दाङ ।
दाङको एक मात्र विमानस्थल टरिगाउँमा नयाँ टर्मिनल भवन निर्माण कार्य सकिएको छ । ५८ लाख रुपैयाँ लगानीमा नागरिक उड्ययन प्राधिकरणले नयाँ टर्मिनल भवन (यात्रु प्रतिक्षालय) निर्माण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ को फागुनदेखि निर्माण सुरु भएको टर्मिनल भवन असारको पहिलो सातामै पुरा भएको न्यू अष्ट्रिना निर्माण सेवाका प्रोप्राइटर सुरेशकुमार आचार्यले जानकारी दिए । भ्याट बाहेक ५१ लाख ५६ हजार र भ्याटसहितको खर्च जोड्दा ५८ लाख २७ हजार बराबर खर्च भएको कम्पनीले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण नेपालगञ्जले आह्वान गरेको टेन्डरमा आचार्यले माघ ४ गते टेन्डर सकारेका थिए ।
लम्वाई २४ मिटर, चौडाई १२ मिटरमा निर्माण गरिएको नयाँ टर्मिनल भवनभित्र महिला र पुरुष शौचालय निर्माण गरिएको छ। त्यस्तै अन्य यूरिनल रुम, नागरिक उड्ययनका लागि यात्रु चेकिङ पोष्ट, सुरक्षाकर्मीको लागि कोठाहरुको व्यवस्था छ । नागरिक उड्ययन प्राधिकरणको शर्तअनुसार टर्मिनल भवन निर्माण गरिएको आचार्यले बताए। भित्रै चमेना गृह पनि निर्माण गरिने भएको छ । ‘हामीले निर्माण गरेको नयाँ टर्मिनल भवनमा स्पेस छ । पार्टेसन गरेर चमेना गृह लगायत संरचना निर्माण गर्न सकिन्छ,’ आचार्यले भने । जिम्मा लिएको ६ महिनामै निर्माण पुरा भएकाले अब सक्दो चाँडो हस्तान्तरण गर्न तयार रहेको उनले बताए ।








प्रतिक्रिया दिनुहोस्