कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ को एक सडकमा ग्राभेल हाल्नुपर्ने योजना भएपनि माटो हालिएको छ । रत्न राजमार्गसँगै जोडिएको मनकामना चोक हुँदै मुगाली चोकसम्म सडक निर्माणको क्रममा ग्राभेल हाल्नुपर्नेमा माटो पटान गरिएको हो । ग्राभेल हाल्नुपर्ने सडकमा माटो पटान गरिएपछि स्थानीयहरुले विरोध जनाएका छन् । शनिबारबाट स्थानीयहरुले स्टमेट अनुसार काम नभएको भन्दै विरोध जनाउँदै काम समेत रोकेका हुन् ।
यो सडकमा गाभेल गर्नको लागि वडा कार्यालयले एक उपभोक्ता समिति गठन गरेको थियो । सडक निर्माणको क्रममा राती ग्राभेल हाल्नुपर्ने ठाउँमा माटो हालिएको भन्दै स्थानीयहरुले काम नै अवरोध गरेका छन् । स्थानीय दिलमाया गुरुङले उपभोक्ता समिति र वडाअध्यक्षको मिलोमतोमा माटो हालिएको बताइन् । ‘कसैलाई पनि थाहै नदिई रातारात ग्राभेल हाल्नुपर्ने सडकमा माटो हालियो’ उनले भनिन्, ‘यहाँ उपभोक्ता समिति नाम मात्रैको हो । काम सबै वडाअध्यक्षले नै गर्छन् ।’ शुक्रबार राती पनि उपभोक्ता समितिका अध्यक्ष र वडाअध्यक्षको निर्देशनमा ६ टिपर माटो ल्याइएको उनले आरोप लगाइन् ।
राती सडकमा माटो हाल्दा नहाल्नुहोस् भन्दा माटो सम्याउन आएका जेसिविवालाले धम्काएको स्थानीयबासी बताउँछन् । ‘माटो नहाल्न आग्रह गर्दा हामीलाई जेसिविवालाले धम्काए’ स्थानीय इश्वरी बिष्टले भनिन्, ‘बाटोमा माटो नहाल्नुहोस भन्दा पार्टीगत रुपमा आफूलाई दुव्र्यवहार गरियो ।’ ९ सय मिटर लम्बाई रहेको यो सडक १२ मिटर चौडा रहेको छ । सडकको दुवै पट्टी नाली बनाउनुका साथै ग्राभेल गर्नु पर्ने स्टमेटमा रहेको छ । अर्की स्थानीय आशा घर्तीले ग्राभेल गर्ने सडकमा गिट्टी हाल्नु पर्नेमा माटो हालिएकोले विरोध गरिएको बताइन् । ‘बाटो निर्माण कार्य बन्द हुुनु पर्छ’ उनले भनिन्, ‘उपभोक्ता समितिले नै बनाउनुपर्छ, वडाअध्यक्षले हस्तक्षेप गर्न पाइदैन ।’
यता निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क बहादुर शाहीले सडक निर्माणको क्रममा ग्राभेल ल्याउनुपर्नेमा निर्माण व्यवसायीले माटो ल्याइदिएका कारण स्थानीयले विरोध गरेको बताए । स्थानीयको विरोध भएपछि सडक निर्माण कार्य बन्द गर्न निर्देशन दिइएको उनले जानकारी दिए । ‘ग्राभेल हाल्ने भनेको हो, हिजो हिलो थियो, स्थानीयको मागको आधारमा गरिएको हो’ उनले भने, ‘छिटो हाल्ने भएको थियो, मसिलो ग्राभेल गर्ने भएका थियांै, माटो ल्याएछन्, बन्द भइसक्यो ।’ सडक निर्माणको लागि कोशेसन आह्वान मार्फत निर्माण व्यवसायी छनौट गरिएको वडा नम्बर २ कार्यालयले जनाएको छ ।
वडा कार्यालयले एक हप्ते सूचना प्रकाशित गर्दा तीन जनाको कोटेशन परेको वडा अध्यक्ष विसी बताउँछन् । सोही अनुसार सडक निर्माणको लागि कोशेसन मार्फत विएलएन कन्ट्रक्सनले जिम्मा पाएको उनले बताए । स्थानीयले लगाएको आरोपका विषयमा उनले उपभोक्ता समितिका अध्यक्षलाई नै आफूले गिट्टी हेर्न भनेको दाबी गरे । ‘मैले उहाँलाई त्यहाँ जानु भएको हो, बाटोमा माटो हाल्ने हाम्रो मनसाय होइन’ वडा अध्यक्ष विसीले भने, ‘अब निर्माण कार्य केही दिन रोक्छौ, स्थानीयको माग सम्बोधन हुन्छ ।’ निर्माण उपभोक्ता समितिका सचिव गणेश हमालले भने वडाले सडक निर्माणको लागि कोशेटन आह्वान गरेको विषयमा आफूलाई जानकारी नभएको जानकारी दिए ।
सडक निर्माणको लागि भनेर उपभोक्ता समिति बनाइएको उनले बताए । सचिव हमालले निर्माण व्यवसायीले आफूलाई बिना मुल्यका अध्यक्षका नाममा खाली बिल पठाएको दाबी गरे । रकम नै उल्लेख नगरी ६ वटा बिल काटेर पठाइएको छ । एउटै सडक निर्माणको लागि एकातिर उपभोक्ता समिति र वडाले कोशेसन आह्वान गर्ने कुरा विधि अनुसार नभएको स्थानीयले बताएका छन् । हरि चौधरीले आफू पनि निर्माण व्यवसायी भएको भन्दै वडाले उक्त सडक निर्माणको लागि कोटेशन आह्वान गरेको बारेमा जानकारी नपाएको र उपभोक्ता समिति बनाउने विषयमा वडा कार्यालयले जानकारी गराएको बताए । सडक निर्माणमा ग्राभेल गर्नको लागि वडा कार्यालयले कुल चार लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीयबासीहरुले भने ग्राभेल हाल्नुपर्ने सडकमा माटो हालेर भ्रष्टाचार गर्न लागेको आशंका गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्