बाँकेको कम्दीमा विशेषज्ञसहितको अस्पताल सञ्चालनमा



नेपालगन्ज/  बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ कम्दी मिलनचोकमा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा आएको छ । शनिबार शहरी विकास मन्त्री मो. ईस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. एम.किडवाईले संयुक्त रुपमा उद्घाटन गर्दै ईकरा पोलिक्लिनिक एण्ड डाईग्नोशिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

शहरी विकास मन्त्री राईले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउनको लागि सरकारको एकल प्रयासबाट मात्रै संभव नहुने कारण नीजि क्षेत्रसंग सहकार्यका साथ अघि बढ्न खोजेको बताए । उनले भने–‘सरकारले ग्रामिण भेगका जनतालाई घरदैलोमा गुणस्तरिय स्वास्थ्य सेवा दिनको लागि नीजि क्षेत्रसंग समन्वय तथा सहकार्य गर्दै आएको छ ।’

उनले नीजि क्षेत्रबाट सञ्चालनमा आएको सो पोलीक्लिनिकबाट तीन गाउँपालिकाका जनतालाई विशेषज्ञ सेवा दिने गरी सञ्चालनमा ल्याईएको प्रति आफु अत्यन्तै उत्साही भएको बताउदै भने–‘ ग्रामिण क्षेत्रलाई लक्षित गरी सञ्चालन गर्न लागिएको विशेषज्ञ सेवासहितको नीजि अस्पतालबाट यहाँका जनताले आफ्नै घरदैलोमा नै सुलभ स्वास्थ्य सेवा पाउने विश्वास लिएको छु ।’

सो कार्याक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक तथा सञ्चालक डा. एम किडवाईले ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा सहितको अस्पताल नीजि क्षेत्रबाट सञ्चालन गर्न पहल गर्नु अत्यन्तै राम्रो भएको बताउदै आफुहरु सहकार्य गर्नको लागि तयार रहेको बताए ।

नेपालगन्जदेखि करिव ९ किलोमिटर पूर्वमा रहेको सो अस्पतालले आधुनिक ल्याव, एक्सरे, फार्मेसी लगायतको सेवासंगै विभिन्न खालका विशेषज्ञ सेवा सञ्चालन गर्ने गरी पोलिक्लिनिकको रुपमा सञ्चालन गर्न थालिएको सो अस्पतालका प्रबन्ध निर्देशक मुस्लिम खाँले जानकारी दिए ।

उनले भने–‘हाम्रो लक्ष ग्रामिण क्षेत्रका जनतालाई उनीहरुको घरदैलोमा नै गुणस्तरिय स्वास्थ्य सेवा दिने प्रतिबद्धताका साथमा पहल सुरु गरेका छौ सबैको साथ समर्थन र हौसला आवश्यक पर्छ ।’

उनले डुडुवा गाउपालिका, राप्ती सोनारी गाउपालिका र नरैनापुर गाउपालिका गरी तीनवटा पालिकालाई लक्षित गरी सेवा सञ्चालन गरिएको बताए । उनले अस्पतालले बालरोग, नशा हाड जोर्नी, छाती, पेट, तथा सरुवा रोगको विशेषज्ञ सेवा दिनुको साथै स्वास्थ्य सम्बन्धित विभिन्न चेतनामूलक गतिविधिहरु सञ्चालन गर्ने बताए ।-sadarline

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ७ गते आइतबार