाश राजापुरीको स्वर्गारोहण भएको पनि एक दसक बढी भइसकेको थियो । राजापुरीलाई मनैदेखि श्रदासुमन टक्राएँ ।
राजापुर क्षेत्रमा मिठ्ठनलाल गुप्ता र माडस्याप् नामले परिचित उनी साहित्यका क्षेत्रमा प्रकाश राजापुरीका नामले परिचित थिए । उनी गजलको क्षेत्रमा देश विदेशले मानेका गजलकार थिए । उनको गजल वाचन शैली वास्तवमै वेजोड थियो । अहिले देशका अधिकांश गजलकारहरु राजापुरीकै वाचन शैलीमा हिडिरहे जस्तो लाग्छ । जे.वि.अनुरागी राजापुरलाई कर्मथलो बनाएर साहित्यको खेती गरिरहेका एक साधक थिए । उनको अगुवायीमा धेरै कार्यक्रम भएका थिए राजापुरमा । उनलाई फोन नगरी हिड्न मनले मानेन । असाध्यै भोक लागेको थियो । एलिषा कंडेल र सुमन गोदार नयाँ जोडी थिए । नयाँ नयाँमा अलिबढी सर्मपण हुने गर्छ नै एक आर्कामा । एलिषाले भोक खप्नै नसकेर सुमनलाई खनखन गर्दै थिइन् ।
टिकापुरमा नै खाना खाने सल्लाह भइसकेको थियो ।
चिया नास्ता खाने सोचले राजापुर चोक नजिकैको रेष्टुरेन्टमा छि¥यौं तर नास्ता बनाइदिन मन गरेनन् कसैले । जुन होटलमा गयो उही समस्या, खाना पाइने नास्ता नपाइने । बद्री ढकाल होटल होटल सोध्दै हिड्नु भयो । धन्न एउटा होटलले कामचलाउ नास्ता खुवाउने भयो । होटलबाटै जे.वि.जीलाई फोन लगाएँ तर उहाँ त नेपालगञ्ज जानु भएको रहेछ भेट हुन सकेन । हामीलाई पनि खल्लो लाग्यो । जे.वि.जी त झनै चुकचुकाउनु भयो ।
हामी राजापुर भङ्गालोमा थियौं । यो स्थानलाई शत्ती घाट भनिन्छ । कर्णाली नदी हो यो । ओखरियाबाँधबाट केही पानी फुटेर गेरुवा नदीमा गयो केही यता । नेपालको सबैभन्दा लामो नदी । हिउँ पग्लेर बनेको सुन्दर र निर्मल नदी । नेपालको एक मात्रै डल्फिन पाइने नदी । धेरैलाई जीवन दिएको छ यो नदीले । कुनै बेला हिडेरै तर्न सकिन्थ्यो रे यो नदी । केही वर्षदेखि बाह्ैमास किस्ती पनि चल्दो रहेछ । गेरुवा नदीमा पुल बनेदेखि पानीको मात्रा कहिल्यै घटेन रे । यता पुल बन्नु र यता पानी नघट्नुमा त खासै कारण देखिदैन तर किन घटेन कसै न कसैले अनुसन्धान गर्दै होला नै । राजापुर कर्णालीको काखमा थपक्क बसेको छ । मलजल गरेको छ राजापुरलाई कर्णालीले । अन्नको वरदान पाएको छ ।
परिश्रमी हातहरुको साथ पाएको छ । भाग्यमानी हो राजापुर । एकापट्टि नेपालकै लामो पुल गेरुवा नदीको पुल र अर्कोतिर नेपालकै लामो नदी कर्णाली । यही भग्यमानी स्थानमा पुगेका थियौं केही भाग्यमानी मनुवाहरु । कर्णालीमाथिको पुलमा केही फोटाहरु खिच्यौं । भिडियो बनायौं । राजापुरलाई सम्मानपूर्वक नमन गर्दै उत्तर पश्चिमतिर हानियौं हामी ।
बाँकेबाट हिडेका हामी बर्दिया छिचोलेर कैलाली पुगिसकेका थियौं । कैलाली पुग्दा साढे एघार बज्नै लागेको थियो । साढे एघारमा टिकापुर पुग्नै पथ्र्यो तर सकेनौं । साथीहरु कुरिरहेका होलान् भन्ने लाग्यो । निर्दोष डेविटलाई फोन लगाएँ । कैलाली टेकेको जानकारी दिएँ । ‘कार्यक्रम बाह् बजेको आसपासबाट सुरु गरौंला’ भन्ने डेविटको उत्तरले ढुक्क बनायो । हाम्रो यात्रा जारी थियो ।
हामी हिड्दै गरेको बाटोले धनगढी ताकेको थियो । बाटोदेखि उत्तरतिर सत्ती नामको पूरानो बजार पथ्र्यो । सत्ती घाटमा रहेको यो बजार सङ्कटकाल सँगसँगै करिव करिव लोप नै भयो । रानी पद्यमा कुमारी शाह राजाको मृत्युमा सती गएको स्थान भएकोले सत्ती घाट भनिएकोले यस स्थानलाई । यो घाटमा एउटा पूरानो शिवको मन्दिर छ । शिव मन्दिरमा अनीवार्य रुपमा शिवलिङ्ग हुन्छ नै । कुनै पनि शिव मन्दिरमा हुने शिवलिङ्गको जलधारा उत्तरतिर फर्किन्छ । विश्वमा यही शिव मन्दिर मात्रै हो जहाँ शिवलिङ्गको जलधारा पूर्वतिर फर्केको छ । यसलाई यहाँको विशेषता मानिएको रहेछ । पछिल्लो समय त यस ठाउँको सम्बन्ध बुद्धि सागरको नामसङ्ग मात्रै जोडिन थालेको थियो । कर्णाली ब्लुजमा उनले सत्ती र कटासेको सम्झना राम्रैसङ्ग गरेका छन् । कुनै बेला ब्यापारिक केन्द्र थिए यी बजारहरु । कर्णाली लम्की हुदै पूर्व पश्चिम बाटो हुइकिएपछि इतिहासमा मात्रै सीमित भए कुनै बेलाका चर्चित पुरानो बजारहरु ।
कतै धान खेती त कतै उखुबारी हेर्दै जङ्गलको किनारै किनार हिडेका हामी धनगढी जाने बाटो छोडेर उत्तरतिर मोडियौं । हाम्रो गन्तब्य टिकापुर थियो । साँघुरो बाटो र पातला बस्तीहरु पार गर्दै हामी टिकापुर पुग्यौं । टिकापुरले हामीलाई रुघेर बसेको थियो । उसो त टिकापुर पश्चिमको एक पर्यटकीय नगरी । टिकापुर बगैंचा सबैको महत्वपूर्ण केन्द्रबिन्दु । थरिथरिका पूmलहरुले सिङ्गारिएको क्षेत्र । पूर्व राजखान्दानले मन पराएको क्षेत्र । राजखान्दानको विश्राम स्थल । नेपालको सबैभन्दा ठूलो बर्गैचा हो टिकापुर पार्क । १५० हेक्टर क्षेत्रफलमा पैmलिएको यो बगैंचाभित्र बिरेन्द्र विश्राम, महेन्द्र आरोग्य केन्द्र, रत्न बाटिका, ऐश्वर्या बाटिका रहेका छन् । विभिन्न प्रजातिक पूmलहरुले सुन्दर देखाउने यस बगैंचामा ८० प्रजातिका गुलावहरु पर्यटकहरुलाई स्वागत गरिरहेका हुन्छन् । टिकापुरको शान हो टिकापुर पार्क ।
टिकापुर बगैंचाले मात्रै साख जोगाएको थियो टिकापुरको । २०७२ भदौ ७ को को टिकापुर काण्डले कतिपय ठूला व्यापारीहरु विस्थापित भएका थिए । बजारको रौनक नै फुङ्ग उडेको थियो । आठ जनाको निर्मम तरिकाले हत्या भएको थियो भने कयौं हताहत भएका थिए । थरुहट आन्दोलनमा घुसपैठ भएकोले यस्तो घटना घट्न पुगेको भन्ने भनाइ रहेको
छ । शाहवंशीय साशन प्रणालीको अन्त्यसङ्गै कम महत्व पाउन थालेको थियो टिकापुरले । झन् २०७२ भदौ ७ को टिकापुर काण्डपछि नराम्रोसङ्ग थलिएको टिकापुर जुर्मुराएर उठ्ने प्रयास गर्दै रहेछ । बाटाघाटाहरु चौडा हुदै रहेछन् । नाली पुलपुलेसाहरुको निमार्ण कार्य जारी रहेछ । टिकापुर पुनः सबैको मन वहलाउने स्थान बन्न सकोस् शुभकामना ।










प्रतिक्रिया दिनुहोस्