‘प्रहरी र स्थानीय जनताको सम्बन्ध सुमधुर आवश्यक’



बाँसगढी, बर्दिया ।

बाँसगढीमा भएको कार्यक्रममा सहभागि अतिथीहरु                                 फोटोः मिसन

बर्दियाको बाँसगढीमा भएको एक कार्यक्रममा बोल्दै सहभागिहरुले प्रहरी र जनताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । इलाका प्रहरी कार्यालय बाँसगढीले सोमबार गरेको कार्यक्रममा बोल्ने सहभागिहरुले स्थानीय र प्रहरीको सम्बन्ध सुमधुर भए समाजमा हुने अपराध न्यूनिकरण गर्न सहज हुने कुरामा जोड दिएका थिए । बाँसगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले प्रहरीले जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउनुपर्ने बताए । ‘प्रहरीका समाजमा विभिन्न किसिमका कामहरु रहेका छन्’ उनले भने, ‘बाँसगढी प्रहरीका पनी रहेका छन् । तर पनी जनतालाई सुरक्षाको प्रत्याभुती गराउने काम प्रहरीको नै हो ।’

पुर्व पश्चिम राजमार्गमा पर्ने बाँसगढीमा पश्चिम जाने भिआइपीहरुको बाक्लो आवतजावत हुने भएकाले पनी प्रहरीलाई बेला बेला समस्या पर्ने देखिएको नगर प्रमुख अधिकारीले बताए । ‘बाँसगढी केन्द्रबिन्दुमा रहेको छ’ उनले भने, ‘त्यसै पनी अन्य प्रहरी यूनिट भन्दा यहाँको प्रहरीलाई बढी नै चाप हुन्छ ।’ बाँसगढी क्षेत्रमा लागुऔषध दुव्र्यशनमा युवाहरु फसिरहेको भन्दै प्रहरीले विभिन्न कार्यक्रम चलाउनुपर्नेमा उनले जोड दिए । ‘युवाहरु लागुऔषध दुव्र्यशनमा फस्ने क्रम बढ्दो छ’ नगर प्रमुख अधिकारीले भने, ‘लागुऔषध दुव्र्यशन न्यूनिकरण गर्न प्रहरीले अग्रसरता लिनुप¥यो नगरपालिका तयार छ ।’ बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरीले स्थानीय प्रहरीसँग समन्वय गरेर नगरपालिका तयार रहेको जानकारी दिइन् ।

सेवाग्राहीमुखी भएर काम गर्न उनले बाँसगढी प्रहरीलाई आग्रह गरिन् । ‘आम जनताको सुरक्षा गर्ने प्रहरी जनताको मन मनमा बस्नुपर्छ’ उपप्रमुख चौधरीले भनिन्, ‘बाँसगढी प्रहरीलाई गर्नुपर्ने सहयोग गर्न नगरपालिका तयार रहेको छ ।’ सहभागिहरुले बजारमा चोरीका घटनाहरु बढेको, छाडा पशु चौपाया नियन्त्रण गर्नुपर्ने लगायतका काम गर्न बाँसगढी प्रहरीलाई आग्रह गरेका थिए । केही दिनअघि मात्र सरुवा भएर आएका इलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउन कुनै कसुर बाँकी नराखिने बताए ।

कानुन विपरित हुने कुनै पनी कुरामा सम्झौता नहुने उनले बताएका थिए । ‘मेरो कार्यकालमा कानुन विपरित हुने गतिविधी मान्य हुँदैन’ प्रहरी निरीक्षक सुनारले भने, ‘कानुन विपरित काम गर्नेहरुले आजैबाट काम छोड्दा हुन्छ ।’ काम गर्दा स्थानीय सरोकारवालाहरु सहकार्य र समन्वय गरेर अगाडि बढ्ने उनले प्रतिबद्वता जनाए । प्रहरी निरीक्षक सुनारले प्रहरी मात्रैले समाजमा हुने अपराध न्यूनिकरण गर्न नसक्ने बताउँदै स्थानीयहरुलाई पनी साथ र सहयोग गर्न आग्रह गरे । परिचयनात्मक कार्यक्रममा स्थानीय जनप्रतिनिधी, व्यवसायी, पत्रकार, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३ गते मंगलबार