बुटवल स्थायी राजधानी नहुने प्रचण्डको संकेत



कोहलपुर ।

प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश ५ को स्थायी राजधानि बुटवल नहुने संकेत गरेका छन् । कोहलपुरमा मंगलबार नेकपा नगर कमिटीले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सबै जिल्लाहरुलाई पायक पर्नेगरी स्थायी राजधानि तोकिने बताए । ‘बाँके बर्दिया लगायत जिल्लाका जनताका निम्ति अब यो प्रदेशको राजधानि कहाँ होला भन्ने निकै नै ठूलो चिन्ता रहेको मैले पाएको छु’ उनले भने, ‘राजधानि भनेको सबै जिल्लाका जनतालाई पायक पर्ने, सबैलाई केन्द्रबिन्दु, जान सहज हुने ठाउँमा हुनुपर्छ भनेर मैले भनेको छु । पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा एउटा सहमती सैद्धान्तिक रुपमा भइसकेको खुलासा गरे ।

‘हाम्रो पार्टी नेतृत्वमा राजधानिको बिषयमा एउटा सहमती सैद्धान्तिक रुपमा भइसकेको छ’ उनले भने, ‘सबैलाई सहज पर्ने राजधानि हुनुपर्छ, यही सहज पर्ने राजधानि चाही घोषणा गर्न सकिएन भने जनताले जे चाहन्छन् त्यही हुन्छ । हामीले जनतालाई समर्थन गर्नुपर्छ भनेर भनेका छौं ।’ यसअघि मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा अध्यक्ष प्रचण्डले सबैलाई केन्द्रबिन्दु पर्नेगरी प्रदेशको स्थायी राजधानि तोक्नुपर्नेमा आफ्नो मत रहेको बताएका थिए । ‘मैले प्रधानमन्त्रीसँग पनी पार्टीका अन्य नेताहरुसँग पनी कुरा गरिसकेको छु’ उनले भने, ‘कुनै आग्रह पुर्वाग्रह टेकेर होइन, राजनितिक नाफा नोक्सान हेरेर होइन । जनताको हित हेरेर प्रदेशको सम्रग हितलाई हेरेर राजधानिको केन्द्रको टुङ्गो लगाउनुपर्छ ।’ राजधानी नयाँ ठाउँमा पनी बनाउन सकिने भन्दै अध्यक्ष प्रचण्डले पहिले भइरहेका बजारै खोज्नुपर्ने र त्यही जानुपर्छ भन्ने छैन । ‘नयाँ ठाउँ विकास गर्न पनी सकिन्छ, धेरै देशहरुका त्यस्तो प्रचलन पनी छ त्यसले फाइदा पनी हुन्छ ।

देशलाई विकास गर्न समेत मद्दतै पुग्छ’ उनले भने । प्रदेश ५ को स्थायी राजधानी कहाँ तोक्ने भन्ने बिषयमा विवाद भइरहेको बेला प्रमुख सत्तारुढ दलका अध्यक्षको यस्तो भनाईलाई कतिपयले अर्थपुर्ण रुपमा समेत हेरेका छन् । मंगलबार दिनभर बाँकेमा भएका विभिन्न कार्यक्रमका बोल्ने क्रममा नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानिको बिषयमा बोल्दा सबैलाई बिचमा पर्ने ठाउँमा केन्द्र तोकिनुपर्नेमा जोड दिने गरेका थिए । यसलाई कतिपयले दाङको लमही र भालुबाङको बिच तिर स्थायी राजधानि तोकिने सम्भावना रहेको बताउने गरेका छन् । बाँके बर्दियाका जनप्रतिनिधी तथा जनताहरुले पायक पर्ने ठाउँमा प्रदेशको केन्द्र नतोकिए कर्णाली प्रदेशमा मिसिने चेतावनी दिदैं आएका छन् ।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उदार र लचिलो भएको हुनाले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको दाबी गरे । उनले भने, ‘हाम्रो सरकार अलिक उदार र लचिलो भएको हुनाले र कसैलाई चिक्त नदुखोस् भन्ने हुनाले भएकाले उहाँहरुलाई दुई वर्ष काम गर्न दिइयो । अहिले फेर्न उचित हुने ठानेर फेरेका हौँ । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई ठूलो ठान्नु पर्ने विषय होइन ।’ अध्यक्ष प्रचण्डले सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुखले काम गर्ने भएकाले सरकार परिवर्तन भएपछि सामान्य प्रचलन प्रदेश प्रमुखहरु फेरिने रहेको जिकिर गरे ।

‘अझ कयौँ देशहरुमा त्यस्ता प्रमुखले मोरल्ली रिजाइन गरिदिने र सरकारलाई काम गर्न सहज पार्ने प्रचलन छ,’ उनको भनाइ थियो । त्यस्तै, नेकपा नेता माधव नेपालको नोट अफ डिसेन्ट पनि सामान्य प्रक्रिया भएको अध्यक्ष प्रचण्डले बताए । ‘माधवजीले एक दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । र, त्यसमा जोड दिनुभएको थियो । त्यो नभएपछि चित्त नबुझेर नोट अफ डिसेन्ट लेख्नु स्वाभाविक हो । वहाँले मान्दिन भन्नुभएको छैन, भिन्न मत छ भन्नुभएको छ,’ उनले भने । उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताए ।

‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए । उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने आश्वासन दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २० गते बुधबार