कर्णालीमा स्वास्थ्यको करोडौँ रकम खर्च भएन



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य क्षेत्रमा विनियोजित करोडौँ रकम खर्च गर्न सकेको छैन् । प्रदेशभर करिब ३ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरु रहेको कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा केन्द्र र प्रदेश सरकारको गरी ६७ करोड ९ लाख ३९ हजार रकम खर्च गर्न नसकी फ्रिज भएको छ । स्वास्थ्य क्षेत्रको लागि रकमको एकतिहाई मात्र खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको ६३ करोड ९४ लाख ५० हजार र केन्द्र सरकारको सशर्त अनुदान ४० करोड गरि १ अर्ब ३ करोड ९४ लाख ५० हजार बराबरको रकम कर्णालीको स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि विनियोजित गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार चालु आर्थिक बर्षमा कुनै स्वास्थ्य संस्थालाई १५ र कुनैलाई २० लाख बराबरको बजेट विनियोजन गरिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले चालु आर्थिक वर्षमा कर्णालीका कुनैपनि स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिने बताए । ‘विगतमा जस्तो औषधी अभाव हुन नदिनेगरी मन्त्रालयको स्वास्थ्य महाशाखा लागिपरेको हो’ उनले भने, ‘विगतका समय जस्तै सिटामोल सम्म नहुने समस्या अहिले हटेको छ ।’

शाहीले सबै स्थानीय तहका स्वास्थ्य संस्थाको माग अनुसार नै औषधी पठाउने गरिएको बताए । अहिले स्थानीय सरकार सँगको सहकार्यका स्वास्थ्य सम्बन्धीका कार्यहरु हुने गर्दछन् । प्रदेश सरकारका जिम्मेवार व्यक्तिले यस्तो दाबी गरिरहँदा हिजोआज कर्णाली प्रदेशका दुर्गम जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव हुने गरेको पाईएको छ । अहिले कर्णाली प्रदेशका भाइरल ज्वरोका बिरामीहरु निकै बढेका छन् । प्रदेशका १० जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ ।

महाशाखाले स्थानीय तहसँग समन्वय गरी औषधी खरिद गर्ने गरिएको भन्दै सबैभन्दा अभाव हुने हिमाली जिल्लाहरुलाई मध्यनजर गरी औषधी स्टक राखिएको बताएको छ । देलैख जिल्ला अस्पतालमा पनि भाइरल ज्वरोका बिरामीहरु दैनिक १ सय बराबर आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । जाजरकोटको जूनीचाँदे गाउँपालिकामा मौसमी फ्लुका कारण बिरामी बढेका छन् ।

गाउँपालिकाको वडा नम्बर १० र ११ को सिर्फ र कोताङमा मौसमी फ्लुका बिरामी बढेको स्वास्थ्य कार्यालय जाजरकोटले जानकारी दिएको छ । कोताङस्थित स्वास्थ्य संस्थामा सिटामोलसम्म नभएको कोताङ स्वास्थ्य शाखाले जनाएको छ । शाखाका प्रमुख अशोक यादवले गाउँपालिकाले औषधि खरिद नगरेको र जिल्लाबाट पनि आइनपुगेको गुनासो गरे । यस्तै कालिकोटको सबै स्थानीय तहमा भाईरल ज्वरोको प्रकोप बढेको पाईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार