कोहलपुर ।
भारतको हैदराबादका संैयत खासिमको परिवार २५ दिन देखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएको उनको परिवार अहिले लकडाउनको मारमा परेको छ ।
खासिमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनीको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात जनाको परिवार तीन साता देखि बेवारिसे रुपमा त्रिपालको बास बसिरहेका छन् ।
उनीहरु नेपालको विभिन्न स्थानबाट आफ्नो देश भारत जनाको लागि चैत्र पहिलो साता कोहलपुर आएका थिए । तर कोरोना भाइरसका कारण जारी गरिएको लकडाउनका कारण उनीहरु आफ्नो देश जान पाएनन् ।
२५ जनाको संख्यामा रहेका उनीहरुले १६ जनाको रेलको टिकट समेत काटिसकेका थिए तर क्यान्सिल भयो । नेपालको रुपैडिया नाकाबाट हैदराबाद पुग्न रेलमा पाँच दिन लाग्छ । ‘हाम् आफ्नो देश जान की आएको थियो, लकडाउनका कारण यही रोकियो ।
अलि अलि कमाएको पैसा पनि सकियो, बहुत समस्या भइसक्यो ।’ अब्दुर रहमान भन्छन् । उनका अनुसार अलि भएको रुपैयाँ टिकट मै खेर गयो भने बाँकि रकम यो बीचमा खाएर सकियो ।
अझै लकडाउन लम्बिएको खण्डमा आफूहरुलाई निकै समस्या हुने उनले बताए । आफू जस्तै जनाको परिवार भोकभाकै बस्नु पर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । ‘कोरोनाले न आफ्नो घर जान पाइयो, न यहाँको सरकारले हामीलाई सहयोग गरेको छ, हामीलाई त समस्या आइसक्यो’ अर्का भारतीय नागरिक मोहम्मद अलि भन्छन् ।
श्रीमान र श्रीमतीले जेनतेन भोक टार्ने गरेको भएपनि सानु बच्चा भोकले मर्ने अवस्था सिर्जना भएको उनले बताए । राहतको लागि वडा पालिकामा नाम लेखाएको भएपनि एक साता हुदाँ समेत राहत नपाएको अलिले जानकारी दिए ।
‘हामी नजिकै बसेको दाईले वडाले राहत दिन्छ भनेर नाम लेखाएका थिए, खै राहत अझै आएको छैन’ हुसेन बि भन्छिन्, ‘यहाँको सरकारले राहत दिन्छ भन्थे अझै दिएका छैनन् । दिएको भए कम्तिमा खान त पुग्थ्यो , हाम्रो अलि अलि कमाएको पैसा पनि सकियो ।
निकै समस्या परिसक्यो ।’ नयाँ वर्षको दिन अलि भएको खानेकुरा बाँडेर खाने गरेको पनि उनले बताइन् । आफूहरु एक दुई दिन वडा कार्यालय गएको भएपनि नागरिकता माग्ने गरेको उनले गुनासो गरिन् ।
भन्छिन्, ‘हामी त भाडाकुडा बनाएर खाने मान्छे, सबै कागजजात उतै छ, के गर्ने हामी त भोकभोकै त्रिपालको बाँसको बाँस भएको छ । लकडाउन छ कसरी ल्याउने नागरिकता ।
हामीलाई राहत उपलब्ध गराई दिए पुग्थ्यो ।’ उनी केही वर्षदेखि दाङमा भाडामा बस्छिन् । तर भारत जान आएको बेला उनी जस्तै २५ जनाको टोली यहीँ लकडाउनको मारमा परेको हो । अहिले सम्म आफ्नो कमाईको पैसाले गुजारा चलाएको तर दिनप्रतिदिन लकडाउन लम्बिएका कारण पैसा सकिएको उनले जानकारी दिइन् ।
उनीहरुले आफूलाई यहाँको जति राहत दिएपनि खुसी भएर लिने बताएका छन् । उनीहरुको बिचल्ली देखेपछि यहाँका केही व्यक्तिले पनि केही खानेकुरा सहयोग गर्न थालेका छन् ।
यहीँ कै केही व्यक्तिहरुले वडा पालिकामा नाम लेखाएको भएपनि राहत पाइएको छैन । उनीहरु सबै मुस्लिक समुदायका हुन् । यति बेला उनीहरुको मुख्य पर्वको समय भएपनि त्रिपालमा बस्नु परेको उनीहरुले बताएका छन् ।
यता वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले उनीहरुको पनि राहतको लागि नामावली संकलन गरिएको र नगरपालिकाले दोस्रो चरण वितरण गर्ने राहतको बेला वितरण गर्ने बताए । उनले दोस्रोे चरणमा १५ सय जना भन्दा बढी नागरिकको नामावली सकंलन गरिएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्