कोहलपुर ।
बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालका लागि आवश्यक पर्ने साम्रगी माग गर्ने निर्णय गरिएको छ । ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा शनिबार अस्पतालमा बसेको बैठकले आवश्यक साम्रगीहरु माग गर्ने निर्णय गरेको हो । कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन समितिको बैठकले खजुरामा तयार भएको ४९ बेडको अस्पताल सञ्चालनका लागि आवश्यक सबै सामाग्री माग गर्ने निर्णय गरेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।
आवास, भोजन तथा यातायात व्यवस्थापन समितिका संयोजक समेत रहेका उनले अस्पताल सञ्चालनका लागि थप स्वास्थ्य सामाग्री, औजार, उपकरण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि आवश्यक रकम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको बताए ।
आइसोलेसनमा रहने बिरामी, उपचारमा संलग्न स्वास्थ्यकर्मीको लागि वास, खाना तथा यातायात, अस्पताल सञ्चालन प्रशासनिक खर्च, जेनेरेटर, पिपिइलगायत विविध खर्चको लागि माग गरिने निर्णय भएको कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य डा. बद्री चापागाईंले जानकारी दिए ।
केही दिनअघि ५ नम्बर प्रदेश सरकारले बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताललाई कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा बनाउने निर्णय गरेको थियो । शनिबारको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, समितिका संयोजक डा. प्रकाश थापा, डा. सुरेश कनोडिया, आवास, भोजन तथा यातायात समितिका सदस्य भीम ओली लगायतको सहभागिता थियो । मन्त्री चौधरीसहितको टोलीले अस्पतालमा भए गरेको तयारी बारे स्थलगत रुपमा अनुगमन समेत गरेको भोजन तथा यातायात समितिका सदस्य ओलीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्