कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना भाइरस विरुद्ध सम्पूर्ण पूर्व तयारी पुरा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहनको लागि राखिने क्वारेन्टाइन र थप उपचारका लागि आवश्यक आइसोलेसन तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । यस अघि बैजनाथका आठ वटै वडामा रहेका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।
सोही अनुसार आठ वटै वडामा रहेका क्वारेन्टाइनमा आवश्यक खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले निर्माण थालेको १६ बेडको आइसोलेसन समेत तयार भएको छ । आधारभूत स्वास्थ्य केन्द्र मैटहवामा निर्माण थालिएको आइसोलेसनका लागि चाहिने आधारभूत कुराहरुको व्यवस्था भइसकेको उनले दाबी गरे । स्वास्थ्यकर्मी देखि आवश्यक औषधी र स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि आवश्यक पिपिई समेत तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष ठकुरीले जानकारी दिए ।
उनका अनुसार आइसोलेसनमा रहने स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक पिपिई समेत खरिद भइसकेका छन् । बढीमा ५० वटा सम्म पिपिई आवश्यक पर्ने भएपनि तल्काल १० वटा गाउँपालिकाले व्यवस्था गरिसकेको उनको भनाई रहेको छ । संक्रमितलाई दुई मिटर टाढाबाट जाँच्ने डम थर्मोमिटर अभाव रहेको उनले जानकारी दिए । त्यसको लागि प्रदेश सरकारलाई आग्रह गरिएको छ । आइसोलेसनको रुपमा तयार पारिएको उक्त स्वास्थ्य केन्द्रमा अहिले २ जना डाक्टर, एच.ए. र स्टार्फ नर्सहरु तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै बाँकेको बैजनाथ गाउँपालिकाका ८ की एक महिलालाई उच्च ज्वरो आएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । एक साता अघि भारतको दिल्लीबाट आएकी युवतीलाई थप उपचारको लागि नेपालगञ्जमा रिफर गरिएको हो ।
गाउँपालिका अध्यक्ष ठकुरीले उच्च ज्वरो र पखालाको समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा नेपालगञ्ज रिफर गरिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकामा भारतबाट आएका व्यक्तिहरु अहिले पनि गाउँपालिकाका विभिन्न वडामा रहेको गुनासो आएकोले वडा अध्यक्षलाई सेल्फ क्वारेन्टाइनमा राख्न र निगरानी गर्न निर्देशन दिइएको छ । यद्यपि उनीहरुमा कोरोना संक्रमणबारे भने केही खुलेको छैन । ‘भारतमा आएकाहरुलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौ, हाम्रो गाउँपालिकामा भारतबाट आएका व्यक्ति देखिएका छन्’ अध्यक्ष ठकुरीले भने, ‘पहिलो चरणमा घरमा सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौ । नमानेमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा ल्याएर भएपनि सुरक्षा अपनाउनेछौं ।’
विषेशगरी भारतका आएका गाउँपालिकाकाका स्थानीयलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको अटेरी गरेमा क्वारेन्टाइनमा ल्याइने उनको उनको भनाई छ । यता गाउँपालिमा निर्माण गरिएको क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न सम्बन्धित वडामा पु¥याइसकिएको सूचना अधिकारी तप्पराज आचार्यले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा आवश्यक बेड, औषधि, दाल, चामल, तरकारी, नुन, तेल, झूल र सरसफाई सामग्री पु¥याईएको छ । बैजनाथ गाउँपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको भन्दै सम्बन्धित वडामा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि र समाजेवीहरुको माध्यमबाट जनचेनता फैलाउने कामसमेत भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्