खरानीभित्र आगोको खोज !



विष्णु पादुका

यहाँ खरानी मात्र छैन । खरानी भित्र रगत र त्यो भित्र कैयौं अनुहार छन् । नजिकैको इतिहास हेरौं सात साल अघि चारजनाको सहादत भयो । त्यो बेला जनसंख्या कम थियो । सञ्चार थिएन । त्यसपछिका साना ठुला बिद्रोह र आन्दोलनमा सहभागी अनुभवी त कैयौं जिउँदै हुनुहुन्छ । जुन लेखेर देखाउन पर्ने नै छैन । देश सकियो भनेर भावनात्मक रूपमा पिल्सिएर मात्र केही हुँदैन । केही नहुनेले पनि शून्यबाट शुरु गर्नु पर्छ । हो अबको नेपाल शून्य बाट शुरु हुनुपर्छ ।

हामिले ४६अघिका घटना सुन्यौ । त्यसपछिका घटना त देख्यौं नै । तर देखिने दृश्य निर्माण हुन भएका योजना देख्न सकेनौं । जनताको माझ छौन्जेल स्वस्छ भएको मान्छे सत्तामा पुग्ने बित्तीकै परिवर्तन हुन्छ । भ्रष्ट हुन्छ । आर्थिक भ्रष्टाचार मात्र भ्रष्टाचार होइन । देशका लागि गर्नुपर्ने नगर्नु र नगर्नुपर्ने गर्नु पनि भ्रष्टाचार हो । बरु हामीलाई तिम्रो सहयोग चाहिन्न हामी स्व निर्भर हुन चाहन्छौं । आफ्नो पुँजी र श्रम प्रयोग गरेर जति सक्छौं हामी आफै गर्छौं भन्न कुन नेतृत्वले सक्यो ? सत्ताको कुर्सीमा पुगेपछि आउने सहयोग र ऋण जति पनि थाप्ने नराम्रो प्रवृतिले हामी सधैं हेपिएका छौं । अरुसँग तुलना गरेर हामीलाई गरिव बनाइदिएको छ । हाम्रा आफ्ना चिज कुनै बाँकी नराखेर हामीलाई रित्तो पारिदिएको छ ।

पर निर्भर पारिदिएको छ । वर्ग, जात, लिङ्ग , भूगोल , भाषा र उमेरमा बिभाजन ल्याएर हामीलाई फुटाएको छ । यो क्रम आज शुरु भएको होइन। हाम्रा आफ्ना कुरा सकाउन बिकासी मल आए । बिकासी अन्न तरकारी फलफूल आए । बिकासी भाषा आए । बिकासी घर आए । बाटा र पुल आए । जो हाम्रा आवश्यकता अनुसार मात्र आउनुपर्ने थियो । कोहि बाट खाए खा नखाए घिच भनेर आएका हुन् यी सबै । हुँदा हुँदा बहुराष्ट्रिय कम्पनीका प्याकिङ्ग खाना संस्कृति आयो , ल्याइयो । हाम्रा भान्सामा चुलो बल्न छोड्यो भन्ने दिन आउन धेरै दिन कुर्न पर्दैन ।हामी बिकसित हुने नाममा अरु कसैको ग्राहक मात्र भएका छौं । त्यो पनि उधारोमा खाने ग्राहक ।

आज यस्ता कुरामा सोच्न कसैलाई फुर्सद छैन । यसलाई प्रतिगामीको संज्ञा दिइएला तर भोलिको कुरा पनि छ जुन यहि कुरा माथी टेकेर हेर्दा छर्लङ्ग देखिन्छ । हामी पाल टाँसेर ,टिनका टहरामा बसेर देशको दैनिकी चलाउन तयार छैनौं । हामीलाई जतिसक्दो हिजोको जस्तो सरकारी संरचना आवश्यक हुनेछ । अझ त्यो भन्दा सुविधा सम्पन्न भवन र कार्यालय बनाइदिन कोहि न कोहि दाताहरू लाइनमा हाजिर भै सकेका छन् । सोचौ त त्यो हाम्रो मायाले नेपालीको दया लागेर दिइने रकम हो ??? त्यसको चर्को ब्याज सहित असुल उपर गर्नेछन् ती मुलुकले । त्यो चर्को ब्याजमा फेरि अर्को पुस्ताको रगतको भेटी चढाउनु पर्नेछ ।

