निःशुल्क दन्त शिविर सम्पन्न



बाँकेको कोहलपुरमा शनिबार एक दिने निःशुल्क दन्त परीक्षण शिविर आयोजना गरिएको छ । ‘बृद्धलाई सम्मान, हाम्रो अभियान’ भन्ने नारोको साथ वन वाटिका पार्क टोल विकास समिति कोहलपुरको आयोजना तथा कोहलपुर डेन्टल हस्पिटल प्रा.लिको प्राविधिक सहयोगमा जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै सो शिविर आयोजना गरिएको हो ।

जेष्ठ नागरिकहरुको सहजताका लागि सञ्चालन गरिएको शिविरमा २६ जना जेष्ठ नागरिकहरुले आफ्नो दाँत परीक्षण गराएको उपचारमा संलग्न भेरी अञ्चल अस्पतालका डा. देवराज न्यौपानेले जानकारी दिए ।

शिविरमा आएका दन्त रोगीहरुमा प्रायः गिजा पाक्ने, गिजा सुनिने, दाँत टुक्रा परेका समस्याहरु देखा परेको न्यौपानेले बताए । शिविरमा आएका जेष्ठ नागरिकहरुहरुको दाँत परीक्षण गराई निःशुल्क औषधी तथा टुथपेष्ट, ब्रस लगायतका सामानहरु वितरण गरिनुका साथै उक्त शिविरमा दाँत परीक्षण गराएका विरामलाई कोहलपुर डेन्टल अस्पतालले उपचारमा ५० प्रतिशत छुट गर्ने अस्पतालले जनाएको छ ।

वन वाटिका पार्क टोल विकास समिति कोहलपुरले हरेक शनिबार जेष्ठ नागरिक भेटघाट अभियान तथा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यक्रमअन्तर्गत शनिबार पनि निःशुल्क दन्त शिविर आयोजना गरिएको समितिका अध्यक्ष हरि प्रसाद पौडेलले बताए । उक्त शिविर जेष्ठ नागरिक सुकु कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार