योजना अनुगमनमा कडाइ,ठेकेदार र उपभोक्ता समिति सचेत बन्दै



कविन्द्र परियार : कोहलपुर,११ जेठ/  कोहलपुर नगरपालिकाले योजनाहरुलाई प्रभावकारी र कडाइका साथ अनुगमन गर्न थालेपछि कोहलपुर नगरपालिका भित्र सञ्चालित योजनाहरुका ठेकेदार तथा उपभोक्ता समितिहरु सचेत बन्न थालेका छन् ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालनमा रहेका र सम्पन्न हुने अवस्थाका योजना भएका योजनाहरुको अनुगमनलाई कडाइका साथ अनुगमनलाई जोड दिइएको छ । चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकामा ४ सय १३ वटा विभिन्न प्रकारका विकासे योजना सञ्चालनमा रहेका छन् । ति योजनाहरु मध्ये कतिपय गुणस्तरिय नभएको समेत पाइएको छ ।

आर्थिक वर्ष सकिन करिव १ महिनामात्र बाँकी रहँदा कोहलपुर नगरपालिका भित्र हुँदै गरेका र भई सकेका योजनाको गुणस्तर तथा कामको मूल्याङकन गर्नको लागि कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सञ्जुकुमारी चौधरीले अनुगमनलाई तीव्रता दिएको
बताइन् । उपमेयर चौधरीले अनुगमनमा कडाई गरेपछि मापदण्ड विपरिताका योजना पुनः मापदण्ड अनुसार निर्माण गर्ने कार्यलाई जोड दिइएको पाईएको छ ।

अनुगमनको क्रममा कोहलपुर वडा नं. १२ स्थित डुडुवादेखि रोहिणी खोलासम्मको नालाको पर्खालमा सिमेन्ट विनाको बालुवाले मात्र ईट्टा जोडेको पाइएपछि उपमेयरले नाला निर्माण कार्य मापदण्ड अनुसार नभएको र मापदण्ड अनुसारको बनाउन निर्देशन दिएपछि ठेकेदारले निर्माण गरिएको नालाको पर्खाल भत्काइ पुनः नालाको पखाई लगाएको पाइएको छ ।

कोहलपुर नगरपालिकाको ६० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको १ सय ३१ मिटरको नालाको पर्खाल बलियो नभएको अनुगमनका क्रममा भेटिएको र तत्काल सोहि ठाउँमा लगाईएको पखाल भत्काएर नयाँ र बलियो पर्खाल लगाइएको पाइएको छ । कतिपय स्थानहरुमा उपभोक्ता मार्फत गरिएका कामहरुसमेत मापदण्ड विपरित भएका कारण ति योजनाहरु पुनः निमार्ण गरेपछि मात्र भुत्तानी पाउने भएपछि काम गुणस्तिरीय हुन थालेको उपमेयर चौधरीले बताइन् ।

कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काका अनुसार नालाको पखालको केहि–केहि भागमा बालुवाले ईट्टा जडान गरिएको अनुगमन टोलिले फेला परेपछि हामीले निर्माण व्यवसायीलाई तत्काल नालाको पखाल भत्काई नयाँ पखाल लगाउन जोड दिएको बताएका छन् । अनुगमन टोलिकी संयोजक चौधरीले निर्देशनलाई आत्मा साथ गर्दै ठेकेदारले नालाको पर्खाल पुनः लगाएको र मापदण्ड अनुसार नै बनाउने कामलाई जोड दिइएको बताएकी छन् ।

साथै उनले नालाको उचाई २ मिटर र चौडाई २ मिटर भएकाले नालाको पर्खाल बलियो हुनुपर्ने भन्दै समयमा अनुगमन गर्दा विकासका कामहरु दिर्घकालिन र जनमैत्री हुने बताइन् । त्यस्तै वडा नं. १२ र १३ हुदै निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको पक्की सडकको अनुगमनका क्रममा सन्तोष जनक काम नभएको पाइएपछि अनुगमन टोलिले सडकलाई पुनः निर्माण गर्नुपर्ने भन्दै निर्माण व्यवसायलाई दवाव दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडक पक्कि भएपनि काम सन्तोषजनक नभएको अनुगमन टोलिले जनाएपछि ठेकेदारले पुनः पिच गर्ने समहति भएको वडा नं. १२ का वडा अध्यक्ष कृष्ण बहादुर खड्काले बताएकाछन् ।

कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सञ्जुकुमारी चौधरी नेतृत्वको अनुगमन टोलिले सडक राम्रोसँग पिच नभएकाले तत्काल निर्देशन पुनः एकपटक पिच गर्न निर्देशन दिएको र निर्देशन बमोजिम पुनः एक पटक पिच गरेर मात्र भुक्तानी पाउन सकिने अनगुमन टोलिका एक सदस्यले बताएका छन् । उक्त सडक पिच भए पनि एकाएक पिच उप्कन थालेपछि स्थानीयले विरोध जनाएका छन् ।

सडक पक्कि जस्तो नभएकाले भुक्तानी दिनका लागि कोहलपुर नगर कार्य समितिको बोर्डले निर्णय गर्नुपर्ने कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारुले बताईन् । हाल वडा नं. १२ मा ४० प्रतिशत काम सकिसकेको वडा कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ११ गते शुक्रबार