नेवाः मिसा दबू बाँकेको अध्यक्षमा श्रेष्ठ



नेपालगञ्ज ।

नेवार जातिका महिलाहरुको बाँके जिल्ला स्तरीय भेलाले नेवाः मिसा दबू जिल्ला कार्यसमितिको चयन गरेको छ । नेवाः देयः दबू बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रथम जिल्ला भेलाले १९ सदस्यीय नेवाः मिसा दबू जिल्ला समितिको सर्वसम्मत रुपमा गठन गरेको हो ।

नेवाः देयः दबू बाँकेका सल्लाहकार पूर्णलाल चुकेको अध्यक्षतामा बनेको तीन सदस्यीय निर्वाचन मण्डलले संस्थाको विधान अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी शोभा श्रेष्ठको अध्यक्षतामा गठित उक्त कार्यसमितिको उपाध्यक्षमा उमा श्रेष्ठ, सचिव सुस्ता श्रेष्ठ, कोषाध्यक्ष अन्जीता श्रेष्ठ र सहसचिवमा गीता श्रेष्ठ चयन गरेको छ ।

त्यसैगरी भेलाले सदस्यहरुमा राधा श्रेष्ठ, शोभा श्रेष्ठ, बविता राजभण्डारी, शकुन्तला श्रेष्ठ, रत्ना श्रेष्ठ, स्वेता शाक्य, सरिता शाक्य, शिशु श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ । नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेवाः मिसा दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले शपथ ग्रहण गराउनुका साथै खादा ओढाएर स्वागत गरिन् ।

आयोजित महिलाहरुको जिल्ला भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै नेवाः मिसा दबूका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिले २५ वर्ष अघि गठित तथा ६२ जिल्लामा शाखा रहेको नेवारहरुको छाता संगठन नेवाः देय दबूको भातृ संगठनको रुपमा २०७३ सालमा मात्र नेवार महिलाहरुलाई संगठित गर्दै नेवाः मिसा दबू गठन भएको चर्चा गर्दै बाँके लगायत ४४ जिल्लामा शाखा गठन भएको जानकारी दिए ।

केन्द्रीय अध्यक्ष प्रजापतिको नेतृत्वमा आएको केन्द्रीय टोली नेवाः मिसा दबूको जिल्ला भेला र जिल्ला समिति गठन गर्ने अभियानमा आइतवार सुर्खेत हुँदै दैलेख, दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी तर्फ प्रस्थान गरेको छ ।

सो अवसरमा केन्द्रीय अध्यक्ष प्रजापतिले नेवार महिलाहरुलाई देशको राजनीतिक मूल धारमा ल्याउनका लागि राजनीतिक, आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले तीन वर्ष अघि मात्र नेवार महिलाहरुलाई संगठित गरिएको चर्चा गर्दै नेवार भाषा, संस्कृति, संस्कारको जगेर्नाको लागि संस्था क्रियाशील रहेको बताए । उनले कुनै पनि जातजातिको भाषा एकअर्कालाई भावनात्मक रुपमा जोड्ने सेतु र सशक्त माध्यम हो भन्दै भाषा जीवित भए जाति जीवित रहन्छ, त्यसैले सबै नेवारहरुले नेवारी भाषा सिक्न जरुरी भएको औंल्याए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ७ गते सोमबार