बाँके निकुञ्जमा ‘सौराहगज’ र ‘चमचमकली’ आगमन



दश वटा हात्तीको दरवन्दी भएको निकुञ्जमा यसअघिसम्म ४ वटा मात्रै हात्ती थिए । नयाँ दुई ‘सौराहगज’ र ‘चमचमकली’ को आगमनसँगै बाँके निकुञ्जमा अहिले हात्तीको संख्या ६ पुगेको छ ।

कोहलपुर ।

निकुञ्ज घुम्न आउने पर्यटकहरुको सहजताको लागि बाँके राष्ट्रिय निकुञ्जमा थप दुई वटा हात्ती ल्याइएको छ । थप दुई वटा हात्ती भित्रिएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जंगल सफारीका लागि सहज हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । भ्रमण वर्षलाई लक्षित गर्दै निकुञ्जको संरक्षण कार्यलाई प्रभावकारी बनाउन थप दुई वटा हात्ती ल्याइएको उनले बताए ।

गत वर्षहरुमा भन्दा पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको उनको भनाई छ । ‘गत वर्षहरुको तुलनामा यो वर्ष पर्यटकको संख्या वृद्धिभएको छ, उनले भने, ‘हात्ती सवारीकै लागि अहिले दैनिक २५÷३० जनाको संख्यामा आउने गरेका छन् ।’ अहिले पछिल्लो समय प्रचार प्रसारसँगै सेवा सुविधाहरु विस्तार गर्दै गएकोले पर्यटकहरुको संख्या बढ्दै गएको उनी बताउँछन् । ‘पहिलेको अवस्था हुर्ने हो भने प्रचार प्रसारको पनि कमी थियो, सेवा सुविधाहरु पनि त्यति दिन सकिएको थिएन ।’

पर्यटकहरुको सेवा सुविधालाई मध्येनजर गर्दै चितवनबाट बुधबार भाले ‘सौराहगज’ र पोथी ‘चमचमकली’ लाई बाँके ल्याइएको हो । यसअघि निकुञ्जमा राप्ती सोनारी गाउँपालिका ९ को बुच्चापुर पोष्टमा दुई र कोहलपुर नगरपालिका १३ को खड्गवार पोष्टमा दुई गरी चार वटा हात्ती रहेकोमा चितवनबाट दुई वटा थप ल्याइएसँगैै बाँके राष्ट्रिय निकुञ्जमा हात्तीको संख्या ६ पुगेको छ । दश वटा हात्तीको दरवन्दी भएको निकुञ्जमा यसअघिसम्म ४ वटा मात्रै हात्ती थिए । नयाँ दुई ‘सौराहगज’ र ‘चमचमकली’ को आगमनसँगै बाँके निकुञ्जमा अहिले हात्तीको संख्या ६ पुगेको निकुञ्जले जनाएको छ ।

अब निकुञ्ज अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि जङ्गल सफरीसँगै पर्यटक मर्चचारीहरुलाई गस्ति गर्न समेत सहज हुने छ । यसअघि नेपाल पर्यटन वर्ष सन् २०२० का अवसरमा जङ्गल सफारी शुभारम्भ गरिएको थियो । जङ्गल सफारीको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले औपचारिक रुपमा शुभारम्भ गगरेका थिए । दुई वर्ष पहिले नै जङ्गल सफारी खुला गरिएको भएपनि भ्रमण वर्षका अवसरमा गत जनवरी १ तारिकमा मुख्यमन्त्री पोखरेलसहितको जङगल सफारी गरेर शुभारम्भ गरेको थियो ।

लोपोउन्मुख पाठे बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्जमा बाघको संख्या पनि वृद्धि हुँदै गएको पाइएको छ । वासस्थानका लागि पनि उचित भएकोले निकुञ्जमा बाघको संख्यामा वृद्धि हुँदै गएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । पछिल्लो गणनाअनुसार निकुञ्जमा बाघको संख्या २१ पुगेको छ । पर्यापर्यटनको प्रयाप्त सम्भावना भएपनि अपेक्षाकृत पर्यटक भित्र्याउन नसकेको निकुञ्जले भ्रमण वर्षको अवसरमा जङ्गल सफरी खुला गरेकोले पर्यटकको संख्या बढ्ने बताइएको छ ।

पर्यटकको आकर्षण पाटेबाघसँगै निकुञ्जमा अन्य तीन सय बढी प्रजातीका चरा चुरुङ्गी, चौकालगायतका वन्यजन्तु रहेको निकुञ्जले जनाएको छ । बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमिटर क्षेत्र समेटिएको बाँके राष्ट्रिय निकुञ्ज लोपोन्मुख पाठेबाघ संरक्षणका लागि २०६७ सालमा स्थापना गरिएको थियो । बाँके निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरेपर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन १५ गते बिहीबार