नेपालगञ्ज ।
पेस्तोलसहित पक्राउ परेका नेपाल तरुण दलका नेपालगञ्ज सभापति सन्दीपजङ्ग शाहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत बाँकेले उनीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि कारागार पठाइएको हो । जिल्ला अदालत बाँकेका न्यायधीश दिलिपराज पन्तको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अदालतको आदेश लगत्तै उनीलाई सोमबार नै बाँके कारागार पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । नगर सभापति शाहसँगै पक्राउ परेका नेपालगञ्जका यमबहादुर बुढा, प्रितम थापा र माधव नेपालीलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको छ । उनीहरु माग गरिएको जनही १ लाख ५० हजार धरौटी तत्काल बुझाउन नसक्दा कारागार चलान भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले गत कार्तिक १४ गते राती शाहसहित ६ जनालाई जानकी गाउँपालिका ६ मनिकापुरमा रहेको नमस्ते भिलेज रेस्टुरेन्टको पार्किङ्गमा रहेको बा १८ च ४२११ नम्बरको खैरो मारुती सुजिकी कारको सिटमुनि बनाइएको फल्स बटमबाट पेस्तोल र त्यसमा लाग्ने गोली लोड गरी लुकाइ राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये दुई जनालाई अनुसन्धानपछि रिहा गरिएपछि तरुण दलका नगर सभापति शाहसहित बुढा, थापा र नेपालीलाई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरिएको थियो ।
हतियारसहित पक्राउ परेका नगरसभापति शाह सहितकोलाई सोमबार अदालतले गरेको आदेशप्रति नेपाल तरुण दल बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल तरुण दल बाँकेका सभापती विरेन्द्र बहादुर शाहले आफ्ना नेता कार्यकर्तामाथि प्रहरी प्रशासनले नियोजितरुपमा प्रहार गरेको छ । उनले भने, ‘प्रहरी प्रशासनको कार्यप्रति हाम्रो शंका छ ।’ आज मङ्गलबार नेपाली काँग्रेस बाँकेले बैठकबाट आगामी रणनिति तय गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्