नेपालगञ्ज उपमहानगरपालिका बोर्ड बैठकको निर्णय, कोरोनाबाट संक्रमणबाट मृत्यु भए १५ लाख



नेपालगञ्ज ।

बाँके नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने ब्यक्तिको परिवारलाई १५ लाख राहत दिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको शनिबार बसेको कार्यपालिका बैठकले कोरोना भाइरस संक्रमणका कारण आफ्ना जनप्रतिनिधी र कर्मचारीको मृत्यु भएमा परिवारलाई १५ लाख राहात दिने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट उपमहानगरपालिका भित्रका जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा राहत स्वरुप प्रति परिवार १५ लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको बैठकले जनप्रतिनिधीलाई समेत राहात दिने निर्णयप्रति सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

कोरोनाको उपचार तथा रोकथामका लागि खटिएका कर्मचारीलाई राहात दिने निर्णय सही भएपनि जनप्रतिनिधीहरुलाई समेत दिने निर्णय गलत भएको उनीहरुले बताएका हुन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै संक्रमणको जोखिममा खटिने राष्ट्रसेवकको भरपूर स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने आवाज उठ्ने गरेको थियो ।

यसैगरी बैठकले नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निःशुल्क भण्डारा सञ्चालन गर्ने निर्णय गरेको छ । लकडाउनका कारण समस्यामा परेका नेपालगञ्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, विद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिक रुपमा साँझ बिहान गरि दुई पटक निःशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको हो । उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलिला मैदान, आदर्श मावि राँझा र शिक्षण अस्पताल पछाडिको आप बगियामा निःशुल्क भण्डारा सञ्चालन गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार