कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित अध्यक्ष रामशरण थारुले सबैलाई साथमा लिएर काम गर्ने बताएका छन् । आइतबार विजय जुलुसपछि भएको कोण सभामा बोल्दै उनले सबैलाई साथमा लिएर वडाको विकासमा लाग्ने बताएका हुन् । ‘यो जित मेरो मात्र होइन सबै वडाबासीको हो’ उनले भने, ‘अब वडाको विकासको लागि पराजित भएका अन्य चार जना उम्मेदवारलाई समेत साथ लिएर अगाडि बढ्नेछु ।’ नवनिर्वाचन अध्यक्ष रामशरणले यो सबैको जीत भएको बताएका छन् । ‘हामी सबैको जीत भएको छ । एउटा प्रक्रियामा गइसकेपछि परिणाम आउँदा कोही अघि कोही पछिजस्तो देखिएको छ ।’
उनले भने,‘समग्र वडाको विकासका लागि सबै दलहरु एकमत भएर अघि बढ्नुपर्छ ।’ आफ्नो दुई वर्षिय कार्यकालमा बाँकी रहेका कामहरु पुरा गर्ने उनले प्रतिबद्धता जनाए । नेपाली काँग्रेसका उम्मेदवार श्रीकृष्ण थारुलाई ६४ मत अन्तरले हराउँदै नेकपाका उम्मेदवार रामशरण विजयी भएका थिए । नेकपाका उम्मेदवार रामशरणले ८०० सय मत ल्याउँदै विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार श्रीकृष्णले ७३६ मत ल्याए । गत स्थानीय निर्वाचनमा काँग्रेसका उम्मदेवार रामसोहन थारुले ४२४ मत प्राप्त गरी विजयी भएका थिए । काँग्रेसले आफ्नो गढ मान्दै आएको कोहलपुर–६ मा नेकपा ६४ मतान्तरले पहिलो स्थानमा देखिएको हो ।
यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेदवारले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवारले २७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाले दावी गर्दै आएको थियो । गत निर्वाचनमा राप्रपाले ८७ मत ल्याएकोमा उपनिर्वाचनमा भने २३ मत घटेको छ । नेकपा र काँग्रेसबीच भोट तानातानको अवस्था रहेको र त्यसबाट आफुलाई फाइदा हुने भन्दै जीतको दावी गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्रीधर सुवेदीले ६१ मतमा चित्त बुझाउनुप¥यो । त्यस्तै नेपाल मजदुर किसान पार्टीकी दिपालक्ष्मी हमालले १३ मत र समाजवादी पार्टीका शोभाखर पोखरेलले १० मत मात्रै प्राप्त गरे । यस वडामा कुल दुई हजार २६ मतदाता रहेकोमा एक हजार ६३४ मत अर्थात् ८०.६५ प्रतिशत मात्रै खसेको थियो । जसमा ७५१ जना पुरुष र ८८३ महिलाले मतदान गरेका थिए । खसेको मतमध्ये कुल १४ मत बदर भएको थियो । १५ वडा रहेको कोहलपुरमा प्रमुखसहित नेकपाका ९ र उपप्रमुखसहित काँग्रेसका ६ वडाध्यक्ष छन् ।
को हुन् रामशरण
राम शरण थारुको जन्म वि.स. २०४६ साल माघ १ गते साविकको रझेना गाविसमा भएको थियो । शासिन र भद्र स्वाभावका थारु लामो समयदेखि राजनिति र समाज सेवामा सक्रिय छन् । राजनितिक पृष्ठभूमिमा हुर्किएका उनको औपचारिक राजनितिक यात्रा भने २०६२ सालबाट सुरु भएको हो । सोही वर्ष तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएका थिए । माध्यामिक तहसम्म अध्ययन गरेका थारु ईमानदार र स्वच्छ छविका कारण स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा स्थापित छन् ।
पटक पटक चुनाव हारेका उनको यो तेस्रो चुनावी प्रतिष्पर्धा हो । वि.स.२०६९ सालमा पहिलो पटक सिद्धार्थ प्राथमिक विद्यालयको विद्यालय ब्यवस्थापन समिति सदस्यमा निर्वाचित भएका थिए । त्यहाँ रहँदा उनले शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गरेका छन् । जनताको सेवामा जस्तो सुकै अवस्थामा अग्रसर भइहने उनी अन्र्तमुखी छन् । २०७४ सालको स्थानीय निर्वाचन तत्कालिन नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बनेका उनले पराजय भोग्नु पर्यो । त्यतिबेला उनले २ सय ७३ मत प्राप्त गरेका थिए । थारु नेकपा ६ नं. वडा कमिटीका सचिव समेत हुन् ।








प्रतिक्रिया दिनुहोस्