कोहलपुर/ कोहलपुर स्वास्थ्यचौकीको सोमबार सामाजिक परीक्षण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगञ्जको आयोजनाम उक्त स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रम गरिएको हो ।
स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा, सुविधाको समिक्षा गरी सुधारको लागि सामाजिक परीक्षण गरिएको हो । कार्यक्रमका सहभागीहरुले स्वास्थ्यचौकीका कर्मचारीहरुको व्यवहार राम्रो नभएको गुनासो गरेका थिए ।
स्वास्थ्यकर्मीहरुको रुखो व्यवहारका कारण सेवाग्राहीहरु स्वास्थ्यचौकी नैं नजाने गरेको उनीहरुले बताए । कार्यक्रममा उपस्थित स्वयंसेविकाहरुले समेत आफूहरुलाई समेत स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार नभएको गुनासो गरे ।
सो गुनासोबारे स्वास्थ्यचौकीका प्रमुख अनिल सेन ठकुरीले पहिलो पटक आफूले यस्तो गुनासो सुनेको भन्दै उक्त प्रकारको गुनासो आउँन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त सामाजिक परीक्षण अन्र्तगतको आम भेलामा ६ बुँदे प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
जसअन्तर्गत औषधीको अभाव हुन नदिने, स्वास्थयकर्मीहरुको व्यवहार सुधार गर्न तत्काल आचारसंहिता बनाई लागु गर्ने, अवैध रुपमा बिक्रि वितरण भइरहेको औषधीका बारेमा तत्काल अनुगमन गरी नियमन गर्ने, स्वयंसेविका र गर्भवती महिलाहरुका लागि परिचय बनाई उपलब्ध गराउने, स्वयंसेविकाहरुलाई साईकल उपलब्ध गराउने र स्वास्थ्यचौकीमा भएको झुल गर्भवती महिलाहरुलाई उपलबध गराउने रहेका छन् । उक्त कार्यक्रममा ५० बढिको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्