व्यक्तिगत घटनालाई राजनीतिकरण नगरौं : नेकपा बाँके



कोहलपुर ।

नेकपा बाँकेले ब्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न नेपाली काँग्रेस बाँकेलाई आग्रह गरेको छ । खजुरा गाउँपालिकाको सीतापुरमा बिहिवार काँग्रेसको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँकेले दुःख व्यक्त गरेको छ । नेकपा बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष आइपी खरेलले ब्यक्तिगत घटनालाई राजनीतिकरण गर्दै नेकपा पार्टी र कार्यकर्ता विरुद्ध लगाइएको गम्भिर आरोपप्रत असहमति जनाएको छ । काँग्रेस लगायत कुनैपनि पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने पार्टीको नीति नभएको भन्दै नेकपाले सहकार्यको मुल्य र मान्यतालाई मध्यनजर गर्दै विषयको गाम्भिर्यतालाई आत्मसाथ गर्न नेकपाले आग्रह गरेको छ ।

भिडियो खिच्ने, प्रहरीमा उजुरी गर्ने काँग्रेसकै कार्यकर्ता हुन, पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष खरेलले भन्नुभयो,– प्रहरीले खोजीरहेका असलम भाटलाई प्रहरीलाई बुझाउन गएका पार्टीका समर्थकलाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन दबाब दिनु अतिरञ्जित गर्नु हो । घटना काँग्रेस लक्षित नभएको भन्दै उहाँले काँग्रेसको कार्यक्रममा जानु समर्थकहरुको गलित भएको स्वीकार गर्नुभयो ।

नेकपा बाँकेका सचिव अशोक कोइरालाले पार्टीको नाम जोड्ने हो भने पार्टी अध्यक्ष खरेल र आप्नो नाममा पनि मुद्धा दर्ता गर्न चेतावनी दिनुभयो । नेकपा बाँकेका अध्यक्ष खरेल र सचिव कोइरालाले विहान काँग्रेस बाँकेका सभापति किरण कोइरालासँग भेट गरि स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच शहरी विकास मन्त्री मो. इस्तियाक राईले समेत काँग्रेस सभापति कोइरालाको निवासमा पुगी स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
घटनाको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले शुक्रबार दिउसो विपी चोकमा प्रदर्शन गरेका छन् । काँग्रेस कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
जागरण अभियान अन्तर्गत काँग्रेस कार्यकर्ता असलम भाटले राधापुरमा काँग्रेसकै कार्यकर्ता भुवन थापाले बोलेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि घटना बढ्दै गएको हो । थापाले आपनो अनुमति विना इडिट गरि भिडियो राखेको भन्दै असलमलाई कारवाहीका लागि प्रहरीमा निवेदन दिए । बिहिवार छलफलका लागि प्रहरीले बोलाउदा असलम उपस्थित नभएपछि नेकपा समर्थकहरु काँग्रेसको कार्यक्रमस्थलमै प्रवेश गरी असलमलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने प्रयास गर्दा काँग्रेस सभापति कोइरालालाई हातमा चोट लागेको प्रत्यक्षदर्शीले बताए । सभापति कोइरालाको हात भाँच्चिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार