कोहलपुर ।
ज्यान मार्ने उद्योगमा फरार तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार अपरान्ह ४ बजे उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । कोषाध्यक्ष पक्राउ परेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी पुष्टी गरे ।
बाँकेको प्रहरीको आग्रहमा फरार केशर खड्कालाई आज दिउँसो नियन्त्रणमा लिएको हौं’ उनले भने, ‘आवश्यक प्रक्रिया पु¥याएर हामीले कारबाहीको लागि बाँके प्रहरीलाई जिम्मा लगाउँछौं ।’ कोषाध्यक्ष खड्का विरुद्ध सरकारी वकिल कार्यालयले जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि उनी फरार थिए ।
फरार भएपछि जिल्ला अदालत बाँकेले उनीलाई पक्राउ गर्नको लागि पक्राउ पुर्जी समेत जारी गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गर्नको लागि आग्रह गरेको थियो । गत असोज १६ गते बाँकेको बैजनाथ गाउँपालिका, ३ मा लागेको मेलामा केशर खड्का नेतृत्वको समूहले मेला संयोजक लोकेन्द्र शाहीलाई खुकुरी प्रहार गरेर आक्रमण गरेको थियो ।
आक्रमण लगत्तै खड्का फरार थिए । प्रहरीले घटना लगत्तै घटनामा संलग्न तेजु रोकाया, यमबहादुर राना, पुस्कर राना, विष्णु रोकाया र सुरेश रानालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्द जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । अदालतले यमबहादुर रानालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग¥यो भने बाँकीलाई धरौटीमा रिहा गरिसकेको छ ।
ज्यान मार्ने उद्योगमा प्रतिवादी बनाइएका केशर खड्कालाई फरार सूचीमा राखिएको थियो । महाशाखाको टोलीले इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएपछि उनलाई अदालतमा उपस्थित गराइने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी
दिए । ‘ज्यान मार्ने उद्योगमा फरार रहेका खड्का काठमाडौंमा पक्राउ परेको खबर पाएका छौं’ उनले भने, ‘अपराध महाशाखाले हामीलाई जिम्मा लगाउने बित्तिकै अदालतमा उपस्थित गराउने छौं ।’








प्रतिक्रिया दिनुहोस्