हामी आफैमा तँ यो दलको म त्यो दलको , यो ठिक त्यो बेठिक , त्यो यो हिसाबले ठिक यो त्यो हिसाबले बेठिक भनेर सतही मुद्दामा अल्झिन बानी परेका छौं । राजनीतिक झिनामसिना दाउपेच हेरेर हामी आफैमा शत्रुता मात्र उमारिरहेछौ जो उनीहरुको चाहना हो । ती चाहनाको अलिकति पर्दाफास हुन लाग्यो भने त्यसलाई छोप्न अर्को कुनै झगडाको बीउ रोपिन्छ हामी त्यतै भुल्छौ । उनीहरुको योजना सजिलोसँग सफल हुन्छ । हामी नेपाली रहनु छ र बलियो गरि उठ्नु छ भने उनिहरूका एजेन्डा त्यागेर मात्र सफल हुनेछौं । उनिहरूको एजेन्डा के के हुन् ? आजको दिनमा ती सबै हाम्रा आफ्ना नितान्त आफ्ना जस्ता लाग्ने भएका छन् । हामिले आफ्नोपन गुमाएको पनि धेरै भयो । हाम्रो के थियो आफ्नो फर्केर हेरौं त ।

पछिल्लो समय आएका ब्यवस्था नियम कानुन सबै आयातित हुन् । तिनै भित्र रहेर पनि हामि आफ्नो पनि खोज्न सक्छौं । आफ्नो नयाँपन स्थापित गर्न सक्छौ । यसरी नयाँ निर्माण गर्ने अवसरको रूपमा लिने यो एउटा अवसर हो अहिलेको अवस्था । आफ्नोपन कायम नहोउन्जेल हामी सदैब अरुकै गोटि भएर चल्नेछौं । भोलि यो भन्दा अधिक भयावह दिन आए भने त्यो नौलो हुने छैन । भावनाले मात्र देश बन्दैन मेहनत र पसिना बगाउनै पर्छ । हामीले देश बनायौ भन्यौं । पटकपटक नयाँ कुराले हामी हामी हौसियौं । जहिले सुकै हामी आउँदा स्वागत र बिदाइमा बिनास भोग्यौं । हुँदाहुँदै यहि पो हाम्रो परिचय भयो । जहिल्यै हामी पाहुनालाई असल सोच्ने नेपाली परम्पराले दुखी रह्यौं । आखिर कहिले सम्म ? हामिले आश्वासनमा सधै विश्वास उमा¥यौ ।

हामिले दाग बिनाका चन्द्रमाको कल्पना ग¥यौं । संसारमा नभएको कुरा कल्पना गर्नु पो अपराध थियो कि । हामी जुट्न भन्दा फुट्नमा रमायौं । हामीलाई फुटाउनु कसैको न कसैको सदैव उद्देश्य कायम थियो छ र रहनेछ । त्यो कुरालाई चिर्न सजिलो त छैन । तर नेपाल र नेपालीको असल पहिचान र उन्मुक्तिको बाटो भने त्यही हो । मान्छेको यात्रा धेरै अघि पुगिसक्यो भनेर हामी पछ्याउँदै छौं । बिर्सिरहेछौ कि अघि पुगेको यात्रु अघि नै हुन्छ जव सम्म हाम्रो गतिमा बढोत्तरी हुँदैन । तर हामी त गतिरोध मात्र ब्योहर्न अभिशप्त छौं । हाम्रो स्थायित्व जोगाउन मात्र हामीलाई संघर्ष छ । गास बास कपास भन्दा माथी उठेको जो कसैलाई सैह्य हुँदैन ।

यस्तो निरिहता हो हाम्रो, समाजको अवरोध हो , हाम्रो मानसिकता । हामी किन हाम्रा कुरा भन्दा अरुका कुरासँग रमाउँछौं ? एउटा बच्चा पनि एउटा गुडियासँग केही बेर मात्र रमाउन सक्छ । हामिले अरुका कुरा आयात गरेर मात्रै बिग्रेको होइन । त्यसलाई आफ्नो स्वामित्वको बनाउन नजानेर बिग्रेको भन्नू उपयुक्त होला अझ । खरानी माथी उभिएर के गर्न सकिन्छ टोलाउँदै सोच्न बाहेक ? यहाँ जिउँदो मात्रै अपराधी होइन एउटा शालिकमा कोरिएको अनुहार पनि दोषी सिद्द भएको छ ।

सामाजिक सञ्जालको निहुँमा गुमेका सिर्जनसिल समुहको रगत सुक्न नपाउँदै कुहेका रोटि सेकाउन हतार हुँदैछ । छिमेकीहरू अनेक अर्थ लाएर बदनामीको खादा पहि¥याउन अभ्यस्त छ । लथालिङ्ग र भताभुङ्ग भएको घर सम्हाल्न पनि विभिन्न डोरी र पिङ्गको सहारा र विश्वसनीयता खोज्दा खोज्दै समय घर्की रहेछ । जो कोहि होस् तातो खरानी खोस्रेर आगो निकाल्दै देशलाई न्यानो र उज्यालो लिन नचुकोस् । कामना गरौं देशले छिटोभन्दा छिटो निकास पाओस् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ११ गते शनिबार