नेपालगञ्जमा प्रदेश सरकारले बनाउने भो कोरोना परीक्षण गर्ने प्रयोगशाला (निर्णयसहित)



कोहलपुर ।
प्रदेश ५ सरकारले भेरी अस्पताल नेपालगन्जमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले गरेका निर्णयहरुः

१. सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने । ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने ।

२. निमार्ण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने, सम्बन्धित निमार्ण कम्पनीले गाडीको व्यवस्था गर्ने ।

३. खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायत गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने ।

४. एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको छ । एम्बुलेन्स चालकलाई पिपिई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीले गर्ने ।

५. प्रदेश ५ मा तीन वटा प्रयोगशाला स्थापना गर्ने । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा । तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार